काठमाडौं । आज शिवरात्री । आजै नेपाली सेना दिवस । नेपाली सेनाको २६२ औं दिवस मनाउन नेपाली सेनालाई धमाधम छ । सेना मात्रै होइन, नेपालको कूटनीतिक नियोग पनि व्यस्त छ ।
सोमबार साँझ बंगलादेशको राजधानी ढाकामा सेना दिवसको छेका पारेर नेपाली दूतावासको ‘रिसेप्सन’ समारोह आयोजना गरेको थियो । बंगलादेशका प्रधानसेनापति वाकर उज जमान प्रमुख अतिथि भएको समारोहमा उनले नेपाली सेनाले नेपालभित्र र बाहिर गरेको प्रयत्नको चर्चा गरेका थिए ।
यो सामाग्रीमा भने नेपाली सेनाको इतिहासको एक विद्रोहको कथाको चर्चा गरिएको छ । मदन पुरस्कार २०८० प्राप्त पुस्तक ‘मुकाम रणमैदान’मा लेखक तथा पत्रकार मोहन मौनालीले नेपाली इतिहासका धुलो धमिरा लागेका पुराना ढड्डाका कागजातहरु, चिठीपत्रहरु खोतलखातल गरेर ल्याएको तथ्यले नेपाली सेनामा भएको विद्रोहको कथा देखाउँछ । विद्रोह तलब सुविधासँगै जोडिएर आएको छ ।
तानसेनाबाट तातेको नेपाली सेनाको विद्रोहः यसरी कुटपिटमा परेका थिए कमान्डर
उसो त अहिले पनि नेपाली सेनामा काम गर्नेहरुको तलब भत्ता राम्रो छैन । न उनीहरुको निजामती कर्मचारीको जस्तो स्वतन्त्रता छ । न त छ आकर्षक अतिरिक्त भत्ता । अहिलेको अवस्थामा यस्तो छ भने नेपाल अंग्रेज युद्धताका कस्तो थियो होला ? अनुमानै काफी छ । अझ सेनाको नियमित जागिर तलब भत्ताको युग नभएको समस्या झन विकराल थियो । त्यस्तो समस्याबाट जुध्न एक पटक नेपाली इतिहासमा सैनिकहरुले विद्रोह गरेका थिए ।
राजाले आदेश दिएर पाल्पाका सिपाइहरुको जागिर गयो । र कमान्डरहरुले आफूसँग भएका ‘तानाबाना’ अर्थात सैन्य पहिरन चिन्ह लगायका सामाग्रीहरु बुझाउन आग्रह गरे । एकातर्फ जागिर जानु । अर्कोतर्फ ‘तानाबाना’ बुझाएर आफ्नो बिचल्ली हुनु । यी दुई कुराले बिच्किए सैनिकहरु । एक हजार बन्दुकधारी सैनिकहरु बिच्किएको त्यो विद्रोह गर्ने जमातलाई ‘हजार नाल’ भनिन्छ ।
हजार नाल अनुहारहरु उत्रिए विद्रोहमा । यो कुरा वि. सं. १८९९ चैतको हो । सैनिकहरुले विद्रोहको झोंक आफ्ना सैनिक कमान्डरहरुमाथि बर्साए । उनीहरुले ‘पगरीहरु’ अर्थात् अफिसरहरुलार्इं भकुर्न थाले । सुबेदार रणध्वज कार्कीले मुक्कैमुक्का भेटे । बिच्किएका सैनिकहरुले भकुर्दा भकुर्दा सुबेदार बलभद्र माझीको एक आँखो बिग्रन पुग्यो । अर्का सुबेदार रणकेशर बस्न्यातले इन्तु न चिन्तु भएर खुन छादे ।
‘दफदरखाना’का खर्दार जागेश्वर पाँडे भने बाहुन भएकोले जोगिए । तत्कालीन समयमा ब्राह्मण हत्या गर्दाका कानूनी र धार्मिक जटिलताले उनीहरुले पाँडेलाई बल प्रयोग गरेर बिजोग बनाएनन् । बन्धक मात्रै बनाए ।
मुक्का भेटेका ‘कुम्मेदान’ जयभद्र थापा टाप ठोके भने सुबेदार चक्रध्वज शाही टुँडिखेलमा देखै परेनन् । तीनलाई खोज्न सैनिकहरु मिहिनेत गरिरहेका थिए । सैनिकहरुले तानसेनको टुँडिखेलमा अड्डा जमाएर नाल बोकेर बसे । नेपाली सेना थर्कमान भयो । त्यो थर्कमानको झिल्को पाल्पा तानसेनबाट रणध्वज पाँडेले १८९९ चैत ‘वदि १३ रोज ३’ मा पाल्पाको मुकाम तानसेनबाट पठाएको ‘अर्जि’मा देखिन्छ ।
यसरी सैनिले विद्रोह गरेको एक शताब्दी हाराहारी पछि वि.सं. १९८९ मा आएर मात्रै नेपाली सेनामा एक वर्षको लागि मात्रै नियुक्त गरिने ‘पजनी’ प्रणाली हट्यो र सुरु भयो नियमित जागिर ।
नेपाल अंग्रेज युद्धमा लडेका सैनिककै थियो आर्थिक पीडा
नेपाल अंग्रेजको युद्धताका धेरै नेपाली सैनिकहरुले ज्यान फालेर देश र नरेशको नाममा लडे । तर, उनीहरु लडेर पनि आर्थिक सुरक्षा भएन । नालापानीको प्रख्यात युद्धका एक अनुहार रिपुमर्दन थापाले युद्धको दुई वर्षपछि १८७३ भदौमा लेखेको पत्रले त्यसको पुष्टि गर्छ ।
डडेलधुराबाट भीमसेन थापा र रणध्वज थापालाई लेखिएको पत्रमा भनिएको छ, ‘ढाक्य्रा हुँदा पनि कति बाली पाइनँ । जागिर्या हुँदा पनि पूरा बाली पाइनँ ।’
अंग्रेजसँगको युद्धको मौजारोपछि राजासँग बिदा लिएर काठमाडौँबाट मकवानपुर, माडी सिंहविर पाँडे र कर्णवीर पाँडेले पनि फौजको दुःख लेखेर पठाएका थिए । उनीहरुले लेखेका थिए, ‘चितवनका अनाज नल्याए पल्टनलाई खान नपुग्ने रहेछ ।’
नेपाली सेनाको जागिर गुमाएका एक सैनिक अर्जुन बानियाँले आफूले गोरखा पल्टनमा काजी अमरसिहं थापाको फौजमा हवलदार हुँदा मोरनीगढीको युद्धमा तरबार दुई टुक्रा पारेर तीन वैरी हानेको तथा ठेवकगढीको युद्धमा पनि एक अर्को वैरी हानेको तर आफ्नो आर्थिक सुरक्षा नभएको गुनासो गरेका छन् ।
उनले लेखेका छन्, ‘मजत्तिका अरु मानिस सुनको चाँद बाँधी ढल्केर हिँड्छन् । मैले भने दुःख पाएँ ।’ उनले भावनात्मक भएर थपेका छन्, ‘लडाइँमा मानिस हान्नु हाम्रो जन्माधिकार हो । मलाई चाहिँ मानिस हानेको पाप लाग्यो । मानिस हानेको पाप छुटाउनका निमित्त तीर्थ गर्न जाँदो हुँ ।’
गढवालको युद्धमा लागेकाहरु धेरैले अंग्रेजको पक्षमा लागे । सबै खरखजाना ल्याउने मान्छे भएनन् । बागसिंह गुरुङले गढवालको झाम्टागढीबाट डोटीसम्म सबै थोक ल्याउन ऋण नै लाग्यो । त्यो ऋणको पैसा उठ्न त कहाँको कहाँ भएको जागिर पनि गयो गुरुङको ।
अनि उनले राजाको नाममा एक पत्र लेखेर भनेका थिए, ‘नालनिशान, खरखजाना मेरा एक्ला जीउले स्याहारेर डोटीमा काजी बखतावर बस्नेतछेउ बुझाइदिएको थिए । नालनिशाल र खरखजाना ल्याउँदा ३०० रुपैयाँ कर्जा लागेको थियो । म गरिबले सकेसम्मको नूनको सोझो टहल गरेको थिएँ । आज मेरा अभागले जागिर पनि मिलेन । कर्जा पनि तिर्न सकिएन ।’
पृथ्वीनाराणय शाह सेनाको घरखेत र छाती बलियो बनाउने पक्षमा थिए
नेपाली सेनाको अहिलेको संगठनका संस्थापक पृथ्वीनाराण शाहलाई मानिँदै आएको छ । देशभर राजाका फोटो हट्दा पनि सैन्य शिविरबाट नहट्नुको भावनात्मक र वैधानिक नाता यो पनि हो ।
पृथ्वीनारायण शाह सेनाको पक्षमा प्रष्ट थिए । सेनाको सेवा सुविधा र इज्जत दिने कुरामा उनको लाइन क्लियर थियो । यो कुरा उनले दिएको अर्तिमा सेनाको सम्मानको बारेमा र सेवा सुविधाको बारेमा प्रष्ट भनिएको छ । पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा सेनाको तलब सुविधा र सम्मान बारेमा यस्तो भनेका छन्ः
‘जड कुरो राजालाई चाहिने सिपाहीरुको घरखेत मिलाइ दिनू । उनीहरु खेत मलजल गर्छन् । त्यसबाट आएको मोही र साहु दुवै भाग भित्र्याउँछन् र जहान परिवार पाल्ने चिन्ता हुँदैन । ढोकामा भए पनि, गैँडामा भए पनि सिपाहीहरुको छाती बलियो हुन्छ ।’

Leave a Reply