काठमाडौं । चलचित्र ‘लाज शरणम्’को विवादले टिभी श्रृंखला ‘सक्किगो नि’को पनि प्रसारण रोकिएको छ। पाटन उच्च अदालतले ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि यसको प्रभाव ‘सक्किगो नि’लाई पनि परेको हो।
चलचित्रका लेखक तथा अभिनेता कुमार कट्टेलले प्रचारप्रसारका लागि छायांकन गरिसकिएको ‘सक्किगो नि’को ९१ औं भाग रोकिएको भन्दै आफ्नो सामाजिक संजालबाट जानकारी गराएका छन। यी दुबैको निर्माण जेपीटी क्रिएसनले गरेको हो ।
उनले लेखेका छन्, ‘पाटन उच्च अदालतले हाम्रो चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल ‘सक्किगो नि’को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसात गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’
पूर्वमन्त्री अफताव आलमको रिटमा सुनुवाई गर्दै मंगलबार पाटन उच्च अदालतले चलचित्रको प्रचारप्रसारमा रोक लगाएको थियो । अदालतको आदेशकै कारण बुधबार चलचित्रले युट्युबबाट टिजर र गीत पनि हटाइसकेको छ ।

Leave a Reply