अष्टलक्ष्मीको अडान- प्रतिनिधि चुनिएर आइसके, अब विधान संशोधन हुँदैन

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृत्वको पुस्ता हस्तान्तरणलाई बटमलाइन बनाएर अघि बढेको बताएकी छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्ट पार्टीमा सधै एकै व्यक्ति नेतृत्वमा बस्ने आकांक्षा कसैले गर्न नहुने बताउँदै अहिलेको आवश्यकताअनुसार अघि बढ्नु सुझाए दिएरै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अगाडि सारेको जनाइन् ।

‘पार्टीमा योगदान केपीजीले पनि गर्नुभएको छ, त्यो भन्दा बढी ईश्वरजीले गर्नुभएको छ तर अब ओलीजीले आराम गर्नुपर्छ, उमेरका हिसाबले पनि धेरै भइसक्नुभयो, मेरोभन्दा केही फरक न हो, आराम गर्नुपर्ने समयमा नेतृत्वमा बसेर समस्या पार्नुहुँदैन, त्यसैले अब विकल्प दिनसक्नुपर्छ भनेर मैले पहिलेबाटै उठाएको हो, ११ वर्ष नेतृत्व गरिसकेपछि आफ्नो क्षमता देखाइसक्नुभयो नि’ उनले भनिन्–‘यो विषयमा यसअघि उहाँ आफैले अघि सारेको विषय हो दुई वर्षे कार्यकाल र ७० वर्षको उमेर हद, अनि पार्टीमा पनि क्षमता भएका साथीहरुलाई जिम्मेवारी दिनुपर्यो नि, त्यही आधारमा हामीले ईश्वरजीलाई अघि सारेका हौं ।’

नेतृ शाक्यले विचारका हिसाबले, व्यवहारिक हिसाबले अब ईश्वर पोखरेललाई नै अघि सार्नुको विकल्प नभएको दावी गरिन् । ‘हामी सबैले चाहेको पुस्तान्तरण हो नेतृत्वमा, विधिसम्मत हिसाबले चलाउने हो, विचारयुक्त नेतृत्व भएन, कम्युनिष्ट पार्टीको विचार अनुसार चल्ने नेतृत्व भएन भनेर ओलीजीलाई बिदा लिनुस् भनेका हौं ।’ उनले भनिन् –‘अब योगदानका हिसाबले ईश्वर पोखरेललाई अगाडि सारेका हौं, ओलीजीले दुई कार्यकाल बिताउनुभयो अब पुस्ता हस्तान्तरण गरौं भनेर प्रष्ट भनेका हौं । अब बिस्तारै युवा पिँढीलाई अघि सार्ने हो ।, ओलीजीको भन्दा धेरै योगदान ईश्वरजीको छ ।’

नेतृ विन्द्रा पाण्डेले कुनै पनि नेतृत्वको अवधि १० वर्षभन्दा धेरै बनाइनुहुँदैन भनेर अगाडि धारणा बनाउने मान्छेले अहिले आफ्नो लागि लाग्नु उचित नभएको बताइन् ।

‘यसको प्रस्तावक पनि केपी कमरेड भएकाले उहाँले यसलाई मान्नुहुनेछ । हामी यही अभियानअनुसार अघि बढेका छौं’ उनले भनिन् । उनले अहिले पार्टी कार्यालयमा विधान संशोधनका चर्चा सुनेको भन्दै कुनैपनि हालतमा त्यो मान्य नहुने जनाइन् ।

‘प्रतिनिधि चुनिएर आएपछि विधान संशोधन हुँदैन । अहिले विधान संशोधन गरेर युवा रोक्ने कुरा सुनिएको छ, युवा पिँढीले यसमा अडान लिनुपर्छ । पार्टीको जिम्मेवारीमा जान युवालाइै रोक्ने काम कुनै हालतमा गरिनुहुँदैन । युवाहरुको सन्दर्भमा विशेष ध्यान दिइनुपर्दछ ।’

उनले भनिन् ‘नेतृत्व हस्तान्तरण कि पुस्तान्तरण रु भन्ने वहस सबैले बुझेका छौं, ७० वर्ष र २ कार्यकाल हटाएपछि सबैको लागि लागू हुने हो, हिजो १० औं अधिवेशनमा रोकिएकाहरु अहिले उठ्न पाउने कानुन छ । अब हस्तान्तरणसँगै पुस्तान्तरणको लागि हामी लागेका छौं ।’ उनले अहिले महिला सहभागिता कम रहेकाले यसलाई पनि बढाउनुपर्ने जनाइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *