रोङ् (इलाम ) । इलाम र झापाको सिमाना जोर कलशबाट केहिबेर मेची राजमार्ग हुँदै पुगिन्छ सुन्दर बजार हर्कटे । छिनमै बादलुले छोप्ने र छिनमै टलक्क घाम लाग्ने हर्कटेले अर्को पनि विशेषता थपेको छ ।
मेची राजमार्ग भएर हिँड्नेहरू यहाँ रोकिएर खाना खान रुचाउँछन् । प्राकृतिक सुन्दरतासँगै यहाँ ‘भात खाने जक्सन’ आकर्षण बनेको छ । यहाँ पाक्ने खानाको स्वाद धेरैको जिब्रोमा झुण्डिएको छ ।
हर्कटेबाट कन्याम जाने बाटो छाडेर ३ किलोमिटर ओरालो झरेपछि जिलबुङ् गाउँ छ । इलामको रोङ गाउँपालिका- ३ मा पर्ने जिलबुङ्मा लोपोन्मुख आदिवासी लेप्चा (लाप्चा) हरूको बसोबास छ । यहाँ अहिले २५-३० को हाराहारीमा लेप्चा परिवार छन् ।

२०५८ सालमा भएको जनगणनाको तथ्यांकअनुसार लेप्चाको कूल जनसङ्ख्या ४ हजार थियो थियो । ६८ मा आउँदा ३ हजार ४४५ मा रहेको यो समुदाय २०७८ अनुसार २ हजार २४० मा झर्यो ।
लेप्चाहरू जिलबुङ्लाई आफ्नो उत्पत्तिको थलो मान्छन् । यही ठाउँबाट पुर्खाहरूले लिपी र भाषाको प्रसार गरेको उनीहरूको भनाइ छ ।
स्थानीय दावा लेप्चाका अनुसार जिलबुङ् लेप्चाहरूको पवित्र ठाउँ पनि हो । तर, हिजोआज जिलबुङ् ‘चिण्डेपानी’ बाट परिचित छ । सरकारी कागजमा चिण्डेपानी लेखिन थालेको छ ।
स्थानीय प्रेम छिरिङ लेप्चालाई जिलबुङ् नै प्यारो लाग्छ । ‘सरकारले भनेपछि र लेखेपछि त त्यही हुँदो रहेछ । नमिठो लागे पनि हामीले मान्नु पर्दो रहेछ । आफ्नो नाम र पहिचान यसरी नै हराउँदो रहेछ’, उनी भन्छन् ।

१७ फागुन २०७९ मा कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले आन्दोलन गरिरहेका छन् । तर, पहिचानको आन्दोलन जारी रहँदा पहिचानसँग जोडिएको नामहरू अहिले फेरिँदै छन् ।
बुद्ध लेप्चा भन्छन्, ‘पहिचानको आन्दोलन राजनीतिकमात्रै भयो, सांस्कृतिक पक्षतर्फ मोडिएन ।’
संस्कृति नासिएकोमा चिन्ता
राज्य पुनर्संरचना हुँदा साबिकको जिर्मले, इरौटार, कोल्बुङ र शान्तिपुर गाविस मिलाएर रोङ गाउँपालिका बनाइयो । लेप्चा भाषामा रोङको अर्थ लेप्चा जाति नै हो ।
रोङ सेजुम ठि ( लाप्चा उत्थान मञ्च ) का पालिका अध्यक्ष दावा लेप्चा भन्छन्, ‘सरकारले लेप्चाहरूको सम्मानका लागि पालिकाको नाम त राख्यो तर हाम्रा धेरै कुरा राज्यले नै खोस्यो ।’
लेप्चाहरूको आफ्नो भाषा र लिपी छ । तर, अहिले लेप्चा भाषा बोल्नेको संख्या नगण्य छ । ४० को दशकपछि लेप्चाभाषीहरू भने घट्न थालेको दावाले बताए । उनका अनुसार यसको कारण भने रोचक छ ।

४० को दशकमा जन्मिएका लेप्चाहरू विद्यालय जान थाले । त्यहाँ शिक्षकहरू नेपाली भाषी थिए । लेप्चाका छोराछोरीले नेपाली बुझेनन् ।
‘मास्टरहरूले पढाएकै नबुझेपछि कसरी सिक्छन् ? हाम्रा केटाकेटीले नबुझेपछि सरहरूले विद्यालयमा पढाउने हो भने अब घरमा लेप्चा भाषा नबोल्नू भन्दै भन्न थाले । अंग्रेजीमा बढाउने र स्कुल पढाउने नाममा भाषा नै सकियो । त्यसपछि लेप्चा भाषा नै मासियो ।
भाषासँगै लेप्चाहरूको धर्ममाथि पनि अतिक्रमण भएको छ । लेप्चाहरू प्रकृति पूजक हुन् । कञ्चनजंगा हिमालप्रति विशेष आस्थावान् छन् ।
किम्चोङजङ्बु च्यू अर्थात् (कञ्चनजंगा) हिमाललाई उनीहरू हरेक साल पूजा गर्छन् । मंसिरमा नयाँ अन्नबाली चढाउने चलन छ । च्यू रुम्फ्वात पर्वमा कञ्चनजंगा हिमाल देखिने डाँडोमा उक्लिएर सामूहिकरूपमा पूजा गर्छन् । बाली पाकेपछि पितृलाई पहिले चढाउँछन् ।
चैत महिनामा ल्याङ रुम्फ्वात (भूमि पूजा) गर्छन् । यो प्राय शनिबार गर्नुपर्ने धर्मप्रसाद लेप्चा बताउँछन् ।
‘बाली सप्रियोस्, रोग व्याध नलागोस्, गाईवस्तुलाई राम्रो होस् र सुब्बेफाब्बे होस् भनेर सामूहिकरूपमा भूमि पूजा गर्छौं । अहिले धेरै विधि पनि हराको छ’, धर्मप्रसाद भन्छन् ।
साउने झरीमा विघ्न बाधा नपरोस् भन्दै गरिने तेन्दोङ ल्हू रूम्फ्वात अहिले गर्न छाडिएको छ ।
लेप्चाहरूको सांस्कृतिक कर्म गर्न बुङ्थिङ् (लेप्चा पुरोहित) आवश्यक पर्छ । जनसंख्यासँगै भाषा बोल्ने नै घटिरहँदा परम्परा र संस्कृति धान्न गार्हो भएको कोर्सोमती लेप्चा सुनाउँछिन् ।
उनी भन्छिन्, ‘जसो त्यसो अहिलेसम्म हर्जो भएको छैन । नयाँ बुङथिङ नआउने भए केही वर्षमा हाम्रा सबै संस्कार लोप हुने भयो ।’
धर्म परिवर्तनको मार
अहिले यो समुदायमा पनि धर्म परिवर्तनको बाछिटाले छोएको छ । उनीहरूमध्ये धेरैजसोले लामो समय बौद्ध धर्म माने ।
‘बौद्ध धर्म पनि हाम्रो धर्म होइन रहेछ’, दावा भन्छन्, ‘सुरूमा बौद्ध भएछन् । अहिले क्रिश्चियन हुनेको संख्या बढ्दो छ । यसले हाम्रो पहिचानमै संकट बढ्दो छ ।’
लेप्चा बसोबास गर्ने रोंग र सूर्योदय नगरपालिकाका गाउँगाउँमा चर्च ठडिएका छन् । धेरैजनाले इसाई धर्म मान्न थालेपछि परम्पराहरू हराउन थालेकोमा चिन्ता जनाउँछन् स्थानीय शिक्षक सागर लेप्चा ।

जिलबुङ्का लेप्चा पितृको श्रद्धाका लागि माने जान्छन् । कुनै बेला मानेमा समेत तोडफोड भएको र अहिले त्यसलाई संरक्षण गरिएको उनीहरू बताउँछन् ।
लेप्चा भाषामा पढाई
रोङ गाउँपालिका-३ को शारदा आधारभूत विद्यालयमा अहिले लेप्चा भाषामा पठनपाठन हुन थालेको छ । रोङ लिपीसहितको पाठ्यक्रमसमेत तयार गरिएको छ । लेप्चा केटाकेटीलाई पढाउनका लागि सरकारले शिक्षकको पनि व्यवस्था गरेको छ । विद्यार्थीको संख्या पनि वर्षेनि बढिरहेको विद्यालय बताउँछन् ।

शिक्षक सागर लेप्चाले नेपाल प्रेससँग भने, ‘सरकारले लेप्चा भाषाको संरक्षणमा पछिल्लो समय केही प्रयास गरेको छ । अहिले ४० जना विद्यार्थीले लेप्चा भाषा र रोङ लिपी सिकिरहेका छन् ।’

Leave a Reply