क्यानको कारबाहीले क्रिकेट टिममा हलचल, सन्दिपसँग खेलाडीहरुको ‘कोल्ड वार’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि आक्रामक कारबाही गरेसँगै नेपाली क्रिकेट जगत हल्लिएको छ । कारबाहीमा परेका खेलाडी स्तब्ध बनेका छन् भने अधिकांश क्रिकेट समर्थकले सामाजिक सञ्जालमा क्यानको आलोचना गरेका छन् ।

क्यानले हिजो ज्ञानेन्द्रलाई कप्तानबाट हटाउँदै सन्दिप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको थियो । नयाँ कप्तान बनेका सन्दिपले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । अरूबेला सामाजिक सञ्जालमा विभिन्न पोष्ट गरिरहने उनले क्यानको निर्णयबारे भने अर्थपूर्ण मौनता साँधेका छन् । क्यानको निर्णय आएपछि सन्दिपको फेसबुक खाता नै डिएक्टिभ गरिएको छ । ट्विटर र इन्स्टामा पनि उनले केही लेखेका छैनन् ।

त्यस्तै, कारबाहीमा परेका चार खेलाडीबाट पनि कुनै औपचारिक भनाइ सार्वजनिक भएको छैन । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हिजोदेखि नै मोबाइल स्वीच अफ गरेर बसेका छन् । स्वीच अफ नगरेकाहरु पनि बोल्न चाहँदैनन् ।

बरु क्यानकै केही बोर्ड सदस्यले भने कारबाहीप्रति सार्वजनिकरुपमा असहमति व्यक्त गरेका छन् । बोर्ड बैठकमा समेत ६ जना सदस्यहरुले निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए । उनीहरुको असहमतिका बाबजुद बहुमतका आधारमा निर्णय गरिएको थियो ।

केही क्रिकेट खेलाडीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि प्रकट गरेका छन् । उनीहरुले क्यानको निर्णय सेयर गर्दै फेसबुकमा ‘आइ एम डन’ (मलाई पुग्यो) भन्दै सन्देश पोष्ट गरेका छन् । राष्ट्रिय टिमका क्रिकेटरहरु करण केसी, कुशल भुर्तेल, आरिफ सेख, इशान पाण्डेलगायतले यस्तो पोष्ट गरेका हुन् ।

यसैगरी सोमपाल कामीले आफ्ना असन्तुष्टि जनाउन कालो ब्याकग्राउन्ड पोष्ट गरेका छन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पूर्वउपकप्तान दिपेन्द्र ऐरीले भने सामाजिक सञ्जालमा केही पनि लेखेका छैनन् ।

‘अनफलो काण्ड’

क्यानले नयाँ कप्तान नियुक्त गरेका सन्दिप लामिछानेसँग अन्य खेलाडीहरुको ‘कोल्ड वार’ देखिएको छ । पूर्वकप्तान पारस खड्का समेतले फेसबुकमा सन्दिपप्रति छेडखानी गरेका छन् ।

इन्स्टामा सन्दिपलाई केही खेलाडीहरुले अनफलो गरेको पाइएको छ । सन्दीपलाई इन्स्टामा पारससहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समेत अनफलो गरेका हुन् । सन्दिपले उनीहरुलाई फलो गरेका छन् । ट्विटरमा भने सन्दिप र पारसले एक–अर्कालाई फलो गरेका छन् । केही समयअघि ट्विटरमा सन्दिपले पारसलाई अनफलो गर्दा हंगामा भएको थियो ।

आज बिहान पारसले फेसबुकमा एउटा पोष्ट गरेका थिए, जसलाई सन्दिपप्रति लक्षित ठानेर समर्थकहरुले आलोचनासमेत गरे । त्यसपछि उनले सो पोष्ट हटाएका छन् । उक्त पोष्टमा इन्स्टामा कसरी लाइक्स बढाउने र लोकप्रियता पाउने भन्ने टिप्स उल्लेख थियो ।

पारस भन्छन्– अहिले बोल्दिनँ

खेलाडीहरुमाथिको कारबाहीलाई लिएर हामीले पूर्वकप्तान पारस खड्कासँग प्रतिक्रिया मागेका थियौं । उनले अहिले आफूले बोल्नु हतारो हुने बताए ।

‘यो विषयमा खेलाडीहरु नै अगाडि आउनुपर्छ,’ उनले भने, ‘मैले अगाडि बोल्दा अनेक अर्थ लगाएर व्याख्या गरिन्छ ।’ उनले खेलाडी र क्यानबीच सौहार्दता हुनुपर्नेमा जोड दिए ।

सन्दिपको कप्तानी अस्वीकार्य ?

खेलाडीहरुको पछिल्लो रवैयाले उनीहरु सन्दिपलाई कप्तान स्वीकार्न तयार नरहेको झल्किन्छ । सन्दिपभन्दा सिनियर धेरै खेलाडीहरु टिममा रहेकाले उनलाई स्वीकार्न कठिन भएको हो ।

क्यान स्रोतका अनुसार हिजोको बैठक अगाडि नै सन्दिपलाई नयाँ कप्तान बनाउने गरी चाँजोपाँचो मिलाइएको थियो । बैठकमा सन्दिपको नाम आएपछि यो विषयमा धेरै छलफल भएन । कारबाहीमै असन्तुष्टि व्यक्त गरेका बोर्ड मेम्बरहरुले भावी कप्तानमा चासो दिएनन् ।

संघले सन्दिपसँग छलफल गरेर नै उनलाई कप्तानमा अघि सारेको हो । यद्यपि, क्यानको निर्णयबाट खेलाडीहरु भने अचम्भित बनेका छन् । टिममा ज्ञानेन्द्रसहित शरद भेषवाकर, विनोद भण्डारी, सोमपाल कामीजस्ता पुराना खेलाडीहरु छन्, जसलाई सन्दिपको नेतृत्व स्वीकार्न कठिन हुन सक्छ ।

टिममा आउलान् चार खेलाडी ?

क्याले ४ जना खेलाडीसँग २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्राक्ट नगर्ने निर्णय गरेको छ । यसको अर्थ ती खेलाडीले त्यस अवधिमा कुनै पारिश्रमिक पाउने छैनन् । अब प्रश्न उठ्छ, के सेन्ट्रल कन्ट्राक्टमा नसमेटिए पनि ती खेलाडीले राष्ट्रिय टिमबाट खेल्न सक्छन् ?

राष्ट्रिय टिमबाट खेल्नका लागि क्यानको सेन्ट्रल कन्ट्राक्टमा पर्नुपर्ने वाध्यता हुँदैन । तर, टिमका सिनियर खेलाडीहरु अपमानजनक रुपमा पारिश्रमिकबिना ६ महिना खेल्न तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न हो । यो खेलाडीहरुले नै निर्णय लिने कुरा हो ।

चार खेलाडीहरुलाई साथ दिँदै टिमका अरु खेलाडीहरुले पनि सामूहिक विद्रोह नगर्लान् भन्न सकिन्न । सामाजिक सञ्जालमा ऐक्यबद्ध भएर ‘आइ एम डन’ लेख्नुले त्यही सम्भावनालाई दर्शाउँछ । यदि त्यसो भएको खण्डमा नेपाली क्रिकेट अर्को संकटमा फस्नेछ ।

क्यानको अदूरदर्शी निर्णय अन्ततः उसैका लागि बोझ बन्न सक्छ । अर्कोतर्फ क्रिकेट समर्थकहरुको पनि दबाब क्यानलाई पर्यो भने निर्णय फिर्ता लिनुको विकल्प हुँदैन ।

Comments

4 responses to “क्यानको कारबाहीले क्रिकेट टिममा हलचल, सन्दिपसँग खेलाडीहरुको ‘कोल्ड वार’”

  1. rai manoj Avatar
    rai manoj

    पदाधिकारीहरु डाकू हुन भन्ने राम्रोसँग थाहा भएकै हो, ईतिहास नै छ।

  2. KP Avatar
    KP

    Yesta pataki harule CAN samhalepachi yestai huncha, thukka chutiyahru ? Balla cricket ma kehi hola ki bhanne hope badhdai thiyo, feri bhatabhunga. Desh ka lagi marera khelne kheladi ko kamai and kursi ma basera manomani garne ko kamai herau na, ani yesta chor haru le kehi ramro garlan bhanera kasari biswas garne ?

  3. ar bhat Avatar
    ar bhat

    जसले नेपाली कृकेट लाई आजको दिनसम्म पर्यायो उनैलाई अपमानजनक तरिका ले कारबाहि गर्नु क्यान ठूलो कमजोरि हो यो निर्णय बाट क्यान पछाडि हट्नु पर्छ।क्यान😡😡

  4. Devendrapaudel Avatar

    Can murdabad, nepali kheladi jindabad. Aba sabai cricket fans haru jagau. Ati bhayo

Leave a Reply

Your email address will not be published. Required fields are marked *