काभ्रे । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेले आफ्नो संगठन स्थापनाको ‘२४ औं सशस्त्र प्रहरी दिवस-२०८१’ को अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
गणले पुस १२ देखि माघ ४ गतेसम्म हरेक दिन फरक-फरक कार्यक्रमहरू आयोजना गरेको थियो । कार्यक्रमअन्तर्गत पाँचखाल नगरपालिका-९ स्थित पलान्चोक भगवती मन्दिरको सरसफाइ कार्यक्रम सम्पन्न गरियो । त्यस्तै आजाद माविमा कक्षा ९ र १० का ६० जना विद्यार्थीलाई महिला सशक्तिकरण तथा आत्मरक्षा सेल्फ डिफेन्ससम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।
त्यस्तै एपीएफ कर्मचारीलाई आन्तरिकरूपमा तथा सर्वमंगला मावि एवं अन्य विभिन्न विद्यालयहरुमा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कक्षा, ४ वटा डेमोस्ट्रेसन तथा २ वटा लागुऔषध दुर्व्यसनी न्यूनीकरणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको थियो ।

वार्षिकोत्सवकै अवसर पारेर पाँचखाल- ३ को ताम्रेश्वर महादेव मन्दिर तथा घाट परिसरमा स्थानीय, जनप्रतिनिधिसमेतको सहभागितामा सरसफाइ र खानेपानी कुवा तथा किरियापुत्री भवनको सरसफाइ गरिएको थियो ।
सामाजिक उत्तरदायित्व बहनको कार्यअन्तर्गत क्षेत्रपाल बुढामहाँकाल मन्दिर परिसरमा भक्तजन तथा स्थानीयको लागि चौतारो निर्माण गरिएको छ । त्यस्तै धुलिखेलस्थित धुलिखेल अस्पतालसँगको सहकार्यमा आयोजित रक्तदानमा ३२ जना एपीएफ कर्मचारीले रक्तदान गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाईँले जानकारी दिए ।


Leave a Reply