विराटनगर । धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएका छन् । धरानका मेयर हर्क साम्पाङ्ग प्रधानमन्त्री धरान आाउने भए मात्र उनकाे तस्तिर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए ।
धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएकाे छ । त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथिबिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी हर्कले गरेका छन् ।
धरान स्थापना दिवसको अवसर पारेर सुरु गर्न लागिएको धरान उत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरिएकाे थियाे ।
प्रधानमन्त्रीले समय उपलब्ध नगराएपछि साम्पाङ्गले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका थिए । प्रधानमन्त्रीले आफूलाई अपमान गरेकाले तस्बिर हटाएको उनले बताउँदै आएका छन् ।
तस्बिर राख्न गएका दलका भ्रातृ सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रोकेपछि भएको वार्तामा समेत साम्पाङ्गले प्रधानमन्त्रीलाई बोलाए मात्र तस्बिर राख्ने बताएका थिए ।
धरान उत्सवका लागि मङ्सिरको १७ गतेबाटै तयारी थालिएको बुधवार भएको पत्रकार सम्मेलनमा मेयर हर्क साम्पाङ्गले बताए । उनले उत्सव उद्घाटनको अवसर पारेर पुस १९ गते नै सरसफाइ आयोजना गरिने जानकारी दिए। भोटे पुलमा रहेका हिमालयन पेट्रोल पम्पदेखि तिनकुनेसम्म सरसफाइ गरिने छ ।
धरान उत्सव भने पुस २० गते नै उद्घाटन गरिने छ । सो अवसरमा र्याली आयोजना गरिने तथा २१ गते साइक्लिङ, साहित्यिक सम्मान गर्ने कार्यक्रम तय भएको छ।
पुस २२ गते वाकथन र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिने छ । धरान उत्सवको अवसरमा लोकदोहोरी प्रतियोगिता र लगानी गोष्ठी समेत आयोजना गरिने तयारी भएको छ ।
उत्सवका बारेमा आवश्यक छलफल र तयारी नभएको भन्दै धरानमा मेयर साङ्गोपाङ्ग विरोध भइरहेको छ । धरानका उप प्रमुख आइन्द्र विक्रम बेघाले आवश्यक तयारीका विषयमा आफूलाई नभई मेयर सोध्न आग्रह गरे । उनले भने, ‘को प्रमुख अतिथि आउनु हुन्छ ? उहाँलाई थाहा छ । हामी धरान उत्सव मनाउने विषयमा भने एक छाैं ।’

Leave a Reply