अब अत्यावश्यक परेकाले तत्काल स्मार्ट लाइसेन्स पाउने

काठमाडौं । लामो समयदेखि रोकिएको सवारी चालक अनुमति-पत्र (स्मार्ट लाइसेन्स) अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने भएका छन् । यातायात व्यवस्था विभागले निर्देशिका बनाएर अति आवश्यक परेकाहरुलाई लाइसेन्स प्रिन्ट गरेर दिन थालेको हो ।

निर्देशिका आउनुअघि विदेश जानेहरुका लागि मात्रै तत्काल लाइसेन्स उपलब्ध गराइन्थ्यो । अब भने नेपालमै बस्नेहरुले पनि आवश्यकताअनुसार लाइसेन्स पाउने भएका हुन् ।

नयाँ निर्देशिकाअनुसार लाइसेन्स आवश्यक भएको खुलाएर निवेदन दिनेले ३ दिनभित्रै स्मार्ट लाइसेन्स पाउनेछन् । उक्त व्यवस्था गर्न विभागले अति आवश्यक चालक अनुमतिपत्र छपाइसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।

विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका बनाएको हो ।

निर्देशिकाअनुसार वैदेशिक रोजगार, वैदेशिक अध्ययन, मिसन, गैरआवासीय नेपाली, कूटनीतिक नियोगका पदाधिकारीलगायत सवारी चालक अनुमतिपत्र अत्यावश्यक भएकाले नयाँ लाइसेन्स पाउनेछन् ।

विभागमै उपस्थित भएर वा विभागको वेबसाइटमा गएर लाइसेन्स आवश्यक परेको कारण खुलाई नयाँ लाइसेन्स प्रिन्टको लागि आवेदन दिन सकिनेछ ।

नयाँ लाइसेन्स प्रिन्टका लागि नाम, ठेगाना, नागरिकता वा राष्ट्रिय परिचयपत्र नम्बर, जारी मिति, नवीकरण भएको भए सो मिति, तत्काल आवश्यक पर्नुको कारण खुलाउन पर्नेछ । तत्काल नै प्रिन्ट गर्न नागरिकताको प्रतिलिपि, राजस्व तिरेको सक्कल प्रति र लाइसेन्स आवश्यक परेको पुष्टि हुने कागजात आवश्यक पर्छ ।

सार्वजनिक र सरकारी प्रयोजनको लागि/आबद्ध भएको पेसा र रोजगार/वैदेशिक रोजगारी प्रवेशाज्ञा प्राप्त गर्न/रोजगारीका लागि आवेदन गर्न चालक अनुमतिपत्र अत्यावश्यक भएकाले लाइसेन्स पाउने विभागले जनाएको छ ।

उक्त व्यवस्था भएसँगै यातायात व्यवस्था विभागमा नयाँ लाइसेन्स प्रिन्ट गराउन आउनेको भीड लागेको छ । निर्देशक गणेशमान सिंह राईले विभागले निर्देशिका नै बनाएर अति आवश्यक परेकाहरुलाई लाइसेन्स प्रिन्ट गरेर पुस अन्तिमबाट दिन सुरु गरेको बताए ।

उनले भने, ‘अति आवश्यक परेका सेवाग्राहीहरुले आवश्यक परेको कारण खुलाई लाइसेन्स प्रिन्ट गर्न निवेदन दिन सक्नेछन् । पहिले विदेश जानेहरुले मात्रै नयाँ लाइसेन्स पाउने गरेकोमा अहिले आवश्यक परेकाले कारण खुलाइ निवेदन दिएकाले पनि नयाँ लाइसेन्स पाउनेछन् ।’

विभागले हालसम्म साढे ३८ लाख लाइसेन्स छपाइ गरेर वितरण गरेको छ । अझै ३० लाख सवारी चालक स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका छन् ।

Comments

One response to “अब अत्यावश्यक परेकाले तत्काल स्मार्ट लाइसेन्स पाउने”

  1. RK Avatar
    RK

    २०२२ डिसेम्बर २३ तारिखमा नविकरण गर्न दिएको मेरो सवारी अनुमति पत्र आजका मिति सम्म आइपुगेको रेकर्ड छैन । थुक्क नालायक पातकी सिस्टम बोकेर बसेका भ्रस्ट कर्मचारी हरु ! गुहुको किराहरु ! लाज छैन ! अझै आवश्यक परेकालाई ३ दिन भित्र रे ! के सवारी अनुमति पत्र ले छुट पाईने हो र ! ? नत्र के हो अति आवश्यक ? मृत्यू भै सके पछि पाए पनि के फरक र ? ५ वर्षमा रिन्यू गर्ने नियम नै किन चाहियो ? थुक्क !

Leave a Reply

Your email address will not be published. Required fields are marked *