सामाजिक सुरक्षा कोष र सीएनआईबीच समझदारी, करिब ७ हजार उद्योग सामाजिक सुरक्षाको दायरामा आउँदै

काठमाडौं । सामाजिक सुरक्षा योजनामा आबद्धता विस्तार गर्ने उद्देश्यसहित सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।

मङ्गलवार आयोजित औपचारिक कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र उद्योग परिसंघका महानिर्देशक डा।घनश्याम ओझाले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा कोषका अध्यक्ष डा. कृष्णहरी पुष्कर उपस्थित थिए ।

समझदारी अनुसार सीएनआईले आफ्नो आबद्धतामा रहेका सबै संघ संस्था, प्रतिष्ठान तथा उद्योगलाई श्रम ऐन, २०७४ अन्तरगत योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सक्रिय भूमिका निर्वाह गर्नेछ ।

उद्योग क्षेत्रलाई दायरामा ल्याउनु सामाजिक सुरक्षा प्रणालीलाई व्यापक, समावेशी र प्रभावकारी बनाउने महत्त्वपूर्ण कदम भएको दुवै संस्थाको विश्वास छ ।

समझदारी अनुसार सामाजिक सुरक्षा कोषले सीएनआइको सहकार्यमा सामाजिक सुरक्षा योजनाबारे सचेतना कार्यक्रम, तालिम तथा अभिमुखीकरण, उद्योग र श्रमिकलाई आवश्यक प्राविधिक तथा सूचनात्मक सहयोग नियमित रूपमा सञ्चालन गर्नेछ ।

कोषले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, दुवै संस्थाको सहकार्यले रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्ने गति तीव्र बनाउनेछ ।

आठौँ सामाजिक सुरक्षा दिवसको नारा ‘सामाजिक सुरक्षा: सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा’ अनुसार योजना विस्तारको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास कोषले व्यक्त गरेको छ । कोषले सामाजिक सुरक्षा योजनाको प्रभावकारिता वृद्धि गर्न उद्योग–व्यवसाय क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको जनाएको छ ।

सीएनआइका वरिष्ठ निर्देशक राजीव मजगैयाँका अनुसार सीएनआई अन्तरगत काठमाडौं उपत्यकामा ठुला, मझौला तथा साना गरेर करिब साढे ३ सय उद्योग आबद्ध छन् भने सातै प्रदेशमा गरेर करिब ७ हजार जति आबद्ध छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *