सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

सिन्धुली । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जुनारको प्रचारप्रसार र पक्की सडक निर्माणको आवश्यकतालाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा किसानहरुले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवका अवसरमा कृषक र विज्ञबीच बगैँचामा जुनार प्रवर्द्धनसम्बन्धी छलफल हुनेछ । उद्घाटन सत्रमा सहभागी जनप्रतिनिधिले किसानका समस्या समाधानमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । नेपालको पहिचानको रुपमा उत्पादन भइरहेको जुनारको बजारसम्म पहुँच विस्तार गर्न केन्द्रीय सरकारसँग उनीहरुको आग्रह छ ।

गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार–सुन्तलाले पहेँलपुर छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीकारुपमा लगाएपछि त्यस क्षेत्रका बगैँचा जुनार–सुन्तलाले ढाकेका हुन् ।

परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा १० गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन् ।

यसवर्ष जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रुपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले बताए ।  । उनले भने, “जुनारको प्रवर्द्धन, क्षेत्र विस्तार, बजारीकरण, गुणस्तर तथा देश विदेशमा प्रचारप्रसार पु¥याउने यस वर्षको महोत्सवको उद्देश्य हो ।”

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ । गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ ।

सरकारी आँकडाअनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१र८२ मा करिब रु ३४ करोडको जुनार बिक्री भएको छ । किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो रु ५० देखि ६० सम्ममा बिक्री गर्दै आएको जुनार बजरमा प्रतिकिलो रु ८० देखि १०० मा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

गोलञ्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीका अनुसार सो पालिकाबाट अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट रु ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बिक्री भएको छ । जिल्लाबाट समग्रमा ३६ करोड ६४ लाख १० हजारको कारोबार भएको देखिन्छ ।

जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्क भन्दा दोब्बर अर्थात करिब रु ७५ करोड मूल्य बराबरको वार्षिक कारोबार हुने जनाएको छ । सिन्धुलीमा जुनार खेती निकै पहिलेदेखि हुँदै आइरहेको छ । जिल्लाभरमा एक हजार १०० हेक्टरमा जुनार खेती छ ।

व्यावसायिक जुनार खेती ७५० हेक्टर क्षेत्रफलमा छ । हावापानीका हिसाबले गोलञ्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ । गोलञ्जोरमा मात्रै पनि एक हजार हेक्टरमा जुनार छ । व्यावसायिक खेती भने करिब ७०० हेक्टरमा भइरहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

सिन्धुलीका जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पुग्ने गरेको छ । ‘सुपरजोन’ कार्यालयमार्फत जुनार÷सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार, यान्त्रीकरणका लागि सहयोग पाइरहेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बाटो र बजारीकरण मुख्य समस्याका रुपमा रहेको बताए । “कृषि सडक कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारले सहयोग गर्दैन, पालिकाको बजेटबाट सम्भव भएन । सडकलाई नै केन्द्रित गर्ने गरी प्रचारप्रसार गर्ने महोत्सवको लक्ष्य हो”, उनले भने ।

उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीदेखि बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक करिडोरलाई कालोपत्रे गर्न सहयोगको अपेक्षा गरिएको बताए। सिन्धुलीको महाभारत क्षेत्रका युवालाई जुनार÷सुन्तला खेतीले केही हदसम्म रोजगारी प्रदान गरेको छ । एक जना किसानको बगैँचामा एक हजार ७०० सम्म जुनारका बोट छन् ।  एउटा बोटबाट अधिकतम् रु २१ हजारसम्मको फल बिक्री भएको तथ्याङ्क छ ।

पछिल्लो समय टाढा–टाढाबाट जुनार÷सुन्तला खेती हेर्न र यससम्बन्धी अध्ययन गर्ने आउनेको सङ्ख्या बढेसँगै ग्रामीण पर्यटन प्रवद्र्धनको सम्भावनासमेत बढेको छ । गोलञ्जोरमा उत्पादन भएका जुनारका कारण फलफूल व्यापारी र अन्य व्यवसायीको आर्थिक उन्नति देखिएको छ ।

जुनार गुणस्तरका हिसाबले टिप्ने मौसम मङ्सिर–पुस भए पनि कात्तिकदेखि फागुनसम्म बोटमा रहने फल हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण  विगतमा कम उचाइमा फल्ने यो फलले अग्गो ठाँउतिर सर्दै गएको छ ।

जिल्ला जुनार  सहकारी सङ्घका अध्यक्ष निर्मल रम्तेलले यसवर्षको महोत्सव सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जानकारी दिए ।  जुनार खेती प्ररवर्द्धनका लागि प्रविधि हस्तान्तरण र चिसान केन्द्र निर्माण भइरहेको छ । जुनारबाट जुसलगायत २१ प्रकारका परिकार बन्छ ।

अहिले आठ सयदेखि एक हजार मिटरसम्मको उचाइमा लागेका दाना दसैँतिहारमै खान योग्य हुन्छ भने त्यो भन्दामाथिको मङ्सिर, पुस र माघसम्म रहन्छ । रुखबाट टिपेर चिस्यान केन्द्रमा राखेको जुनार सुन्तला वैशाखसम्मै रहन्छ ।

सिन्धुलीमा नयाँ प्रविधियुक्त करिब १५ वटा चिस्यान केन्द्र छन् । ती सबैमा गरी करिब एक हजार २०० मेट्रिकटन जुनार भण्डारण गरेर राख्न सकिन्छ ।

हाल सिन्धुलीको महाभारत क्षेत्रमा जुनारबारे जानकारी लिन, बगैँचामै पुगेर आफ्नै हातले टिपेर खानेको सङ्ख्या प्रतिदिन बढोत्तरी भएसँगै आन्तरिक ग्रामीण पर्यटन प्रवर्द्धनको सम्भावना बढेको छ ।

देशकै पहिचान बोकेको महत्वपूर्ण फलका रुपमा जुनारको विकास र विस्तार भइरहेकाले अन्तरराष्ट्रिय बजारमा पु(याउने वातावरण बनाइ दिन सरकारसँग माग गर्दै किसानले जिल्लामै जुनार अनुसन्धान केन्द्र स्थापना गरी रोगकिरा नियन्त्रण र ज्ञान सिकाउने वातावरण बनाउन ध्यानाकर्षण गराउँदै आएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *