महोत्सवमा दुर्गेशको शान बढ्दा ज्योती मगर परेसान ! फेसबुकमा ट्रोल गर्दै

काठमाडौं । पछिल्लो गीत ‘दुस्मन हेरेको हेर्यै’ ब्लकबस्टर भएपछि गायक दुर्गेश थापाको क्रेज ह्वात्तै बढेको छ । अहिले देश-विदेशका कन्सर्टमा उनी अत्यधिक डिमान्डेड छन् । भ्याइनभ्याइ भएपछि उनी हेलिकप्टर नै लिएर महोत्सवहरूमा हिँड्न थालेका छन् ।

ठीक उल्टो अवस्था छ गायिका ज्योती मगरको । गायनभन्दा पनि अंगप्रदर्शन र उच्छृंखल हर्कतमा कहलिएकी उनी अहिले सेलाउँदै गएकी छन् । महोत्सवहरूमा उनी जाँदा दर्शकको खडेरी पर्न थालेको छ । केही दिनअअघि धनगढीमा आयोजित फूलबारी महोत्सवमा ज्योतीको प्रस्तुति हेर्न आएका दर्शकहरूको संख्या डोजरले खनेको हेर्ने रमिते जत्तिमात्र थियो । यद्यपि, सामाजिक सञ्जालमा लेख्ने स्टाटसहरूले उनलाई बेलाबखत चर्चामा ल्याउँछ ।

यहाँ दुर्गेश र ज्योतीको तुलना चाहीँ किन गरिएको होला भन्ने तपाईंलाई लाग्ला । खासमा अहिले ज्योती र दुर्गेश सामाजिक सञ्जालमा आमनेसामने भइरहेका छन् । एउटा महोत्सवमा सहभागी हुन नसकेको विषयलाई लिएर दुर्गेशलाई ज्योती मगरले ट्रोल गरेकी थिइन् । सन्दर्भ हो, ज्योतीको गृहजिल्लामा दुर्गेशको प्रस्तुति स्थगत हुनु ।

दाङको तुलसीपुरमा आयोजित तुलसीपुर महोत्सवमा आइतबार प्रस्तुति दिने तयारीमा थिए दुर्गेश । तर, महोत्सव स्थगित गर्न स्थानीय प्रशासनले आयोजक चेम्बर अफ कमर्सलाई आदेश दियो । अनुमति पाएको अवधिभन्दा लम्ब्याइएकाले स्थगित गर्न जिल्ला प्रशासन कार्यालयले पत्र काटेको थियो ।

खासमा चेम्बर अफ कमर्सले फागुन १ गतेदेखि १६ गतेसम्म ‘कृषि पर्यटन तथा व्यापार प्रवद्र्धनका लागि तुलसीपुर महोत्सव २०८१’ आयोजना गर्न सीडीओ कार्यालयसँग अनुमति लिएको रहेछ । १६ गते महोत्सव समापन हुनुपर्ने थियो । तर, दर्शकहरुको फलो जारी रहेपछि आयोजकले १७ गतेपछि पनि निरन्तरता दिए । १८ गते दुर्गेशलाई निम्त्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा यसको सूचना पुगेपछि रोक्न पत्र काटेको हो । जसले गर्दा १८ गते निर्धारित कार्यक्रम स्थगित गरिएको थियो ।

दुर्गेशलाई त्यस दिन दुईवटा कार्यक्रम भ्याउनु थियो । त्यसैले उनी हेलिकोप्टरबाट जाने तयारी गरेका थिए । तर, कार्यक्रम स्थगित भएको खबर आएपछि उनी गएनन् ।

यो खबर सुनेपछि ज्योती मगरले फेसबुकमा दुर्गेशलाई कटाक्ष गर्दै यस्तो स्टाटस लेखेकी थिइन्ः

‘आज दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकार दुर्गेश थापा भाइको हेलिकप्टर उड्यो कि उडेन ? हल्लाखल्ला सुनिएन त कतै… कमेन्ट्मा खबर गरुम् त दङ्गाली सञ्चारमाध्यमहरू… दुस्मन हेरेको हेरेइ होइन, दुस्मन पर्खेको पर्खेई थिए रे भन्ने हल्ला पो आयो त कता कता…’

ज्योतीको यो स्टाटसपछि दुर्गेशले फेसबुकमै महोत्सवमा नगएको सम्बन्धमा लामो प्रष्टीकरण लेखे । त्यसमा उनले ज्योतीलाई महोत्सव रोक्न भूमिका खेलेको घुमाउरो आरोप लगाएका छन् ।

‘केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल र नियोजित रणनीतिले मलाई हजुरहरूमाझ उपस्थित हुन दिएन,’ दंगाली दर्शकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो- केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् ।’

उनी थप्छन्, ‘कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ । उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो । हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ ! तर एक कुरा नबिर्सनुहोला- हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन ! मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन । मेरो मात्र एउटा रहर छ- नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु ।’

दुर्गेशको यो स्टाटसपछि दुई दिन मौन बसेकी ज्योतीले आज फेरी अर्को स्टाटस लेखेकी छन् । यसमा उनले ‘व्यक्तित्व र आचरण खराब भएको कलाकार’ का रूपमा चित्रण गरेकी छन् ।

केही वर्ष अगाडिको एउटा घटनाले गर्दा नेपालगञ्जको डनहरुदेखि दाङका डनहरुलाई गुहार माग्दै सम्पुर्ण शक्ति प्रयोग गर्दा पनि दाङको तुलसीपुर महोत्सवमा दाङबासीहरूले हेलिकप्टर बस्न नदिएको कुरालाई व्यक्तिगत रुपमा खेद प्रकट गर्दछु … एउटा कलाकारको व्यक्तित्व र आचरण जतिसुकै खराब भए पनि कलाकारको कलालाई सम्मान गर्नुपर्छ र गरिखान दिनुपर्छ भन्ने मेरो मान्यता हो… सम्पुर्ण दाङबासीहरूलाई पुरानो कुरा बिर्सिन र ती कलाकार भाइलाई अझै अगाडि बढ्न शुभकामना छ…’

खासमा पल शाह प्रकरणपछि ज्योती र दुर्गेशबीच राम्रो सम्बन्ध छैन । पल शाहलाई फसाउन भूमिका खेलेको भन्दै ज्योतीले दुर्गेशको खेदो गर्दै आएकी छन् । पल र ज्योती दुवै दाङका हुन् । दुर्गेशले हेलिकप्टर उडाउँदै आफ्नो गृहजिल्लामा आउने कुराले ज्योती अलि ब्याकुल बनेकी थिइन् । त्यसैले महोत्सव स्थगित भएको खबरले उनी गदगद भएकी हुन् ।

ज्योतीले पछिल्लो स्टाटसमा उल्लेख गरेको ‘पुरानो कुरा’ सम्भवतः पल शाह प्रकरण नै हुनुपर्छ । पल शाह बलात्कार केसमा मुछिँदा ज्योतीले खुलेर उनको साथ दिएकी थिइन् । पल शाहलाई फसाउन दुर्गेशले भूमिका खेलेको उनको बुझाइ छ । त्यसबेलादेखि दुर्गेशसँग उनको त्यति बोलचाल हुँदैन । अहिले दुर्गेशको क्रेज बढिरहेको देख्दा ज्योतीलाई त्यति मजा आइरहेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *