रूपन्देही । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले एउटा एयरपोर्ट चलाउन नसक्ने प्रधानमन्त्रीले देश कसरी चलाउने भन्दै प्रश्न गरेका छन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ कि आउँदैन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।
शनिबार रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष साहले नेपालकै गौरवको रुपमा रहेको यो विमानस्थल सञ्चालन भएर पनि अहिले ठप्प भएको बताए ।
‘यो एयरपोर्ट नचलेका कारण व्यवसायीको पुँजी डुबिरहेको र विमानस्थललाई लक्षित गर्दै सञ्चालनमा आएका होटल र पर्यटन व्यवसाय धराशायी भएका छन्’, उनले भने, ‘म प्रधानमन्त्री र अहिलेको पर्यटनमन्त्रीलाई सोध्न चाहन्छु- तपाईंहरुले किन एयरपोर्ट चलाउनुभएन ?’
पूर्वमन्त्री साहले एयरपोर्ट नचलाउने भए मर्कामा परेका व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरे ।
‘व्यवसायी संकटमा छन्, पर्यटक आउँछन् भनेर पर्यटन, होटल व्यवसायीले लगानी गरे, तर अहिले त्यो लगानी धरापमा छ’, उनले भने, ‘म अर्थमन्त्रीलाई भन्न चाहन्छु- सरकारले व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्छ ।’
वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी नभएको उनले आरोप लगाए । प्रतिनिधिसभा सदस्य साहले अहिले देशमा लुटतन्त्र र दलतन्त्र रहेको दाबी गरे ।
अहिलेसम्म पुरानै नेताले शासन गरिरहेको भन्दै उनले जनादेशविपरीत एमाले-कांग्रेस मिलेर बनेको यो सरकार जनविरोधी र अप्राकृतिक भएको जिकिर गरे ।
अहिले मुलुकमा मनोमानी र अत्याचार बढेको उनको भनाइ छ ।

Leave a Reply