अमेरिका–नेपाल टेक साझेदारी सुदृढ बनाउन ‘स्केलिङ इन्नोभेसन्स’ संवाद

काठमाडौं । नेपाल र अमेरिकाबीच प्रविधिका क्षेत्रमा साझेदारी बढाउने उद्देश्यले अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले ‘स्केलिङ इन्नोभेसन्स’ संवाद आयोजना गरेको छ । एम्च्याम नेपालको १९औँ लर्निङ सिरिजअन्तर्गत सदस्य कम्पनी एडेक्स टेकबेमा प्रविधिको इकोसिस्टमलाई व्यावसायिक प्लेटफर्महरूसँग जोड्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरेको हो ।

त्यस अवसरमा विज्ञहरूले ‘स्केलिङ एथिकल एन्ड इनोभेटिभ एआई एडप्सन इन ग्लोबल मार्केट्स’ विषयमा धारणा प्रस्तुत गर्दै दुवै देशका नवप्रवर्तकहरूले सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । एमच्याम नेपाल र आद्यन्ता एड्भाइजरीको सहकार्यमा आयोजित कार्यक्रममा एडेक्स–टेकबेका सह–संस्थापक बैभव खड्काले एआईको प्रयोगले प्रविधिको उद्योगमा ल्याउन सक्ने रूपान्तरणबारे प्रस्तुति दिएका थिए । उनले विश्व बजार तीव्र रूपमा एआई–केन्द्रित बन्दै गइरहेको उल्लेख गर्दै चुनौतीसँगै अवसरलाई उपयोग गर्न सके नेपाललाई नैतिक र नवप्रवर्तनशील एआई हबका रूपमा स्थापित गर्न सकिने धारणा राखे ।

नेपालस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइक हार्करले एआई नवप्रवर्तन नेपाल–अमेरिका टेक साझेदारी मजबुत बनाउन महत्त्वपूर्ण आधार भएको बताए । आद्यन्ता एडभाइजरीकी प्रबन्ध निर्देशक स्तुति बस्न्यातले अमेरिकी प्लेटफर्म, लगानी च्यानल र अन्तर्राष्ट्रिय अवसरहरूसँग नेपाली संस्थापकहरूलाई जोड्ने लक्ष्यसहित प्लेटफर्म निर्माण गरिएको बताइन् ।

संवादका क्रममा वक्ताहरूले विश्व बजारमा एआई प्रतिस्पर्धा तीव्र बन्दै गएपछि नेपालले पनि एआईसँग सम्बन्धित सीप विकास र उद्योग विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । नेपाललाई ‘टेक र एआई हब’ को रूपमा ब्रान्डिङ गर्दै स्टार्टअप तथा स्केल–अप कम्पनीहरूको पुँजी विस्तारका लागि आवश्यक कदम चालिनुपर्नेमा उनीहरूको जोड थियो ।

सहभागीहरूले नेपाल अमेरिकाका लागि ‘बुटिक ट्यालेन्ट हब’ बन्न सक्ने सम्भावनाबारे पनि छलफल गरेका थिए ।

एमच्याम नेपालका कार्यकारी निर्देशक अमिर आर थापाले मेम्बर लर्निङ सिरिजमार्फत आयोजित कार्यक्रमहरूले नेपाल–अमेरिका वाणिज्यिक सहकार्यलाई प्रत्यक्ष रूपमा बढाएको बताए । उनका अनुसार, यस्ता पहलहरूले दुवै देशबीच साझा आर्थिक समृद्धि निर्माण गर्ने आधार तयार गर्नेछन् ।

नेपाली युवाद्वारा स्थापना गरिएको क्लाउड कन्सल्टिङ तथा टेक कम्पनी एडेक्स इन्टरनेशनल २०२२ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । कम्पनीले मल्टी–क्लाउड माइग्रेशन, सुरक्षा, लागत व्यवस्थापन, अटोमेसन र आधुनिक आइटी इन्फ्रास्ट्रक्चर निर्माणजस्ता सेवा प्रवाह गरिरहेको छ । कम्पनीले खल्ती, सानिमा बैंक, उपाय, एनआईसी एशिया क्यापिटलसहितका संस्थाहरूसँग काम गर्दै आएको छ । एडेक्सले ६० भन्दा बढी रोजगारी सिर्जना गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *