सुब्बाको ४ वर्षको कमाइ ६ करोडभन्दा बढी

काठमाडौं । एकजना सुब्बा सरहका कर्मचारीले ४ वर्षको जागिर अवधिमा गैरकानुनीरूपमा ६ करोडभन्दा बढी कमाइ गरेको ठहरसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भण्डारी २०७३ असोज २१ गते रा. प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सेवा प्रवेश गरी २०७७ साउन १ मा स्वेच्छिक अवकाशमा गएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनको र श्रीमती समेतको जम्मा आम्दानी र खर्चको हिसाब गर्दा २६ लाख ६१ हजार ६३६ रूपैयाँ मात्र आम्दानी गरेको देखिए पनि ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसाको स्रोत नखुलेकोले सो रकमबमोजिम बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

‘निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु.२६,६१,६३६।०९ आय आर्जन गरेको, निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु. ६,५०,६५,६४२।५३ खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जन रु. २६,६१,६३६।०९ मा निजले गरेको कुल खर्च तथा लगानी (व्यय) रु.६,५०,६५,६४२।५३ घटाउँदा हुन आउने रु. ६,२४,०४,००६।४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा…आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ‘, अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

Comments

One response to “सुब्बाको ४ वर्षको कमाइ ६ करोडभन्दा बढी”

  1. Madhav Poudel Avatar
    Madhav Poudel

    नर्मल हो नि हजुर त्यो त, यहाँ २, ४ बर्षमा अर्व कमाउने छन् ति कर्मचारीलाई त दोसल्ला ओडाएर सम्मान गरेर बिदाई गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *