राजनीतिक दाउपेचको चौकामा देशले किन गुमाउने पहिलो महिला गभर्नरको मौका ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारी बाहिरिएको एक महिना बितिसक्यो । अधिकारी गभर्नरबाट बिदा भएयता राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा छ । कामु गभर्नरको भरमा राष्ट्र बैंकको कामकाज भइरहेको छ ।

सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकिरहेको छैन । सरकारमा रहेका प्रमुख दलका नेताहरू आफू अनुकूलका व्यक्तिको खोजीमा लागेका छन् । उनीहरू एकपछि अर्को व्यक्ति छान्दै चर्चामा ल्याउँदै, मिल्काउँदै गरिरहेका छन् ।

राजनीतिक भागबन्डा लगाउँदै एकपछि अर्को व्यक्तिलाई गभर्नर बनाउन लागिएको चर्चा चलिरहेको छ । नयाँ गभर्नर नियुक्ति पेचिलो बन्दै गर्दा योग्य र अनुभवी व्यक्ति गभर्नर बन्नुपर्ने आवाज उठिरहेको छ ।

अठारौं गभर्नर बन्न दर्जनौं आकांक्षी देखिए । कतिपय गभर्नर बन्ने दौडबाट ‘रिङ आउट’ भए भने कतिपय विवादमा फसे र कति अहिले पनि अडिग छन् । शुरुदेखि गभर्नर बन्ने चर्चा भएर हालसम्म पनि कायमै रहेको नाम हो– डा. नीलम ढुङ्गाना ।

नीलमकै कारण गभर्नर नियुक्ति प्रक्रिया पेचिलो बनेको आरोप पनि छ । उनले राष्ट्र बैंकका निर्देशक गुणाखर भट्टको राजीनामा स्वीकृत नगरेका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको शेरबहादुर देउवाले खुलाइसकेका छन् । किनकि कांग्रेसले भट्टलाई गभर्नरमा अघि सारेको थियो ।

ढुंगानाले भने निमित्तलाई राजीनामा स्वीकृत गर्ने अधिकार नरहेको भन्दै भट्टको राजीनामा स्वीकृत नगर्ने घोषणा गरिसकेकी छन् । त्यही कारण कांग्रेस अर्को विकल्पमा गएको छ । नीलमले भट्टलाई रोक्न त सकिन्, तर आफैं गभर्नर बन्न भने उनी किन सक्दिनन् ? यो प्रश्न उठेको छ ।

नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर पनि हुन् ढुङ्गाना । पहिलो महिला डेपुटी गभर्नर बनेर इतिहास रचेकी ढुङ्गाना १८औँ गभर्नरको भने स्वतः दाबेदार हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ ।

ऐनमा भनिएको छ– ‘गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।’

राष्ट्र बैंकमा डेपुटी गभर्नर दोस्रो वरीयतामा रहेको महत्त्वपूर्ण पद हो । जसले बेलाबेला कामु गभर्नरको जिम्मेवारी समेत सम्हाल्नुपर्छ । सोहीअनुसार ढुङ्गानाले बेलाबेला कामु गभर्नरको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन् । अहिले राष्ट्र बैंकको गभर्नर पद रिक्त हुँदा उनले कामुको जिम्मेवारी सम्हालिरहेकी छन् ।

ऐनमा व्यवस्था भएअनुसार ढुङ्गाना गभर्नरको लागि सिफारिस हुन योग्य भए पनि उनले गभर्नरको कुर्सी भने पाउने सम्भावना नदेखिएको चर्चा छ । उनलाई योग्यता, क्षमताले भन्दा पनि राजनीतिक भागबन्डाका कारण मिल्काइने सम्भावना देखिएको छ । उनीपछिको वरीयतामा बमबहादुर मिश्र छन्, उनले गभर्नरको दौड नै छाडिसकेका छन् ।

गभर्नर पद नेपाली कांगेसको भागमा परेको सत्ता गठबन्धनका नेता शेरबहादुर देउवाले सार्वजनिक रूपमै भनिसकेका छन् । कांग्रेसको सूचीमा ढुंगाना छैनन् । त्यसैले उनको सम्भावना उसै पनि छैन । उनीप्रति सफ्ट कर्नर एमालेको रहेको मानिन्छ । त्यसमाथि गभर्नर चलाउने ढुंगानाको योग्यता भए पनि क्षमता र संस्थाभित्रको स्वीकार्यता नरहेको आरोप पनि छ ।

यसरी राजनीतिक भागबन्डा लगाएर राष्ट्र बैंकको गभर्नरको पद दिनु गलत रहेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको ठहर छ । उनी भन्छन्, ‘राष्ट्र बैंक जस्तो संवेदनशील ठाउँमा राजनीतिक दाउपेच हुनु दुःखद हो । गभर्नर जस्तो पदका लागि राजनीति भागबन्डा हुनुहुँदैन । भागबन्डाको आधारमा गभर्नर बनाइन्छ भने त्यो गलत हो ।’

योग्यताका आधारमा गभर्नर बनाउनुपर्ने उनको माग रहेको छ । भागबन्डाको आधारमा गभर्नर बनेकाहरूले काम गर्न नसक्ने पूर्वगभर्नर क्षेत्रीको भनाइ छ ।

‘देशको अर्थतन्त्र राम्रोसँग जानेको हुनुपर्छ । मौद्रिक नीतिमा विशेष चाख र दख्खल भएको हुनुप¥यो । प्रशासकीय अनुभव हुनुप¥यो । आर्थिक, मौद्रिक, वित्तीय तथा वाणिज्य क्षेत्रको अनुभव नभएकाहरू गभर्नर बन्न हुँदैन’, क्षेत्रले भने ।

किन राखियो नीलमलाई एमालेको कोटामा ?

हुन त नीलम आफैं राजनीतिक रूपमा कतै खुलेकी छैनन् । अहिले गभर्नरको लागि कांग्रेसले अघि सारेका डा. विश्व पौडेल जसरी पार्टीबाट चुनाव लडेको जस्तो पनि होइनन् उनी । करिअरका क्रममा पनि उनको झुकाब कुनै पार्टीमा नदेखिएको कर्मचारीहरू बताउँछन् ।

तर एमालेका केही शीर्ष नेतामार्फत गभर्नर बन्न लबिङ गरिरहेको उनीमाथि आरोप छ । नीलम प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाकी हुन् । यसले गर्दा पनि उनी एमाले निकट रहेको अनुमान छ ।

ढुङ्गानालाई डेपुटी गभर्नरमा नियुक्ति दिँदा प्रधानमन्त्री केपी शर्मा ओली नै थिए । त्यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा महिलाहरूलाई नेतृत्व गर्ने अवसर प्रदान गरेकाले भावी गभर्नर महिला बनाउनुपर्छ भन्ने सन्देश दिन खोजे ।

ओलीले यही प्रधानमन्त्री कालमै निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवमा लीलादेवी गड्तौला बनाएर इतिहास रच्ने मौका दिएका थिए । जबकि गभर्नरको आकाङ्क्षीहरूको लिस्टमा ढुंगाना एक्ली महिला छन् र उनको सम्मुखमा पहिलो महिला गभर्नर बन्ने मौका पनि थियो ।

गभर्नर नियुक्तिको मुखैमा प्रधानमन्त्री ओलीले भनेका थिए– ‘हामीले राष्ट्रपति महिला बनायौँ । प्रधानन्यायाधीश महिला बनायौँ । कतिपय देशले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । महिला सभामुख बनायौँ । महिला रक्षामन्त्री बनायौँ । इट्स नट अ जोक ! भर्खरै सुरु भएको संघीय प्रणालीमा मुख्यमन्त्री महिला बनाइसक्यौँ । ब्युरोक्रेसीको टपमा अर्थात् मुख्यसचिव महिला बनायौँ । संयोगवस भनौँ वा प्रयासस्वरूप भनौँ, यी सबै बनाउँदा मै पर्दो रहेछु प्रधानमन्त्री ।’

ओलीले त्यतिबेला पनि आफू महिलाको हितका लागि सधैँ सक्रिय रहेको दाबी गर्दै पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख आफ्नै कार्यकालमा नियुक्त भएको बताएका थिए । त्यसअघि प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बनाउँछु भनेर अभिव्यक्ति दिएका थिए ।

उक्त विषय सेलाउन नपाउँदै गभर्नरका लागि नीलमले आकांक्षा देखाइरहेका बेला प्रधानमन्त्री ओलीको यो भनाइ अर्थपूर्ण रूपमा हेरियो । प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिपछि ढुङ्गानालाई गभर्नर बनाउन ओली लागिरहेको विभिन्न चर्चा हुन थालेको छ ।

नेपाली कांग्रेससँग गठबन्धन गरेर बनेको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहिलो महिला गभर्नर बनाउन रुचाएको सन्देश बाहिरियो, तर देउवाले भने गभर्नर पद कांग्रेसको पोल्टामा परेको अभिव्यक्ति दिए र राजनीतिक दाउपेचको चौकामा देशले पहिलो महिला गभर्नरको मौका गुमाउने सम्भावनाको सन्देश फैलाए ।

भागबन्डाले ‘रिङ आउट’ नीलम

नेपालमा पहिलो महिला राष्ट्रपतिदेखि मुख्यसचिवसम्म महिला बनिसकेका छन्, तर प्रधानमन्त्री र गभर्नर पदमा भने महिलाहरूले नेतृत्व गर्ने अवसर पाएका छैनन् । यस पटक गभर्नरको दाबेदारमा एक्ली महिला नीलम छिन् । योग्यताका हिसाबले पुरुषसरह काबिल नीलमलाई ‘रिङ आउट’ गरेर पहिलो महिला गभर्नर बनाउन सरकारले चासो नदेखाएको महिला अधिकारको क्षेत्रमा कार्यरत अभियन्ताहरूको आरोप छ ।

त्यसो त एमाले नेतृ विन्दा पाण्डेले ‘लक्ष्मीमा सरस्वतीको हस्ताक्षर नचल्ने भएरै शहरमा असरल्ल यो मजाक ?’ भनेर गभर्नर नियुक्तिमा भएको चलखेल र नीलमलाई रिङ आउट गर्न खोजिएकोमा व्यंग्य गरेकी छन् ।

योग्यताको हिसाबले भने नीलम गभर्नरका लागि योग्य रहेको राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरि घिमिरे बताउँछन् । ऐनबमोजिम पनि एक जना डेपुटी गभर्नर सिफारिस हुने भएकाले नीलम त्यसको योग्य रहेको उनले बताए ।

घिमिरेले भने– ‘निलम म्याडममा गभर्नर बन्ने योग्यता र चलाउने क्षमता भए पनि गभर्नर राजनीतिक नियुक्तिको पद भएकाले हामीले केही बोल्न मिल्दैन, तर उहाँ पहिलो महिला गभर्नर बन्न नमिल्ने चाहिँ छैन । अरु कुरा त सरकार र राजनीतिक नेतृत्वले निर्णय गर्ने हो ।’

को हुन् नीलम ?

नेपाल राष्ट्र बैंकको ६५ वर्षको इतिहासमा पहिलो पटक महिला डेपुटी गभर्नर बनेकी थिइन्, नीलम । उनी २०५४ सालमा सहायक निर्देशकका रूपमा राष्ट्र बैंकमा प्रवेश गरेकी थिइन् । २०६० मा उपनिर्देशक, २०६६ मा निर्देशक हुँदै २०७४ सालमा कार्यकारी निर्देशकमा उनको पदोन्नति भएको थियो ।

यस अवधिमा उनले राष्ट्र बैंकको विराटनगर कार्यालय, पोखरा कार्यालय, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखापरीक्षण विभाग र राष्ट्र बैंक ऋण व्यवस्थापन विभागमा विभिन्ने जिम्मेवारी सम्हालिसकेकी छन् ।

नीलमले त्रिभुवन विश्वविद्यालय र अस्ट्रेलियास्थित बोलोनगङ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् । यससँगै उनले भारतको मेवार विश्वविद्यालय राजस्थानबाट विद्यावारिधिको उपाधिसमेत हासिल गरेकी छन् ।

नियामक निकायमा राष्ट्र बैंकमै उनले काम गरेको करिब तीन दशक पुग्न लागेको छ । देशको अर्थतन्त्र, बैंक तथा वित्तीय संस्थाको अवस्था र चुनौतीबारे उनीसँग अनुभव छ, तर अहिले उनले गभर्नरका लागि आकांक्षा देखाइरहँदा उनको क्षमतामै प्रश्न उठाइएको छ । अहिले कामु गभर्नरको जिम्मेवारी सम्हालिरहेकी डेपुटी गभर्नर नीलमलाई महिला भएकै कारण ‘बोल्ड डिसिजन’ गर्न सक्दिनन् भन्ने आशंका गर्दै आलोचना गर्ने गरिएको छ ।

महिलाहरू नेतृत्व तहमा पुग्ने बेलामा क्षमतामाथि प्रश्न उठ्ने गरे पनि थुप्रै महिलाले राज्यको महत्वपूर्ण पदको जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरू जिम्मेवार तहमा पुगेर कार्यसम्पादन गर्न सफल भएका हामीसामु थुप्रै उदाहरण छन् ।

हेरौँ, केही उहाहरणः

नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण अंग मानिने बैंकिङ क्षेत्रमा पनि महिलाहरूले पहिलो पटक नेतृत्व सम्हालेका उदाहरणहरू छन् । शिवादेवी काफ्लेले राष्ट्रिय वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हालिसकेकी छन् । तत्कालीन मेगा बैंक नेपालमा पनि महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा अनुपमा खुँजेलीले जिम्मेवारी सम्हालेकी थिइन् ।

नीलम केन्द्रीय बैंकमा पहिलो महिला डेपुटी गभर्नर भएर इतिहास रचिसकेकी छन् । फेरि उनी पहिलो महिला गभर्नर बनेर अर्को इतिहास रच्ने सम्भावना जीवितै छ ।

नेपालले २०५५ सालमा पहिलो पटक महिला उपप्रधानमन्त्री पायो । शैलेजा आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री बनेकी थिइन् । द्वारिकादेवी ठकुरानी नेपालको पहिलो निर्वाचित महिला सांसद तथा पहिलो मन्त्री भएकी थिइन् । त्यसअघि २०४४ सालमा विन्देश्वरी शाह नेपालको पहिलो महिला राजदूत बनेकी थिइन् ।

नेपालमा पहिलो पटक विद्या भण्डारी महिला राष्ट्रपति बनिन् । २०७२ सालमा उनलाई नेपालले पहिलो महिला राष्ट्रपतिको रूपमा पायो । २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो महिला राष्ट्रपति बनेकी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालमा निर्वाचित भएकी थिइन् ।

२०७२ सालमै महिला सहभागिताले अर्को इतिहास रच्यो । संसदीय इतिहासमा पहिलो महिला सभामुख बनिन् ओनसरी घर्ती । उनले २०७२ असोज २९ देखि २०७४ असोज २९ सम्म सभामुखको भूमिका निर्वाह गरेकी थिइन् ।

त्यसअघि २०५५ सालमा लीला श्रेष्ठ सुब्बा नेपालको पहिलो महिला उपसभामुख बनेकी थिइन् । पछिल्लो पटक नन्दा गुरुङ पहिलो महिला प्रदेश सभामुख बनिन् । उनी २०७९ माघ १ मा कर्णाली प्रदेशको सभामुखमा निर्वाचित भएकी थिइन् ।

२०७३ सालमा सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीश बनिन् । सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्कीले २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधीशको भूमिका निर्वाह गरेकी थिइन् ।

नेपालले पहिलो महिला मुख्यसचिवका रूपमा लीलादेवी गड्तौला पायो । वरिष्ठ सचिव रहेको बेला गड्तौला निमित्त, कायममुकायम हुँदै २०८१ साउन १० गते मुख्यसचिव बनेकी थिइन् । त्यसअघि नेपालको निजामती कर्मचारीको इतिहासमा २०४१ सालमा चन्द्रकला किरण पहिलो महिला सचिव भएकी थिइन् ।

पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बनेकी थिइन् । २०७८ भदौ २ मा पहिलो महिला मुख्यमन्त्रीको रूपमा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । उनले २०७८ कात्तिक ११ सम्म मुख्यमन्त्रीको कार्यकाल सम्हालेकी थिइन् ।

त्यसो त अनुराधा कोइराला पनि नेपालकै पहिलो महिला प्रदेश प्रमुख बनेकी थिइन् । उनले २०७४ माघ ३ देखि २०७६ कार्तिक १७ सम्म बागमती प्रदेशको प्रदेश प्रमुखका रूपमा जिम्मेवारी निभाएकी थिइन् ।

दूरसञ्चार कम्पनी नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक बन्ने पहिलो महिला संगीता पहाडी भइन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदबाट सेवा प्रवेश गरेकी थिइन् । अहिले उनले टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेकी छन् ।

नेपाल प्रहरीमा डा. दुर्गा थापा (पुन) पहिलो महिला एआईजी हुन् । उनी २०७५ सालमा नेपाल प्रहरी क्षेत्रमा पहिलो पटक महिला एआईजी बनेकी हुन् । उनी दन्त चिकित्सकका रूपमा २०४६ सालमा प्रहरी संगठनमा प्रवेश गरेकी थिइन् ।

निजी क्षेत्रकै सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष भवानी राणा भइन् । राणाले २०७३ चेत ३० बाट २०७७ मंसिर १५ सम्म अध्यक्षको भूमिका निर्वाह गरिन् । त्यस्तै २०७६ सालमा होटल एसोसियसन अफ नेपाल (हान)को पहिलो महिला अध्यक्ष सिर्जना राणा बनेकी थिइन् ।

अहिले पनि विभिन्न तहमा महिलाहरूले नेतृत्व सम्हालिरहेका छन् । राष्ट्रिय सहकारी महासंघको पहिलो महिला अध्यक्ष बनेकी ओमदेवी मल्लले कार्यकाल हाँकिरहेकी छन् । नेपाल पत्रकार महासंघको पहिलो महिला अध्यक्ष बनेकी निर्मला शर्माले कार्यकाल सम्हालिरहेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *