
रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ५ मा हिजो गरिएको उम्मेदवार सिफारिसका विषयमा नेपाली कांग्रेसको संस्थापन र इतर पक्षले अलग अलग नाम सिफारिस गरेका छन् ।
संस्थापन पक्षले नेता भरत शाहको नाम अर्को पक्षलाई खबर नै नगरी एकल सिफारिस गरेसँगै इतर पक्षले अलग्गै नाम केन्द्रमा पठाएको हो ।
कांग्रेसका विभिन्न क्षेत्रीय समितिले सोमबार प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस गरेका छन् । हरेक क्षेत्रबाट ३ जनासम्म उम्मेदवारको सिफारिस गरी जिल्लालाई पठाउनुपर्ने भए पनि रुपन्देही ५ बाट संस्थापन पक्षले पूर्व अर्थराज्यमन्त्री रहेका र तीन पटक प्रतिनिधि सभामा निर्वाचित भरतकुमार शाहको नाम एकल सिफारिस गरेपछि विवाद बढेको हो । उनी ०७९ सालको निर्वाचनमा ५ दलीय गठबन्धन गरेर पनि फराकिलो मतान्तरमा एमालेका वासु घिमिरेसँग पराजित भएका थिए ।
संस्थापनले निषेधको राजनीति गरेको भन्दै इतर समूहले नेता विष्णु पोखरेलसहित तीनजनाको नाम केन्द्रीय कार्यालयलाई पठाएको जनाएको छ । उम्मेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित गराउनुपर्ने कांग्रेसको विधानमा उल्लेख भए पनि भरतकुमार शाह पक्षले आफूहरूलाई उपस्थित नै नगराई एकलौटी सिफारिस गरेको इतर पक्षका नेता पोखरेलको आरोप छ ।
उनले यस्तो अवस्थामा पनि पार्टीमा निषेधको राजनीति गर्ने भन्दै आपत्ति जनाए । उनका अनुसार शाहको नाम सिफारिसमा पार्टीको कमिटीमा पूर्ण छलफल नै भएको थिएन र खबर नै सबैलाई गरिएको थिएन । क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले पनि यसप्रति आपत्ति जनाएका छन् । क्षेत्रीय समितिले अनिवार्य रूपमा महासमिति सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिलाई सहभागी गराई सिफारिस गर्नुपर्नेमा रुपन्देही क्षेत्र नम्बर ५ मा आफू अनुकूलका प्रतिनिधिलाई मात्रै खबर गरिएको शर्माको जिकिर छ ।
इतर पक्षले पोखरेलका साथै महाधिवेशन प्रतिनिधि तथा पूर्व क्षेत्रीय सचिव प्रकाश भुसाल र महाधिवेशन प्रतिनिधि लीलाकुमारी पौडेलको नाम सिफारिस गरेको छ । यता रुपन्देही ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले बैठकमा शाहको नाम मात्र प्रस्ताव आएको र कसैले विरोध नगरेकाले एकल सिफारिस गरिएको दाबी गरे । यस्तै संस्थापन पक्षले समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिवुल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रियसभामा सूर्यमति उपाध्याय र शेषमन यादवलाई सिफारिस गरिएको छ ।
इतर पक्षले प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ अधिवक्ता शेषमन यादव, डोलबहादुर थापा, दिलमाया कँडेल, खडानन्द खनाल र सीता पोखरेल तथा राष्ट्रियसभामा रघुनाथ घिमिरे, इन्द्रबहादुर जीसी र कल्पना ढकाललाई सिफारिस गरेको छ ।
यसैगरी रुपन्देही ४ बाट नेता प्रमोद यादवको नाम एकल रूपमा सिफारिस भएको छ । उनी यसअघि पनि सोही क्षेत्रमा प्रतिस्पर्धा गरेर सर्वेन्द्रनाथ शुक्लसँग पराजित भएका थिए ।
उता क्षेत्र नं २ मा प्रकाश राना, युवराज गिरी, कुमार केसी, प्रजापाल गिरी र चुन्नु पौडेलको नाम सिफारिस गर्न नाम आएको छ । रुपन्देही ३ मा भने केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ७ जनाको नाम परेपछि सोमबार कुनै निर्णय भएन ।
क्षेत्रीय सभापति सुशील गुरुङका अनुसार समानुपातिकमा पनि ७ जना र प्रत्यक्षमा पनि ७ जनाको नाम आएपछि सहमतिका लागि मङ्गलवार पुनः बैठक बसिरहेको र केहीले फिर्ता लिने क्रम जारी रहेकाले आधिकारिक टुंगो लागेपछि बाहिर ल्याउने जनाए ।
उनकाअनुसार यहाँबाट पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम समेटिएको छ । उनी भुटानी शरणार्थी प्रकरणमा मुद्दा खेपिरहेका छन् । पहिले पुर्पक्षका लागि थुनामा रहे पनि पछि धरौटीमा रिहा भएका हुन् ।

Leave a Reply