भन्सार ऐन परिमार्जन गर्न मुद्रण व्यवसायीको माग, १२ अर्ब लगानीलाई संकटमा नपार्न आग्रह

रुपन्देही । दशकौँ वर्ष अगाडिको भन्सार नीति परिवर्तन नभएका कारण नेपालमा कच्चा पदार्थभन्दा बाहिर तयार भएर आउने वस्तुका कारण यहाँका व्यवसायी संकटमा परेको मुद्रण व्यवसायीहरूले बताएका छन् ।

उनीहरूले नेपालमा मुद्रणका लागि कुनै मेशिन तयार नहुँदा बनाएको भन्सार नीति अहिलेसम्म कायम रहँदा यहाँ करोडौँ लगानी गरेर सञ्चालनमा आएका व्यवसायीहरू संकटमा परेको बताएका छन् ।

‘यहाँ कुनै छापाखाना नहुँदा बनेको भन्सार नीति अहिलेसम्म कायम छ, यहाँ करोडौँ लगानी गरेर सयौँलाई रोजगारी दिएका व्यवसायीलाई बाहिर सस्तोमा छापेर आउने र त्यसको भन्सार दर कम हुँदा समस्या भएको हो, यसले सरकारलाई पनि भन्सार घाटा छ, व्यवसायीले पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ’ नेपाल मुद्रण उद्योग महासंघका पूर्वअध्यक्ष माधव केसीले भने ।

मुद्रण क्षेत्रलाई सबलीकरण गर्न छापाखाना सम्बन्धी ऐन बनाउन नेपाल मुद्रण उद्योग महासंघले सरकारसँग माग गर्दै आएको र ऐन नहुँदा मुद्रण क्षेत्र संकटतर्फ धकेलिएको उनको भनाइ छ । दशौं अर्ब लगानी भएको क्षेत्रलाई भन्सार नीतिमा सुधार गर्दै जिटुजी पनि खारेजीको माग गरे ।

महासंघका अध्यक्ष विष्णु तिवारीले सूचना प्रविधिको विकासले मुद्रण क्षेत्र संकटतर्फ धकेलिएको भन्दै सेक्युरिटी प्रिन्टिङ सम्बन्धी काम सरकारी निकायबाट गरे पनि अन्य छपाइको कार्य निजी क्षेत्रलाई खुल्ला प्रतिस्पर्धाबाट गराइनुपर्ने बताए । उनले भने, ‘सरकारी क्षेत्रका पाठ्यपुस्तक पनि खुल्ला प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई छाप्न दिनुपर्छ, मुद्रण शिक्षा सम्बन्धी पाठ्यक्रम तयार गरी अध्यापन गराइनुपर्छ र सार्वजनिक खरिद ऐन संशोधन गर्न आवश्यक छ ।’

महासंघका पूर्व अध्यक्ष माधव केसीले भन्सारमा व्यापक सुधार गर्न आवश्यक रहेको बताए । हाल पाठ्यपुस्तक छपाई पनि राज्य आफैले सञ्चालन गरेको जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भनेर निजी क्षेत्रलाई सीमित पाठ्यपुस्तक मात्र छपाई गर्न अनुमति दिएको केसीले बताए ।

निवर्तमान अध्यक्ष खुमकान्त रेग्मीले मुद्रण पेशामा साना मझौला र ठूला गरी ४ हजार भन्दा बढी उद्योगी व्यवसायीहरू आबद्ध रहेको बताए । यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी १ लाख बढीले रोजगार सृजना गरेको रेग्मीको भनाइ छ । ८५ अर्ब लगानी रहेको यो क्षेत्रमा लुम्बिनी प्रदेशमा मात्रै ३ अर्ब लगानी छ । २०६४ देखि पाठ्यपुस्तक छपाई गर्न अनुमति दिए पश्चात् पाठ्यपुस्तक क्षेत्रमा मात्रै झण्डै १२ अर्ब लगानी थप भएको छ ।

वर्तमान आर्थिक अवस्थाको चरम आर्थिक मन्दी थप लगानीको अनिश्चितता, बजारको खस्किँदो अवस्था, दक्ष जनशक्तिको अभाव बढ्दो लागतले मूल्यका कारण यो व्यवसाय कठिन अवस्थामा पुगेको केसीको भनाइ छ । महासंघको ११ औं साधारणसभा रुपन्देहीको तिलोत्तमामा माघ १२ गते हुन लागेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *