रवीन्द्र मिश्रले इजलाससमक्ष भने- देशको न्याय प्रशासन देखेर ट्वाँ परेको छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको न्याय प्रशासनप्रति नै दिक्दारी प्रकट गरेका छन् । आफूलाई बिना आधार पटक–पटक म्याद थप गरिएकोप्रति उनले आज इजलासमै असन्तुष्टि जनाए ।

मिश्रलाई आज छैटौंपटक म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो । न्यायाधीश महेन्द्रबहादुर कार्कीसँग समय लिएर उनले आफ्नो भनाइ राखे ।

मिश्रले भने, ‘चलनचल्तिको भाषामा भन्ने हो भने म न्याय प्रशासनको कार्यशैली देखेर ट्वाँ परेको छु ।’
आफूले गरेको अपराध के हो र कुन प्रमाण नस्ट गर्न सक्ने भनेर नछोडिएको हो भन्ने बुझ्न नसकिएको उनले गुनासो गरे ।

मिश्रले थपे, ‘यहाँले बुझ्नु भए पनि हुन्छ, म हिरासतमा रहँदा पनि मैले कानूनको दृढ पालना गरेको छु र कानूनी प्रक्रियालाई सदैव सहयोग नै गर्नेछु । तर आज मलाई अन्याय भएको महसुस भइरहेको छ ।’

उनले चैत १५ को घटनामा आफूलाई जस्तै मुद्दा लागेको भगवती रोक्कालाई छोडिएको तर सबै कानूनी प्रक्रिया पूरा हुँदा आफूलाई पटक पटक म्याद थपिनुको आशय बुझ्न नसकेको बताए । उनले सरकारी वकिललाई सबै घटनालाई एउटै बास्केटमा हालेर नहेर्न पनि अनुरोध गरे ।

यसअघि १० गते भएको आदेश प्रहरी र अदालतबाटै पालना नभएको गुनासो पनि मिश्रले गरेका थिए । ‘वैशाख १० गतेको आदेश बमोजिम सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी छोड्नु भन्ने आदेश पालना भएन, झनै गोलमटोल भयो’, उनले भने ।

१० गतेको आदेशमा न्यायाधीसले मिश्रको हकमा प्रहरीले के के प्रमाण जुटाउन बाँकी छ भनेर पेश गर्ने आदेश दिएका थिए । यदि त्यस्तो विवरण पेश गर्न नसकेको खण्डमा मिश्रलाई छोड्न सकिने संकेत आदेशमा गरिएको थियो । तर, प्रहरीले केही पनि पेश नगरीकन १४ गते एक हप्ता म्याद थपेको मिश्रका वकिलको आरोप छ ।

आज पनि अदालतले मिश्रमाथि के के अनुसन्धान बाँकी छ भन्ने विवरणबिनै म्याद थप गरिदिएको छ ।

Comments

2 responses to “रवीन्द्र मिश्रले इजलाससमक्ष भने- देशको न्याय प्रशासन देखेर ट्वाँ परेको छु”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    नेपालको कानून दैवले नजानुन्।

  2. BHOJRAJ BARAL Avatar
    BHOJRAJ BARAL

    न्याय मरेको देश, प्रधानमन्त्री का इशारा मा न्यायपालिका, व्यवस्थापिका चले पछि त्यस्तो देशमा युवा किन सुरक्षित महसुस गर्छन् र बस्छन्, अठार वर्ष कटे पछि विदेश पलायन भैहाल्छन् नि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *