झापाको गौरीगञ्जमा भारतद्वारा सीमा अतिक्रमण, नेपालीलाई घर खाली गर्न एसएसबीको दबाब

विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती र धम्कीका कारण झापाको गौरीगञ्ज- २ पिण्डालघाट गाउँका सन्थालहरू विस्थापित हुने क्रम बढेको छ ।

भारतीय सीमा सुरक्षा बलको ज्यादतीका कारण सन्थाल बस्तीका सर्वसाधारण गाउँ छाडेर हिँड्ने क्रम बढेको हो । भारतीय पक्षको ज्यादती सहन नसकी गत वर्ष बरियार सोरेनको परिवार विस्थापित भइसको थियो ।

यो वर्ष उनका भाइ जेठा सोरेनलाई भारतीय सीमा सुरक्षा बलका जवानहरू आएर बसाइ सार्न दबाब दिइरहेको स्थानीयले बताएका छन् ।
गत वर्ष भारतीय एसएसबीहरुले बरियार सोरेनलाई घर खाली गर्न बारम्बार दबाब दिएका थिए । वर्षाैंदेखि बस्दै आएको घर खाली गर्न नमानेपछि एसएसबीले धम्क्याउन थालेपछि उनी बसाइ सरेका थिए ।

यसपालि उनका दाजु जेठा सोरेनलाई पनि घर खाली गर्न दबाब दिइरहेको स्थानीय जेठा मुर्मूले बताए । २०५५ सालअघि कमल नेपाली भूमिमा परेको जग्गा त्यसयता भने भारतीयको भन्दै पिलर गाडिएको र स्थानीयलाई धम्की दिने गरिएको स्थानीयले बताए ।

२०५५ सालमा कमल खोला पूर्व रहेको दशगजा पिलरहरू २०५५ ताका भारतीय पक्षले नेपाली भूमि मिच्दै कमल पश्चिम रहेको पिण्डालघुटु गाउँको बीचमै सारेका थिए । सीमा पिलर सारेपछि दशगजामा परेको भन्दै सन्थाल समुदायका १९ नेपाली परिवारलाई धम्की दिने गरिएको छ ।

स्थानीयका अनुसार २०५५ साल अघिसम्म कमल खोलाको पूर्वी किनारमा दशगजा क्षेत्र कायम थियो । सो दशगजा क्षेत्रका अवशेषहरू अहिले पनि खोलाको पूर्वी किनारमा भेट्न सकिन्छ । स्थानीयका अनुसार अहिले कायम गरिएको सीमाभन्दा एक किलोमिटर पूर्व सन् १९७९ मा कायम गरिएको २६ नम्बरको रिफरेन्स पिलर अहिले पनि यथावत छ ।

त्यसबेला दशगजा क्षेत्रमै साप्ताहिक रूपमा लाग्ने बालुवा डाँगी हटियामा नेपाली र भारतीयबीच विवाद सुरु भएको थियो । विवादले उग्र रूप लिन थालेपछि सो कुरा केन्द्रसम्म पुगेको थियो । २०५५/०५६ सालताका दुवै देशका प्रतिनिधिहरू बसेर सीमा नापजाँच गरेको र सोही साल पिलरहरू नेपाली भूमितिर सारिएको स्थानीयले बताएका छन् ।

त्यो बेला नेपाली बस्तीकै बीचमा आएर साना पिलरहरू गाडिएको थियो । नेपाली बस्तीमा पिलर गाडिएपछि स्थानीयले विरोध गरेका थिए,
तर त्यो बेला पिलरहरू स्थायी रूपमा नगाडेको र अहिले नापजाँचको लागि चिन्हमात्र लगाइएको भनेर स्थानीयलाई झुक्याएको स्थानीय ओमप्रकाश राजवंशीले बताए ।

२०७४ सालमा भारतीय पक्षले एकलौटी रुपमा आएर साना पिलरहरूको ठाउँमा अहिलेका ठूला पिलरहरू गाडेका छन् । अहिले १४२/८ नम्बरको पिलर स्थानीय बुधलाल हेमरमको आँगनमै गाडिएको छ ।

१४२ नम्बरको जङ्गे पिलर खोलाको पूर्वी किनारबाट पश्चिम किनारमा सारेर गाउँको उत्तरतिर गाडिएको छ । यही १४२ नम्बरको जंगे पिलर र १४२/८ नम्बरको पिलरको बीचमा परेका घरहरू खाली गर्न भारतीय पक्षले दबाब दिइरहेको स्थानीयले बताए ।

२०५५ सालपछि सीमास्तम्भ नेपाली भूमितिर सारिएपछि अहिले स्थानीय नेपालीहरूको ५०औँ विघा जमिन भारतीयको कब्जामा रहेको छ ।
स्थानीय बासिन्दाका अनुसार यहाँका कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी, कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनुवा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ ।

उनीहरूले जग्गाको मालपोत भने वर्षेनि नेपाल सरकारलाई तिरिरहेको बताएका छन् । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले सो टोलमा सीमा विवाद रहेको बताइन् । उनले खोलाले धार परिवर्तन गर्दा सीमा विवाद भएको र नेपाली भूमि उता परेको भनेर दाबी गरिएकाले समस्या भएको बताइन् ।

उनले भनिन्, ‘कहिलेकाहीँ जग्गाघर खाली गरिदिन पर्‍यो भनेर दबाब आउँछ । हामीले कुरा गरेपछि उनीहरू चुप लागेर जाने गरेका छन् । यो समस्या समाधान भएको छैन ।’

अध्यक्ष राजवंशीले दुई देशीय समस्या भएकाले समाधानका लागि सङ्घीय सरकारले पहल गर्नुपर्ने बताइन् ।

Comments

One response to “झापाको गौरीगञ्जमा भारतद्वारा सीमा अतिक्रमण, नेपालीलाई घर खाली गर्न एसएसबीको दबाब”

  1. Laleek Avatar
    Laleek

    यस्तालाई नेपालीको ईतिहास झल्किने गरी नाटक देखाई दिनै पर्छ, बस् टन्टै साफ ! जयनेपाल ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *