रास्वपाबाट अवाञ्छित गतिविधि भइरहेको भन्दै एमालेको विरोध, सांसदहरूको उपस्थिति गैरकानूनी भएको जिकिर

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपाले गरिरहेको प्रदर्शनलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव शंकर पोखरेलको हस्ताक्षरमा एमालेद्वारा जारी विज्ञप्तिमा संसदमा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहणगरी कार्यान्वयनको क्रममा प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिरूमाथि भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरिएको छ ।

पोखरामा रविको पक्षमा भइरहेको प्रदर्शनमा निषेधाज्ञाबीच रास्वपाका सांसदहरूको उपस्थिति गैरकानूनी भएको एमालेको निचोड छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र सेवकलाई कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँचजना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थिति हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैरकानूनी कार्य हो ।’

मुलुकी अपराध संहिताले सार्वजनिक पद धारण गरेको व्यक्तिले कर्तव्य पालना गर्ने क्रममा कसैले बाधा पुर्‍याउने वा निजलाई कुनै गैरकानुनी काम गर्न लगाउने नियतले कुनै काम गरेमा त्यस्तो कार्य दण्डनीय मानेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

संसदीय समितिले सर्वसम्मतरूपमा औंल्याएका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी प्रधानमन्त्री र सरकारका निकायविरूद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौच गर्ने र गलत आक्षेप लगाएर अस्वस्थ वातावरण सिर्जना गरिएको भन्दै उक्त पार्टीले विरोध जनाएको छ ।

Comments

One response to “रास्वपाबाट अवाञ्छित गतिविधि भइरहेको भन्दै एमालेको विरोध, सांसदहरूको उपस्थिति गैरकानूनी भएको जिकिर”

  1. ksp pyl Avatar
    ksp pyl

    किन ? विरोध प्रदर्श गर्न पाईदैन ? ओलिलाई यसरी नै समात त एमालेका तिघ्रेहरूको चर्तिकला कस्तो हुँदो रहेछ हेरौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *