चरिकोट । दोलखाको विगु गाउँपालिका–८, का स्थानीयले हाइड्रोपावरका कारण सास्ती बेहोर्नुपरेको गुनासो गरेका छन् । कालिञ्चोक हाइड्रोले निर्माण गरिरहेको पाँच मेगावाट क्षमताको साँघु–सोरुङखोला जलविद्युत आयोजनाका कारण आफूहरूले सास्ती बेहोर्नु परे पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
विगु गाउँपालिका–८, कापाराङका नीरबहादुर थामीका अनुसार हाइड्रोपावरको विभिन्न संरचना निर्माण गर्ने क्रममा सुख्खा पहिरो, अत्यधिक धुवाँ धुलो, प्रदूषण र चर्को ध्वनिका कारण जनजीवन कष्टकर बनिरहेको छ । ‘हाइड्रोले बस्ती र मानव स्वास्थ्य उच्च जोखिममा पर्ने गरी लापरबाही तरिकाले संरचना बनाइरहेको छ । बस्ती नजिकै पहिरो जान थालेको छ, कुईरीमण्डल धुलोले सास फेर्न गाह्रो बनाइरहेको छ, वर्षायाममा झन् जोखिम बढ्ने देखिन्छ, उनले भने ।’
उनका अनुसार धुलोका कारण वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर परेको छ भने अधिग्रहण र पहिरोका कारण स्थानीयले खेतीयोग्य जमिन गुमाएका छन् ।
आयोजनाले बस्ती नजिकैको भीर फुटाएर करिब हजार मिटर लामो पेनस्टक पाइप बिछ्याउने काम गरिरहेको छ । उक्त संरचना निर्माणका क्रममा थामीचागु कापाराङका स्थानीयवासी बढी प्रभावित छन् ।
कालिञ्चोक गाउँपालिका–२, तर्फको बस्तीसम्म धुलोले असर पुर्याइरहेको छ । धुलोका कारण गत वर्ष एक जना वृद्धको निसासिएर मृत्यु भएको भन्दै स्थानीयवासी जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन सदरमुकाम चरिकोट आएका थिए । तर माग सम्बोधन नभएको प्रभावित क्षेत्रका स्थानीयको दुखेसो छ ।
स्थानीयले आयोजनाले गरेको वातावरण प्रभाव मूल्याङ्कन (ईआइए), सामाजिक उत्तरदायित्वमा प्रश्न उठाइरहेका छन् ।
विगु गाउँपालिका-८, का वडाध्यक्ष धनवीर थामीले हाइड्रोले निम्त्याएको समस्या समाधानका लागि आयोजना र स्थानीय प्रशासनको पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको बताए ।
हाइड्रो पावरकी डाइरेक्टर इन्दिरा पन्तले स्थानीयका जायज गुनासोहरू आयोजनाले सम्भव भएसम्म सुनवाइ गरिरहेको र कतिपय प्राकृतिक प्रकोपजन्य घट्नामा आयोजना जिम्मेवार नरहेको प्रतिक्रिया दिइन् ।
‘आयोजनाबाट सिर्जित समस्या समाधानका लागि तयार छौँ, सानो प्रोजेक्टसँग नाजायज डिमान्ड पनि राख्नुभएन, ‘उनले भनिन्, प्राकृतिक प्रकोपजन्य घट्नामा आयोजनालाई जोड्नु भएन ।’
आयोजना निर्माण अन्तिम चरणमा रहे पनि भीरको कडा चट्टानका कारण पेनस्टक पाइप जडानमा समस्या हुँदा विद्युत उत्पादनमा ढिलाइ भइरहेको छ ।

Leave a Reply