सरकारी गाडी चुनावमा प्रयोग भएको भन्दै माओवादी कार्यकर्ताको विरोध (भिडिओ)

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा उपनिर्वाचनलाई लक्षित गरेर सरकारी गाडी प्रयोग गरिएको भन्दै स्थानीय माओवादीका कार्यकर्ताले विरोध गरेका छन् ।

नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि उनीहरुले अवरोध गर्न खोजेका थिए । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी केही समय नियन्त्रणमा लिएपनि तत्काल प्रहरी गएर समाधान गरेको थियो ।

 

आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका वार्ड १ को पतरियामा लुम्बिनी प्रदेश विशेष अधिकार समितिका सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने लु।बा १२९७ नम्बरको लागि उनीहरुले नियन्त्रणमा लिन खोजेका हुन् ।

उक्त गाडीमा प्रदेश सभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्वअध्यक्षझविलाल पोखरेललगायत नेताहरूले एमालेका वडाध्यक्षको उम्मेदवार मोहोम्द ताहिर मुसलमानको पक्ष मत माग्दै हिंडेपछि नियन्त्रण लिएर गाडी प्रहरीको जिम्मा लगाएको स्थानीय रवि ठाकुरले बताए ।

सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताए ।
तर एमाले नेता न्यौपानेले बाटोमा जाँदै गरेको समयमा ५ मिनेट माओवादीका कार्यकर्ताले रोकेको र तत्काल प्रहरी आएपछि समस्या समाधान भएको बताए ।

‘म काम विशेषले गएको थिएँ, ५ मिनेट माओवादीका कार्यकर्ताले रोकेर भिडियो बनाएका हुन्, केही समस्या होइन, मतदाताले सबै बुझेका छन्, यहाँको मुख्य प्रतिस्पर्धा कांग्रेस एमालेबीच नै हो, माओवादीका कार्यकर्ताले इगो राखेर गलत प्रचार गरेका हुन्’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *