फ्लाइ दुबईबाट काठमाडौं उत्रिएका ३ विदेशी महिलाको मलद्वारमा भेटियो झण्डै ४ केजी सुन !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् ।

४ जनाको टोली आएको मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका सुचना अधिकारी लालबाबु सुवेदीले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार ४ जनामध्ये एक जना पुरूष हुन् । उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन् ।  ती पुरुषलाई पनि पक्राउ गरिएकाे छ ।  तीन महिलाहरुले मलद्वारमा सुन डल्लो बनाएर ल्याएको सुचना अधिकारी सुवेदीले बताए ।पक्राउ पर्नेमा अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभ रहेका छन् ।

उनले भने, ‘उनीहरूको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले एक्सरेमा चेक जाँच गर्दा शंकास्पद देखिएपछि केएमसी लगेर भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको पाइयो ।’

उनीहरु त्रिभुवन विमानस्थलकाे भन्सारबाट जाँचपास सकेर बाहिर टमिनलबाट निस्कन लागेका थिए साेही समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *