काठमाडौं । काठमाडौं शिक्षालय ललितपुरको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
महालक्ष्मी नगरपालिका ४, इमाडोलमा रहेको शिक्षालयले फागुन ७ गते बुधबार आफ्नै भवन प्रांगणमा भव्य समारोह आयोजना गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ललितपुर क्षेत्र नंं। २ का प्रतिनिधि सभा सदस्य प्रेम महर्जनकाे प्रमुख आतिथ्यतामा कार्यक्रमको अध्यक्षता शिक्षालयका अध्यक्ष पर्वतारोही प्रकाश राज पाण्डेले गरेका थिए ।
प्रजातन्त्र दिवसको विशेष दिनमा आयोजना गरिएको उक्त कार्यक्रममा वडाध्यक्ष अमृत खत्री, वडा सदस्यहरुका साथै स्थानीय शिक्षाप्रेमी, बुद्धिजिवी, विद्यार्थीका अभिभावक सहित शिक्षक एवं विद्यार्थी भाइबहिनीहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
सोही कार्यक्रममा शिक्षालयका अध्यक्ष एवं पर्वतारोही पाण्डेलाई हिमाल आरोहणका लागि शिक्षालयले विशेष सम्मान प्रदान गरेको थियो । पाण्डेले यसै फेब्रुअरी महिनामा सेभेन समिट विशेष अभियान अन्तर्गत दक्षिण अमेरिकी महादेशको उच्च हिमशिखर अकोन्कागुआको सफल गरेका थिए ।
सांसद महर्जनले शिक्षालयले ललितपुरमा शैक्षिक विकासमा उत्कृष्ट कार्य गरिरहेकोमा प्रसन्नता व्यक्त गर्दै शिक्षालयले गुणस्तरीय शिक्षाका अतिरिक्त खेल एवं अन्य सह शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेकोले यस शिक्षालयले देशविकासमा योगदान दिनसक्ने व्यक्तित्वहरु तयार गर्न सकोस् भन्ने शुभकामना दिएका थिए ।

शिक्षालयका अध्यक्ष नैं पर्वतारोहणमा संलग्न भएका अदम्य साहसका धनी एवं उच्च विचार राख्ने व्यक्तित्व भएको हुँदा शिक्षालयको विकास सँगसँगै शिक्षालयका बालबालिकाहरुको सर्वांगीण विकास पनि भइरहेको विश्वास व्यक्त गरे ।
महालक्ष्मी नगर वडा नं। ४ का वडाध्यक्ष अमृत खत्रीले वडाको विकासका कार्यसँगै आफ्नो वडामा शिक्षा क्षेत्र पनि आफूले नजिकबाट नियालीरहेको बताउँदै यो शिक्षालयले महालक्ष्मी नगरमा उत्कृष्ट विद्यालयको रुपमा गुणस्तरीय शिक्षा दिइरहेको र वडाका विद्यार्थी एवं अभिभावकहरु लाभान्वित भइरहेकोमा प्रसन्नता व्यक्त गरे । साथै, अभिभावकले पनि आफ्ना बालबालिकाहरुको शिक्षामा चासो राखी विद्यालयसँग सहकार्य गर्न सुझाव पनि दिए ।

शिक्षालयका अध्यक्ष पाण्डेले शिक्षालय महालक्ष्मी नगरमा उत्कृष्ट भएकोमा गौरव गर्दै भविष्यमा थप लगानी बढाउँदै सबैतिर सर्वोत्कृष्ट हुने दिशामा अघि बढिरहेको बताए ।
पर्वतारोहणमा समेत सक्रिय रहेका पाण्डेले अभिभावकहरुलाई पनि विद्यार्थीहरुमा लगानी गर्न विशेष अनुरोध गर्दै विद्यार्थीहरुको विकासका लागि शिक्षालयको प्रयास मात्रै पर्याप्त नहुने भएकोले अभिभावकले आफ्ना बालबालिकाहरुको खानपिन र सिकाईको अवस्थामा ध्यान दिन अनुरोध गरे ।

समारोहमा विद्यालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठले शिक्षा समाज परिवर्तनको संवाहक हो भने अतिरिक्त क्रियाकलाप व्यक्तित्व विकासको सोपान हो’भन्ने मूल मान्यतामा आधारित रही शिक्षालय सञ्चालनमा रहेको बताउँदै अभिभावक दिवसको उपलक्ष्यमा विद्यार्थी, अभिभावक र सरोकारवाला सबैसँग साक्षात्कार गर्ने यो अवसर सम्वद्ध सबैका लागि विशेष रहेको विचार व्यक्त गरेकी थिइन्।
२०६१ सालमा स्थापना भएको शिक्षालयले ललितपुरको मध्य भेगमै गुणस्तरीय शिक्षा प्रदान गर्दै विभिन्न अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गरी विद्यार्थीहरुको सर्वांगीण विकास गर्दै आइरहेको छ ।


Leave a Reply