इन्जुरी समयमा रासफोर्डको गोल, तीन महिनापछि म्यानचेस्टर युनाइटेड शीर्ष चारमा

एजेन्सी । मार्कस रासफोर्डले खेलको इन्जुरी समयमा गोल गर्दै जित दिलाएपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ राङनिक क्लबलाई लयमा फर्काइरहेको संकेत दिन सफल भएका छन्।

युनाइटेडले शनिबार राती घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० गोलले हराएको हो। इन्जुरी समयको तेस्रो मिनेटमा रासफोर्डले एडिन्सन काभानीको पासमा गोल गरेका थिए। यी दुवै खेलाडी दोस्रो हाफमा मैदान छिरेका हुन्। खेल सकिन ३० सेकेन्ड मात्र बाँकी रहेका अवस्थामा रासफोर्डले गोल गरेका थिए।

राङनिकले प्रशिक्षण सम्हालेयता म्यान युनाइटेडले प्रिमियर लिगमा पहिलोपटक लगातार जित हात पारेको हो। यसैगरी तीन महिनापछि पहिलोपटक अंक तालिकाको शीर्ष चार भित्र पनि प्रवेश गरेको छ।

२२ खेलबाट ३८ अंक भएको म्यान युनाइटेड तालिकाको चौथो स्थानमा छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २३ खेलबाट ५७ अंक छ। दोस्रो स्थानको लिभरपुलको २१ खेलबाट ४५ र तेस्रो स्थानको चेल्सीको २३ खेलबाट ४४ अंक छ।

गत डिसेम्बरमा राङनिकले जिम्मेवारी सम्हालेयता म्यान युनाइटेडले १० खेल खेलेकामा एउटामा मात्र हार ब्यहोरेको छ। म्यान युनाइटेडले पछिल्ला १३ खेलमा ८ जित, ४ बराबरी र एक हारको नतिजा निकालेको छ। यसबीचमा प्रिमियर लिगमा ६ जित, ३ बराबरी र एक हारको नतिजा निकालेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *