काठमाडौं । ‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलका आमा किर्कौली रम्तेल (सरिमाया)लाई लाई प्रदान गरिएको छ ।
दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालको आयोजनामा बुधबार काठमाडौंको संवाद डबलीमा पुरस्कार तथा सम्मान कार्यक्रमकाविच नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले ५० हजार नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डा.बुद्धी नेपालीले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्मान र सम्झनाको लागि आफूहरुले स्मृति प्रतिष्ठानको स्थापना गरेको बताए ।
नेपालीले स्थापनाको पहिलो वर्ष रम्तेलको नाममा २५ लाख छात्रवृत्ती अक्षय कोष स्थापना घोषणा गरी कोष संकलनको कार्ययोजना तिब्र गतिमा अघि बढाइएको बताए ।
उनले भने, ‘जनयुद्ध र जनाआन्दोलनका क्रममा १३ हजार ३३६ जनाले सहादत प्राप्त गर्नु भएकोमा दलित समुदायबाट १६ सय ८७ जनाले बलिदान गर्नुभएकोमा जुन प्रतिशतमा हेर्दा १२.६ प्रतिशत हुँन आउँछ, यत्रो बलिदान हुँदा पनि उत्पीडित समुदाय र लिङ्गले अझै पनि पूर्ण अधिकार नपाउनु दुःखद विषय हो ।’
प्रतिष्ठानका महासचिव पम्फा बसेलले प्रतिष्ठान स्थापनाको दोस्रो वर्षगाँठको अवसरमा आफूहरुले पुरस्कार स्थापना गरि हस्तान्तरण समेत गरेको बताउँदै यसलाई थप प्रभावकारी बनाउँदै लैजाने बताइन् ।
कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष मदन भूल, पूर्व उपमहासचिव बाबुराम नेपाली, पूर्व सचिव श्याम रोक्का, नेपाल दलित मुक्ति मोर्चाका कोषाध्यक्ष सानुभाई मालबुल, सहिद रिना अर्पण उत्थान मञ्चका अध्यक्ष गिता रसाईलीले गौरवशाली इतिहास बोकेको जनयुद्धको रक्षा गर्न दिलबहादुर जस्तैः हजारौं सहिदको सम्मान गर्नुपर्ने धारणा राखे ।

Leave a Reply