नेपाल-भारतबीच सैन्य मामिलामा सहकार्य गर्नेबारे छलफल

काठमाडौं । सुरक्षा मामिलाबारे छलफल गर्न बसेको नेपाल-भारत द्धिपक्षीय परामर्श समूहको दुईदिने बैठक आज (बिहीबार) भारतको बैंग्लोरमा सम्पन्न भएको छ ।

बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सुरक्षा बलको तालिम तथा क्षमता वृद्धि, विपद व्यवस्थापनमा सहकार्य, भारतमा नेपाली सैनिकलाई तालिममा कोटा थप गर्नुपर्ने, नेपालले भारतबाट हतियार तथा सैनिक सामाग्री आपूर्ति समयमै गर्नुपर्ने लगायतका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

साथै विज्ञता आदानप्रदान, उच्चस्तरीय भ्रमण आदानप्रदान, संयुक्त हिमाल आरोहण तथा खेलकुद गतिविधिमा सहकार्य र सूचना आदानप्रदानका विषयमा पनि छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतीय डेलिगेसनको नेतृत्व भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने अधिकारी अनुराग श्रीवास्तव र नेपाली डेलिगेसनको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख तीर्थराज वाग्लेले गरेका थिए ।

नेपाल तथा भारत सरकारबीच सेनाका विषयमा नियमित रुपमा छलफल गर्ने यो संयन्त्र २०६० सालमा गठन भएको थियो । परामर्श समूहको यो १४ औं बैठक तीनवर्षपछि बसेको हो । १३ औं बैठक काठमाडौंमा बसेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *