मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आयो संसदीय समिति

रुपन्देही । संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति उद्योग, वाणिज्यको अवस्था तथा मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आएको छ ।

समितिले बुधवार लुम्बिनी प्रदेशका विषयगत समितिसँग यहाँको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ । त्यस्तै बिहीबार बुटवलमा उद्योगी–व्यवसायीसँग छलफल गरेको छ ।

समितिका सभापति एवं पूर्वमन्त्री अब्दुल खानले खासगरी पछिल्लो समय सिमेन्ट तथा डण्डीमा अस्वाभाविक रूपमा मूल्यवृद्धिप्रति धेरैको चासो रहेको र समितिले त्यसबारे पनि गहन अध्ययन गरी सरकारलाई यथार्थता जानकारी गराउने बताए ।

पाँच दिने स्थलगत अध्ययनको लागि पाँच जना सांसद र उपभोक्ता अधिकारकर्मीसहित समिति स्थलगत अध्ययनको लागि यहाँ आएको हो ।

टोलीमा समितिका सदस्य एवं सांसद रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, हेम राज राई, रणेन्द्र बराली, रेखा यादव, रुक्मणी राना, गणेश पराजुली र उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन रहेका छन् ।

समितिले यस क्षेत्रमा रहेका मुख्य भन्सार, बुटवल धागो कारखाना, विशेष आर्थिक क्षेत्र (सेज), सिमेन्ट तथा डन्डी उद्योगहरूको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम छ ।

स्थलगत अनुगमन एवं सरोकारवालाहरूसँग छलफल गरी समस्याको जड पत्ता लगाई समाधानका उपायसहित सरकारलाई आफ्नो प्रतिवेदन दिने समितिका सभापति खानले जानकारी दिए ।

यसैबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) एवं संविधानसभा सदस्य इश्तियाक अहमद खाँले बिहीबार समितिसँग भेट गरी यस क्षेत्रमा रहेका उद्योग, वाणिज्य, श्रम तथा मूल्यवृद्धिका कारण उपभोक्तामा परेको असरबारे जानकारी गराएका छन् ।

उनले पछिल्लो समय अस्वाभाविक रूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताहरू मरमा परेको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रणका लागि संघीय सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *