बौरिँदै पाल्पाको ढाका उद्योग

पाल्पा । नेपालको कपडा उद्योगको पहिचान बन्दै आएको पाल्पाली ढाका कपडाले पछिल्ला वर्षहरूमा पुनः एक पटक आफ्नो मौलिकतालाई जोगाउँदै नयाँ गति लिएको छ । तानको तान र बुनेको लयमा गुञ्जिने पाल्पाको ढाका अहिले फेरि उठ्ने तरखरमा छ । यहाँका व्यवसायीहरूका अनुसार पाल्पाली ढाकाको औपचारिक व्यावसायिक यात्रा वि.सं २०१५ मा गणेशमान महर्जनले भारतबाट सीप सिकेर पाल्पामा व्यवसाय सुरु गरेसँगै आरम्भ भएको हो ।

प्रारम्भमा पाल्पा कारागारका थुनुवालाई तालिम दिई कपडा बुनेर बजार पठाउने प्रणालीमार्फत यो व्यवसाय सुरु गरिएको थियो । उनकी धर्मपत्नी पूर्णमाया महर्जनले श्रीमानको मार्ग पछ्याउँदै महिलालाई आत्मनिर्भर बनाउने ढंगले ढाका उद्योग विस्तार गरेर धेरै महिलालाई ढाका बुन्ने तालिम दिएकी हुन् ।

नेपालीको शीरको सानको रूपमा ढाका टोपी लिइन्छ । ढाका कपडा उद्योगकी संस्थापक ८७ वर्षीय पूर्णमाया महर्जनका अनुसार ढाका टोपी लगाउने प्रचलन पञ्चायतकालमा अझ बढी थियो । अहिले त पाल्पाली ढाका उत्पादनमा नयाँ पुस्ताको चासो बढेको छ । ढाकाबाट उत्पादित टोपी, पछ्यौरा, रुमाल, पर्स, स्टकोट, झोला, टाईलगायत विविधीकरण गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अहिले १ हजार जतिले मात्र रोजगारी पाएका छन् । पाल्पामा १५ ढाका उद्योग छन्, जसमा ५०० कामदारले रोजगार पाएका छन् । घरघरमै ढाका बुनेर २०० बढी महिलाले राम्रो आम्दानी गर्छन् । पाल्पाली ढाकाको वार्षिक कम्तीमा १० करोडको व्यापार हुने पाल्पाली ढाका संघले जनाएको छ ।

‘पाल्पाली’ ढाकाको नामको दुरूपयोग बढ्दो चुनौती

वास्तविक तानसेनी ढाका हातबाट बुनेर उत्पादन गरिन्छ, तर पछिल्ला वर्षहरूमा भारत, चीनबाट आयात गरिएका मेसिन–निर्मित कपडालाई ‘पाल्पाली ढाका’ भनेर बेच्न थालिएपछि पाल्पाका परम्परागत उद्योगीहरू सँगै उपभोक्तासमेत गम्भीर मारमा परेका छन् ।

यस प्रवृत्तिले उपभोक्तालाई ठगिन बाध्य तुल्याएको छ । स्थानीय व्यवसायीको अस्तित्वमा समेत संकट खडा भएको छ । धेरै उद्योग बन्द भए, व्यवसायी हतोत्साही भए र हस्तकला संस्कृति नै लोप हुने चिन्ता बढ्यो । अहिले स्थानीय उत्पादनको प्रोत्साहन हुन थालेपछि यहाँका उद्योगहरू बौरिन थालेका हुन् ।

उद्योगी मोहनराज पौडेलका अनुसार उपभोक्ताले सस्तो खोज्ने भएकाले पनि केही व्यवसायीले कपडाबाट बनेको ढाका प्रयोगमा ल्याएको बताउँछन् ।

ब्रान्डिङको यात्राः ‘शुद्ध पाल्पाली’को प्रमाण

यी समस्यासँग जुध्दै पाल्पाली ढाकालाई पुनःस्थापित गर्न नेपाली ढाका समृद्धिको लागि साझेदारी जस्ता महत्वपूर्ण कार्यक्रमहरू भए । लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघले संयुक्त रूपमा ब्रान्डिङ योजना अघि बढाएको थियो । अब ढाका कपडामा ‘ब्रान्ड’ हुनेछ, जसले यसको मौलिकता, उत्पादन विधि र गुणस्तर प्रमाणित गर्नेछ ।

पौडेल ढाका उद्योग पाल्पाका सञ्चालक मनोज पौडेलका अनुसार अहिले यहाँ पहिले बन्द भएका उद्योगहरू पनि व्यवस्थित रूपमा सञ्चालन हुन थालेका छन् । अहिले यहाँका उद्योगहरू ब्रान्डिङ भएर अगाडि बढेका छन् । ब्रान्डिङका लागि उद्योगको अवस्था, कामदारको तलब, सुरक्षा उपकरण, बाल श्रमको प्रयोग नगर्ने जस्ता मापदण्ड तोकिएको छ ।

उद्योगीका अनुसार पाल्पासँगै काठमाडौं, पोखरा, बुटवललगायत विभिन्न स्थानमा यहाँबाट उत्पादित वस्तुहरू बिक्रीका लागि राखिएका छन् । अहिले पाल्पाली ढाका अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ ।

फेरि जुर्मुराउँदै उद्योग र उद्योगी

ढाकाको ब्रान्डिङको तयारीसँगै पाल्पाका उद्योगहरू विस्तारै फेरि सञ्चालनमा आउन थालेका छन् । पौडेल ढाकाका सञ्चालकका अनुसार पहिले पहिले बन्द अवस्थामा रहेका केहीका उद्योगलाई पुनः सञ्चालन गरिएको छ । हाल पाल्पामा १५ वटा उद्योग सक्रिय भएका छन् । केही नयाँ उद्योग स्थापनाको तयारीमा छन् । अर्को एउटा उद्योग दर्ता प्रक्रियामा छ ।

ढाका उद्योगमा करिब सबै कामदार स्वदेशी नै छन् । त्यसमाथि अधिकांश महिलाहरूले नै यसमा काम गरिरहेका छन् । ढाका उद्योग संघले विभिन्न चरणमा यसका काम गर्ने महिलालाई बुनाई तालिम दिइसकेको छ । सिलाईकटाई र प्राविधिक तालिमसमेत सञ्चालनमा छन् ।

ढाकाले महिलाको जीवनशैलीमा मात्र होइन, सोचमा समेत परिवर्तन ल्याएको छ । ढाकाबाट साडी, कुर्ता, टोपी, झोला, पछ्यौरा, पर्सलगायत ९० प्रकारका सामग्री उत्पादन भइरहेका छन् ।

बजारको पहुँचः प्रदेशदेखि विदेशसम्म

ढाका संघका अनुसार काठमाडौंमा ४, पोखरामा एउटा सप्लायर्समार्फत बिक्री सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । युरोपका विभिन्न देशमा समेत ढाका निर्यात भइरहेको छ ।

तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा ‘पाल्पाली कोसेली घर’ सञ्चालनमा आएको छ, जसले प्रदेशस्तरमै कोसेली बजार विस्तार गरेको छ ।

ब्रान्डिङको प्रक्रिया पूरा भएपछि उपभोक्ता ठगिने खतरा हट्नेछ । ग्राहकले असली पाल्पाली ढाका चिन्नेछन् । ढाकाको संरक्षण केवल आर्थिक हैन, सांस्कृतिक मूल्यको संरक्षण पनि हो ।

स्थानीय पत्रकार माधव अर्यालका अनुसार अहिले धेरै उद्योग ब्रान्डिङ गरेर संस्थागत रूपमा अघि बढेका छन् । ‘अहिले धेरै संस्थागत रूपमा काम गर्ने अवस्थामा छन्, बाहिरको मेसिनबाट बनाइएको कपडाले बजार बिगारेको हो, तर अब ब्रान्डिङले उद्योगी र उपभोक्तालाई न्याय दिनेछ’, उनले भने ।

पछिल्लो समय पाल्पाली ढाकाको महत्व बढेको भन्दै उनले तीनै तहका सरकारले यसलाई योजना बनाएर अघि बढाउनुपर्ने सुझाए ।

उनका अनुसार पाल्पाको ढाका अब केवल कपडा होइन, पहिचान र महिलाको स्वरोजगारसँगै प्रदेशको गौरव बनेको छ । ‘अब ब्रान्डिङसँगै यो विश्व बजारमा नेपाली मौलिकताको एउटा पहिचान बन्दैछ’, पत्रकार अर्यालले थपे ।

शीरको सानः पाल्पाली ढाका

झापाबाट तानसेन आएका चेतन अधिकारीले ढाका कपडाको शो रुममा टोपी, कोट र श्रीमतीलाई कुर्तासुरुवाल किने । काम विशेषले आएका उनले पाल्पाली ढाकाको महत्व र चर्चा सुनेको, काठमाडौंमा पनि केही पसलमा खोजेको, तर उद्योगमै आएर रोजेर किन्दा आनन्द लागेको उनले बताए ।

‘हाम्रातिर पनि ढाका उत्पादन हुन्छ, तर पाल्पाली ढाकाको प्रयोग गर्न मनपर्छ’, उनले भने, ‘काठमाडौंमा पनि यहाँका उद्योगले केही पसल राखेका छन् । कहिलेकाहीँ त्यहाँ पुगेर पनि किन्ने गरेको छु ।’

पाल्पा आउने जो-कोही पाल्पाको कोसेली ढाका र यसबाट निर्मित सामग्री खरिद गर्छन् । बाँके कोहलपुरका निर्मल आचार्यले पनि पाल्पाको ढाकाको चर्चा सुनेर यहाँ आएको बेला उद्योगमै पुगेर यसको उत्पादनको प्रक्रिया, महिलाहरूको सक्रियतालाई चासोका साथ हेरेको बताए ।

२०१५ सालमा सुरु भएको ढाका कपडा र यसको विविधीकरणले देश र विदेशमा ख्याति कमाएको छ । भ्रमणमा आउने हुन् वा व्यक्तिगत भेटघाटमा आउनेले फर्किंदा उपहारका रूपमा ढाका र यसका विविध सामग्री खरिद गरेर लग्ने प्रचलन बढेको ढाका उद्यमी मनोजराज शर्मा पौड्याल बताउँछन् ।

उनका अनुसार पहिले ढाकाको व्यापार गर्न दशैंतिहार पर्खिनुपर्ने भए पनि पछिल्लो समय ढाकाको व्यापार जुनसुकै सिजनमा पनि हुन थालेपछि उद्योगीहरू उत्साहित छन् ।

‘पाल्पामा पाइने ढाका सबै पाल्पाको छैन । केही पाल्पा बाहिरबाट पनि आएको छ व्यवसायिक रूपमा । यहाँको उत्पादन सस्तो पर्दैन । बाहिरबाट आएको केही सस्तो हुन्छ । त्यो कपडाको हो’, उनले भने, ‘मैले २०४४ सालमा पौडेल ढाका उद्योग सञ्चालन गरेको हो । काठमाडौंमा पनि पसल छ । पोखरा र बुटवलमा व्यवसायिक साझेदारी छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *