काठमाडौं । नेपाल प्रहरीको ३० औँ महानिरीक्षक (आईजी) सहित उच्च नेतृत्व बिदा हुने दिन नजिकिँदै गर्दा बढुवाका प्रतिस्पर्धीको दौडधुप तीव्र भएको छ ।
२०७९ चैत १० गते प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका वसन्तबहादुर कुँवरसहितको टोली आउने चैत ४ गते मध्यरातबाट सेवा निवृत्त हुँदैछ । उनीहरू ३० वर्षे सेवा अवधि पूरा गरी निवृत्त हुन लागेका हुन् ।
नेपाल प्रहरीको नयाँ ऐन (विधेयक) को मस्यौदा प्रतिनिधिसभामा विचाराधीन छ । त्यसउपर विषयगत समितिमा दफावार छलफलको प्रक्रिया जारी छ ।
अबको १८ दिनभित्र उक्त विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रियसभामा निर्णयार्थ पेश गर्ने सम्भावना शून्य प्रायः हुँदा प्रहरी उच्च नेतृत्वमा भारी रिक्तता आउने भएको हो ।
चैत ४ मा आईजी वसन्तबहादुर कुँवरसहित एआईजीहरू टेकप्रसाद राई, कुवेर कडायत, दुर्गा सिंह, बुद्धिराज गुरुङ र प्रस्तावित एआईजी जनक भट्टराई अनिवार्य अवकाश हुँदैछन् । १ आइजी र ५ एआईजी अवकाश हुँद डीआईजी दर्जाबाट भोला रावल, गणेश चन्द र ध्रुवराज राउत तथा एसपी दर्जाबाट सुरेश राउत अवकाश हुन्छन् ।
आईजीमा ३ प्रतिस्पर्धी
नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकका रूपमा अहिले मुख्यतः ३ प्रतिस्पर्धी देखिएका छन् । तीमध्ये एकजनाको नियुक्ति ४ गते बेलुकीसम्म हुनुपर्ने र ५ गते कार्यालय समयभित्र पदभार ग्रहण गर्नुपर्छ ।
विद्यमान प्रहरी ऐनको व्यवस्थाअनुसार प्रथम र विशिष्ट श्रेणीका अधिकृतमध्ये नेपाल सरकारले चाहेको व्यक्ति महानिरीक्षक नियुक्त हुन्छन् । प्रहरीमा नायव महानिरीक्षक (डीआईजी) दर्जालाई प्रथम र अतिरिक्त महानिरीक्षक (एआइजी) लाई विशिष्ट श्रेणी मानिन्छ । त्यसमध्ये ज्येष्ठतालाई पहिलो प्राथमिकता दिइँदा एआईजी दर्जाका तीन अधिकृतमध्येबाट ३१औँ महानिरीक्षक चयन हुने भएका छन् ।
प्रतिस्पर्धामा दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी छन् । यी तीनैजना २०५२ भदौ १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जामा नियुक्त भएका हुन् ।
उनीहरूले चैत ४ गते अवकाश हुने टोलीसँगै २०५१ सालमा प्रहरी निरीक्षक भर्नाका निम्ति आवेदन र परीक्षा दिएका थिए । परीक्षाफल प्रकाशित हुँदा वैकल्पिकमा नाम निकालेको टोलीको नियुक्ति २०५२ सालको भदौ १९ र कात्तिक २७ मा भएको थियो ।
त्यसैले ३० वर्षे सेवा हदको विद्यमान व्यवस्थामा कुनै फेरबदल नभए ३१ औँ आइजी भदौ १८ मा अवकाश हुनुपर्छ । त्यसपछि हुने ३२ औँ आईजी पनि त्यही ब्याचको अर्को भर्ना मितिका एआईजीमध्येबाट हुने सम्भावना छ ।
३० वर्षे सेवा अवधि खारेज भएर नयाँ प्रहरी ऐन लागू भएमा ३१ औँ आइजीले लगातार ३ वर्ष संगठनको नेतृत्व गर्छन् । प्रस्तावित ऐनमा आईजीको सेवा अवधि ३ वर्ष तोकिएको छ ।
बलिया दीपक थापा
तीन प्रतिस्पर्धीमध्ये एआईजी दीपक थापा तुलनात्मकरूपमा बलियो दाबेदारका रूपमा देखिएका छन् । थापापछि टेकबहादुर तामाङ र सुदीप गिरी मुख्य दाबेदार हुन् ।
जागिर अवधिमा सबभन्दा बढी युनिट इन्चार्ज, अर्थात् ‘कमान्ड कन्ट्रोल’ का आधारमा थापा बलियो दाबेदार मानिएका हुन् । उनले इन्स्पेक्टर दर्जामै २० भन्दा बढी युनिट चलाए । एआईजी हुँदा उनले उपत्यका प्रहरी कार्यालय, प्रधान कार्यालयको प्रशासन विभाग हुँदै अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गरिरहेका छन् ।
डीआईजी दर्जामा उनले बागमती प्रदेश प्रमुखसहित प्रधान कार्यालयको प्रबन्ध विभाग सम्हाले । एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा चलाए ।
एसपीका रूपमा जिल्ला प्रहरी कार्यालय चितवनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय, खोटाङको प्रमुख भए । त्यही दर्जामा उनले काठमाडौंस्थित प्रहरी वृत्त महाराजगन्ज र रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले । डीएसपी दर्जामै हुँदा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निजी सुरक्षा अधिकृत (पीएसओ) का रूपमा काम गरे ।
इन्स्पेक्टर हुँदा नेपाल प्रहरी विद्यालयका काभ्रेस्थित साँगा, रौतहटको गरुडा र कैलालीस्थित धनगढीको समादेशक भएर काम गरे । ११ वर्षसम्म इन्स्पेक्टरको दर्जा सम्हाल्दा उनले २० वटा फरक फरक निकायको नेतृत्व गरेका थिए ।
अर्का प्रतिस्पर्धी तामाङ भर्नादेखि डीआईजी बढुवासम्म थापाका सहयात्री हुन् । उनीहरू २०६३ भदौ ८ गते इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए । २०७१ फागुन १० मा डीएसपीबाट एसपी, २०७५ फागुन ७ मा एसपीबाट एसएसपी, २०७९ असार ८ मा एसएसपीबाट डीआईजी हुँदासम्म उनीहरू सँगै थिए । तर, २०७९ फागुन २६ गते डीआईजीबाट एआईजीमा बढुवा सिफारिस हुँदा तामाङ पछाडि पारिए । उक्त ब्याचबाट थापामात्रै बढुवा भए । एक महिनापछि तामाङसहित सुदीप गिरी एआईजीमा बढुवा भए ।
तामाङले एआईजीमा बढुवा त पाए, तर २२ महिना प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा थन्क्याएर राखियो । गत पुस १६ गते उनी कार्यालय प्रमुखका रूपमा काठमाडौंस्थित उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भए । अहिले पनि त्यहीँ कार्यरत छन् ।
तामाङ प्राज्ञिक अभ्यासमा तल्लीन छन् । प्रहरी सेवामा प्रवेश गर्नुअघि उनी भोजपुरमा शिक्षण पेशमा संलग्न थिए । ‘टेक तामाङ’ का नाममा उनले थुप्रै गीत लेखेका छन् ।
उनले सशस्त्र द्वन्द्वकालीन समयमा काठमाडौं उपत्यकाबाहिरको चुनौतीपूर्ण जिम्मेवारी सम्हाले । तर, कार्यालय प्रमुखको अवसर भने अन्य अधिकृतको तुलनामा कम पाए । इन्स्पेक्टर दर्जामा रुकुममा खटिएका उनले त्यहाँ बसेर प्रहरी सेवामात्र गरेनन्, सशस्त्र द्वन्द्वसम्बन्धी एक शोधपत्र (थेसिस) नै लेखेर फर्किए ।
उनले जिल्ला प्रहरी प्रमुखका रूपमा ललितपुर, अर्घाखाँची, खोटाङ, बाँकेसहितका युनिट कमान्ड गरेका छन् । धादिङस्थित इलाका प्रहरी कार्यालय, गजुरी, मकवानपुरस्थित इलाका प्रहरी कार्यालय, फापरबारी, ललितपुरस्थित वडा प्रहरी कार्यालय, सानेपा र काठमाडौंस्थित वडा प्रहरी कार्यालय, लैनचौर (सोह्रखुट्टे) को नेतृत्व गरेका छन् ।
उनी समुदायसँगको साझेदारीमा प्रहरी कार्य गर्नेमा कहलिएका अधिकृत हुन् ।
अर्का प्रतिस्पर्धी सुदीप गिरीले लामो समय प्रधान कार्यालयस्थित विशेष ब्युरोको नेतृत्व गरे । उनी तामाङसँगै २०७९ चैत १३ गते एआइजीमा बढुवा भएका हुन् । भर्नादेखि एसपी बढुवासम्म थापा, तामाङ र गिरी साथै रहे । तर, एसएसपीदेखि थापा र तामाङ अगाडि बढ्दा गिरी पछि परेका थिए । उनी पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन् ।
उनले पर्सा र कैलालीमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । काठमाडौंसहिमत विभिन्न जिल्लामा एक दर्जनभन्दा बढी युनिटको कमान्ड गरिसकेका छन् ।
को होलान् एआईजी ?
३० औँ महानिरीक्षक कुँवरसँगै उनका व्याचीहरू अवकाशपछि रिक्त हुने ५ एआईजीका निम्ति ८ डीआईजीबीच प्रतिस्पर्धा शुरू भएको छ ।
वरिष्ठता क्रमका आधारमा २०५२ का इन्स्पेक्टरमध्ये चन्द्रकुवेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल अग्र पङ्क्तिमा छन् । खापुङ र पोखरेलको भर्ना मिति २०५२ कात्तिक २७ हो । यदि त्यसबेलासम्म ३० वर्षे सेवा अवधि विद्यमान रहेमा भदौमा आगामी भदौमा आइजी पद रिक्त हुन्छ र त्यसपछि कात्तिक २६ गतेसम्मका लागि खापुङ र पोखरेलमध्येबाट एकजना आईजी हुन्छन् । तसर्थ, अहिलेको बढुवामा उनीहरू ‘छुट्नै नहुने गरी’ दौडधुपमा छन् ।
सरकारले डीआईजी बढुवामा पछाडि पारे पनि भर्ना मिति २०५३ पुस ५ का अधिकृतलाई एआईजीमा प्राथमिकता दिने सम्भावना छ । उक्त टोलीमा सिद्धीविक्रम शाह, सुशीलसिंह राठौरसहितका छन् ।
रवि लामिछाने गृहमन्त्री हुँदा दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी डीआईजी बढुवा भएका थिए । कतिपय यो समूहको अघिल्लो सरकारले वरीयता मिचेको भन्दै सच्याउन दबाब पनि दिइरहेका छन् । तर, कार्कीको वरीयता मिचिने सम्भावना किन पनि कम छ भने उनी एक त काबिल अफिसर हुन् र दोस्रो उनको सबैसँग राम्रो सम्बन्ध छ ।
डीआईजी बढुवा हुने कार्कीसहितको टोली प्रहरी इन्स्पेक्टरका रूपमा २०५४ चैत १८ गते भर्ना भएको थियो । शाहसहितको टोली भने राष्ट्रिय गुप्तचर (हाल अनुसन्धान) विभागबाट सेवा परिवर्तन गरी प्रहरी सेवामा प्रवेश गरेको हो । उनीहरूको पुरानै भर्ना मितिलाई वरीयताको आधार मानेर हालसम्मका वृत्ति व्यवस्थापन गरिँदै आएको छ ।
यी दुई टोलीमध्ये जुन टोली एआईजी बढुवामा पहिलो हुन्छ, ३२ वा ३३ औँ आईजी उनीहरू नै हुने अवस्था छ ।
७ डीआईजीका निम्ति ८ दाबेदार
नेपाल प्रहरीमा चैत ४ पछि रिक्त हुने डीआईजीको संख्या ७ पुग्छ । त्यसका निम्ति ८ जनाको प्रतिस्पर्धा छ । २०८० वैशाख २४ गते एसपीबाट एसएसपी हुनेमध्येबाटै अहिले डीआईजीका प्रमुख दाबेदार हुन् ।
उक्त बढुवाको पहिलो नम्बरमा विश्व अधिकारी थिए । उनी हाल काठमाडौं प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । दोस्रो नम्बरका भूपेन्द्रबहादुर खत्री प्रहरी शिक्षालय भरतपुरमा कार्यरत छन् । काठमाडौं परिसरमा हुँदा राम्रो काम गरेका खत्री पूरै अवधि बिताउन नपाई हेडक्वार्टरमा सरुवा भएका थिए ।
तेस्रो नम्बरका सानुराम भट्टराई हुन् । अपराध महाशाखामा राम्रो काम गरेर क्षमता देखाएका भट्टराई हाल हेडक्वार्टरमा छन् ।
शेखर खनाल, सोमेन्द्रसिंह राठौर, दीपसमशेर जबरा, तारादेवी थापा र गंगा पन्त मुख्य प्रतिस्पर्धी हुन् । यही बढुवा लहरका अविनारायण काफ्ले पनि डीआईजीको प्रतिस्पर्धामा छन् ।
यी सबै २०६७ पुस २३ का डीएसपी र २०७५ जेठ २९ का एसपी हुँदै २०८० वैशाख २४ मा सँगै एसएसपी भएका हुन् ।

Leave a Reply