काठमाडौं । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले जापान काण्डमा मुछिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई निलम्बन गर्ने एमाले निर्णयको प्रशंसा गरेका छन् ।
उनीमाथि छानबिनका लागि अनुरोध गर्नु यतिसम्म सराहनीय भएको उनको भनाइ छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको, तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लीलावल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानबिनका लागि अनुरोध गरेको छ । यतिसम्म भए पनि एमालेले गरेको कुरा सराहनीय छ ।’
उनले अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हेरिरहेको बताएका छन् ।
नेता कार्कीले थपेका छन्, ‘र, नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनुपर्ने नयाँ छवि, हुर्काउनुपर्ने नयाँ प्रवृत्ति र देखाउनुपर्ने पारदर्शी चरित्रका रूपमा हामी चुकेका छौं । मेरो भागमा पर्ने गल्ती, मौनताका लागि सार्वजनिक रूपमा माफी माग्छु ।’
सहकारी प्रकरण सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलनमा उत्रिरहेको बेलामा रास्वपा नेता कार्कीले नयाँ पार्टी र नेताको रूपमा आफूहरू चुकेको भन्दै सार्वजनिक रूपमा माफीसमेत मागेका छन् ।

Leave a Reply