क्राइमियालाई रुसकै भएको मान्यता दिने तयारीमा अमेरिका

काठमाडौं । सन २०१४ मा रुसी भाषा बाहुल्य भएको युक्रेनको क्राइमियामा जनमत संग्रह भएर रुसमा गाभिने निर्णय भएको थियो ।

पश्चिमा विश्व खासगर अमेरिकाले मान्यता नदिएको उक्त जनमत संग्रहपछि अमेरिकाले रुसलाई धेरै क्षेत्रमा नाकाबन्दी पनि लाएको थियो । तर डोनाल्ड ट्रम्पले क्राइमियालाई रुसकै भूमिको मान्यता दिने तयारी थालेका छन् ।

अमेरिकी अखबार ब्लुमबर्गलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार मान्यता दिने तयारीमा रहेको स्रोतले यस्तो जानकारी सार्वजनिक गरेको हो । यद्यपि ह्वाइट हाउसले अन्तिम निर्णय भने दिइनसकेको बताइएको छ ।

अमेरिकामा गत जनवरीबाट राष्ट्रपतिमा आएका डोनाल्ड ट्रम्पसँग अमेरिकाको रुसप्रतिको कठोरपन कमजोर हुँदै गएको छ ।

चाहे युक्रेनलाई दिने हतियार तथा आर्थिक सहयोगमा कटाऊ गरेर होस् वा रुससँग शान्ति वार्ताको नाममा संवाद थालेर होस्, ट्रम्प प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई थर्काउने र रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनलाई फकाउने रणनीति लिएको देखिएको छ । उसो त ट्रम्पले युक्रेन युद्धलाई अमेरिकाको युद्ध नभनेर ‘बाइडेनको युद्ध’ भनिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *