‘नरसिंहाः अवतार मेरो करियरको लागि स्मरणीय र कोशेढुंगा सावित हुनेछ’- नायक राज कटुवाल

काठमाडौं । यहीँ जेठ ९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र हो, ‘नरसिंहाः अवतार’। यो चलचित्रबाट नायक राजेश हमालले आठ वर्षपछि सिनेमामा कमब्याक गर्दैछन् । केही कार्यक्रमहरूमा फाट्टफुट्ट देखा परे पनि हमालले चलचित्र भने गरेका थिएनन् । यति लामो समय हमालले चलचित्र नपाएर नगरेका हुन या पाएर पनि कथावस्तु चित्त नबुजेका कारण नगरेका हुन, त्यो उनैलाई थाहा होला । तर यो चलचित्रलाई लिएर हमाल भने निकै आशावादी छन् । लामो समयपछिको उनको कमब्याकले उनका शुभचिन्तक पनि खुसी छन् ।

हमाल सँगसँगै यहीँ चलचित्रबाट उदाउने दाउमा रहेका अर्का नायक हुन, राज कटुवाल। उसो त राजले फिल्म क्षेत्रमा पाइला चालेको केही वर्ष भइसक्यो तर जेठ ९ पछि भने उनको परिचय फेरिनेमा उनी विश्वस्त छन् । एक्सन चलचित्रप्रति दर्शकको क्रेज बढेसँगै ‘नरसिंहाः अवतार’मा आफूले निभाएको भूमिकाले, आफ्नो करियरमा थप एउटा सिढी थप्नेमा राज ढुक्क छन् ।

उनले यो चलचित्रका लागि निकै तयारी र मेहेनत गरेका छन् । चलचित्रकै लागि भनेर उनले शरीरलाई केही परिवर्तन गर्नुका साथै मिक्स्ड मार्सल आर्टको समेत तालिम लिएका छन् । चलचित्र क्षेत्रमा १५ वर्ष बिताइसकेका राज भन्छन्,’मलाई सधैं एउटा मौका पाए, मेरो क्षमता देखाउँछु भन्ने थियो। १५ वर्षदेखि यो क्षेत्रमा लागेपनि मैले आफ्नो क्षमता के हो भन्ने कुरालाई कहिल्यै पनि गहिरो रुपमा सोचिनँ । यस पटक भने मैले आफूलाई पटकपटक चुनौती दिएको महसुस गरेको छु। यो चलचित्रमा मैले मेरो १०० प्रतिशत दिएर काम गरेको छु।’

‘म केही होइन र मलाई कसैले पनि चिन्दैन भन्ने सोचेर मैले यो चलचित्रमा अझै बढी मिहिनेत गरेको छु । यस पटकको अवसरलाई म एउटा उत्कृष्ट अवसरका रुपमा प्रमाणित गर्न चाहन्छु,’ उनी सुनाउँछन् ।

केही वर्ष काम गरेपछि राजले बिचमा करियरबाट हार मानेका थिए । गरेका कामहरूले सोचे जस्तो नाम नदिएपछि उनी ओझेलमा परेका थिए । तर चलचित्र विकास बोर्डको सदस्य बनेपछि र फिल्मकर्मीबाट पटकपटक अभिनयमा फर्कन सुझाव आएपछि उनले आफूलाई फेरि एक पटक परीक्षामा उभ्याउने निर्णय गरे ।

‘म फर्केपनि कसरी र कुन प्रकारले फर्किदा ठिक हुन्छ भन्ने विषयमा मेरो सदैव मुख्य ध्यान थियो । त्यसैले कुनै पनि प्रस्ताव तत्काल स्वीकार गर्ने मनसाय थिएन । एक त मलाई जीविकोपार्जनकै लागि फिल्म खेल्नुपर्ने बाध्यता पनि थिएन। त्यसैले, राम्रो कथा, राम्रो निर्देशकको पर्खाइमै थिएँ,’राज थप्छन्।

धेरै सोचेपछि अन्ततः ‘नरसिंहाः अवतार’ नै आफ्ना प्रश्नहरुको उत्तर र चाहनाको मूर्तरुप भएको राज बताउँछन् । दिवाकर भट्टराइको निर्देशनमा बनेको यो चलचित्र आफ्नो करियरका लागि स्मरणीय र कोशेढुंगा साबित हुने उनको विश्वास छ । राजेश हमालसँगको सहकार्य बारे बताउँदै राज भन्छन् ,’जसलाई आदर्श मानेर अभिनय गर्ने सपना बन्यो, उहाँसँगै काम गर्न पाउनु दुर्लभ अवसर हो । सपना साकार भएको जस्तै लागेको छ। सुपरस्टार हुँदा पनि जुन धरातलबाट उभिनुपर्ने हो, त्यो नबिर्सनु पर्ने पाठ उहाँबाट सिके।उहाँको कामले यस पटक विशेष चर्चा पाउनेछ ।’

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्रमा क्रियटिभ सिने आर्टस्को नेम महर्जनको लगानी छ । दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, बालकलाकारहरु एभेलिना खड्का र समाइरा थापा, नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जङ्ग बस्नेत, प्रकाश जङ्ग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरूको अभिनय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *