अझै सुचारु भएन सोलार बत्ती : अन्धकारमा गिरीचौका

डोटी । गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम लामो समयसम्म पनि भुक्तानी नदिएको भन्दै निर्माण कम्पनीले बन्द गरेको सौर्य उर्जा प्लाण्ट अझै सञ्चालनमा आउन सकेको छैन ।

पटक–पटक आग्रह गर्दा पनि भुक्तानी नदिएको भन्दै कम्पनीले गत वैशाख २८ गतेदेखि विद्युत आपुर्ति बन्द गरेको थियो । भुक्तानी नदिँदासम्म विद्युत आपुर्ति सुचारु नगर्ने निर्माण कम्पनी घाम पावर प्रालिको अडान छ ।

‘आज गाउँपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई पत्र लेखी जेठ मसान्तसम्म भुक्तानी दिने प्रतिवद्धता गरेको रहेछ’ नेपाल प्रेससँग कुरा गर्दै निर्माता कम्पनी घाम पावर प्रालिका प्रतिनिधि जीवन तोयना भन्छन् ‘अब जुन दिन भुक्तानी हुन्छ, सोही दिन विद्युत आपुर्ति सुचारु हुन्छ ।’ गाउँपालिकाले पटक पटक आफुहरुलाई आश्वासन मात्रै दिएको भन्दै अब विश्वास गर्न नसकिने बताए ।

‘पत्र आईसकेपछि हाम्रो कम्पनी र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच छलफल भयो’ तोयना भन्छन् ‘तर हामीले जुन दिन भुक्तानी हुन्छ, सोही दिन विद्युत सुचारु गर्ने निश्कर्ष निकाल्यौं ।’

सोमबार गाउँपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई पठाएको पत्रमा बिविध कारणले जेठ मसान्तभित्र भुक्तानी दिने प्रतिवद्धता जनाइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यशौदा देवी ओझाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘यस पालिकाले हाल्ने रकम हालसम्म विविध कारणले हाल्न नसकेकोमा उक्त रकम यही २०८१ साल जेठ मसान्तसम्म भुक्तानी हाल्ने व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।’

यस्तो बनेको थियो प्लाण्ट

आदर्श गाउँपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा गाउँपािलकाको वडा नं. १ खतेडामा ८० किलोवाट क्षमताको सौर्य उर्जा प्लाण्ट स्थापना भएको थियो । २०७७ सालदेखि सौर्य उर्जा निर्माण प्रक्रिया सुरु भई २०७९ साल चैत्र ६ गते विद्युत आपुर्ति सुरु भएको थियो । प्लाण्ट स्थापनामा लाग्ने कुल लागतको ९० प्रतिशत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र १० प्रतिशत आदर्श गाउँपालिकाले व्यहोर्नु पर्ने गरी गाउँपालिकासँग सम्झौता भएको थियो ।

‘गाउँपालिकाले व्यहोर्नु पर्ने रकम अग्रिम भुक्तानी दिनु पर्ने सम्झौता भएको तर गाउँपालिकाले विद्युत उत्पादन भएको एक वर्ष तीन महिना बितिसक्दा पनि भुक्तानी नदिएको प्लाण्ट स्थापनाको जिम्मेवारी पाएको कम्पनी घाम पावरका प्रतिनिध तोयना बताउँछन् ।

कुल पाँच करोड ४० लाखको लागतमा निर्माण भएको प्लाण्टमा गाउँपालिकाले भुक्तानी गर्नु पर्ने ५४ लाखमध्ये ३० लाख २०७८÷०७९ मा भुक्तानी भएको र बाँकी २४ लाख रुपैयाँ भुक्तानी नभएको निर्माण कम्पनीको दावी छ ।

प्लाण्ट बन्द भएपछि विद्युत उपभोग गर्दै आएका २ सय ८६ घरधुरी अन्धकारमा छन् । विद्युत आपुर्ति बन्द हुँदा २ कुटानी पिसानी मिल, विद्यालय, गिरीचौका स्वास्थ्य चौकी, सिलाई सेण्टर, स्वास्थ्य क्लिनिक र स्थानीय पसलहरु समेत प्रभावित भएको प्लाण्टका अपरेटर पदमबहादुर खडायत बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *