रोल्पामा गगन थापालाई किन प्रस्ताव गरे कांग्रेस प्रदेश सभापति पुनले ?

रुपन्देही । नेपाल कांग्रेस लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनको एक मात्र क्षेत्र रहेको जिल्ला हो रोल्पा ।

उनले यहाँ चाहँदासम्म एकल रूपमा आफ्नो नाम सिफारिस पठाउन सक्थे तर कांग्रेस महामन्त्री गगन थापाको नाम उनले सिफारिस गरेर पठाएपछि अहिले यो विषयले चर्चा पाएको छ ।

पुनले थापाको नाम प्रस्ताव गरेर चर्चा पाउन गरेका हुन् या साँच्चिकै उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् भन्ने विषय अहिले कांग्रेस वृत्तमा बहस बनेको छ ।

त्यसो त रोल्पा कांग्रेसको बलियो क्षेत्र होइन । तत्कालीन माओवादी हाल नेपाली कम्युनिष्ट पार्टीले आफ्नो आधार इलाका मानेको यो क्षेत्रमा ०७९ सालको प्रदेश सभाको निर्वाचनमा माओवादीसमेत ५ दलको समर्थन पाउँदा पनि पुन निर्वाचन हुन सकेका थिएनन् ।

माओवादीबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन सिजलले उनलाई पराजित गरेका थिए । यद्यपि उनी पछि माओवादीमै प्रवेश गरेका छन् ।

रोल्पा कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका लागि नेपाली कांग्रेस महामन्त्री गगन थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, सफल युवा व्यवसायी डा. मन्दिप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरेको नेपाली कांग्रेस रोल्पाले सार्वजनिक गरेको छ ।

रोल्पाबाट तत्कालीन माओवादी हाल नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, नेतृ ओनसरी घर्तीलगायत माओवादीका शीर्ष नेताहरूको गृह जिल्ला हो । अहिले जिल्लामा गगनले किन यस्तो विषयमा प्रवेश गरे वा कांग्रेस सभापतिले नसोधी गरे भन्ने विषय चर्चामा छ ।

पुनले महामन्त्री थापालाई सम्मान गरेरै नाम प्रस्ताव गरेको बताउँदै थापाले चाहेसम्म जसरी पनि ल्याउने बताएका छन् । उनका स्वकीय सचिव अनुपम जिसीले भने ‘महामन्त्री थापालाई रोल्पाबाट उम्मेदवारको लागि प्रस्ताव गरेको सत्य हो, अहिले त अरू पनि सिफारिसमा हुनुहुन्छ उहाँले चाहे एकल बनाउन सक्छौं, प्रदेश सभापतिले यसको स्वागत गर्नुहुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *