रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोह आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखापर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन प्रणालीलाई अझ सशक्त बनाउन जरुरी रहेको बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थाले मुनाफाको केही अंश सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिने रकम सही ढंगले कार्यान्वयन भएको छ कि छैन भन्नेबारे प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी आवश्यकताको आधारमा खर्च भएको छ वा छैन भन्ने कुरामा ध्यान दिन जरुरी छ ।’
उनले सामाजिक उत्तरदायित्वमा खर्च भएको रकमको समीक्षासमेत राष्ट्र बैंकले गर्नुपर्ने आवश्यकता औंल्याए ।
सेवा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘बैंकहरूले लगानीका बेला एक प्रकारको ब्याजदर निर्धारण गर्ने तर पछि ब्याजदर बढाउने गरेको गुनासो व्यवसायीहरूबाट आएको छ। यस्ता गतिविधिले व्यवसायीहरूमा पीडा सिर्जना गर्छन् । त्यसैले यस्ता गुनासो नआउने गरी सेवा प्रवाह गर्न जरुरी छ ।’
उनले प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गर्दै प्रदेश सरकार अघि बढ्न तयार रहेको बताए ।
लुम्बिनी प्रदेशका बैंकहरूको अभिभावकका रूपमा राष्ट्र बैंकको कार्यालय रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘राष्ट्र बैंक बैंकहरूको बैंक भएकाले अनुगमन तथा नियमन कार्यलाई चुस्त बनाउन जरुरी छ । बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीहरूको समाधानका लागि राष्ट्र बैंक चनाखो भएर अघि बढ्नुपर्छ ।’
त्यस्तै, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएको बताए ।
उनले राष्ट्र बैंकको अध्ययन तथा अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिइने गरेको जानकारी दिए ।
प्रमुख सचिव अधिकारीले प्रदेशस्तरमा केन्द्रीय बैंकजस्तै संस्था आवश्यक रहेको महसुस भइरहेको धारणा व्यक्त गरे ।

Leave a Reply