थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

काठमाडौं । दुई देश बीचको सीमामा झडप र हिंसा बढ्दै जाँदा थाइल्यान्डले कम्बोडियाको क्षेत्रमा प्रहार गरेपछि मङ्गलबार सात जना सर्वसाधारणको मृत्यु हुनुका साथै कम्तिमा २० जना घाइते भएको जनाइएको छ ।

कम्बोडियाको संघीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडिया भित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउँदै घटनाको पुष्टि गरेका छन् ।

उनले आक्रमणहरूलाई ‘अमानवीय र क्रूर’ भन्दै आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निर्देशनमा अक्टोबर–२६ मा दुवै देशका प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेको युद्धविराम सम्झौता र संयुक्त घोषणापत्रको विरुद्ध भएको बताएका छन् ।

बैङ्ककमा, थाई सेनाले कम्बोडियासँगको सीमा झडपमा दुई सैनिकको मृत्यु भएको घोषणा गरेको छ, यो सँगै आइतबार लडाइँ पुनः सुरु भएदेखि मृत्यु हुने थाई सेनाको सङ्ख्या तीन पुगेको जनाइएको छ ।

सेनाले विज्ञप्ति जारी गर्दै एकजना सैनिकको डिसेम्बर–८ मा र दुई जना डिसेम्बर–९ मा मृत्यु भएको उल्लेख गर्दै थाइल्यान्डले थाई क्षेत्रबाट कम्बोडियन सेनालाई निष्कासन गर्न कदम चाल्ने जनाएको छ ।

थाइल्यान्ड – कम्बोडियाको ८१७ किलोमिटरको साझा भूमि सीमामा रहेका धेरै क्षेत्रहरूमा लामो समय देखि विवाद छ, जुन विवाद एक शताब्दी भन्दा पुरानो हो । जसका कारण सशस्त्र झडपहरू बीच–बीचमा भइरहेको जनाइएको छ भने सबैभन्दा गम्भीर झडप सन् २०११ मा एक हप्ता लामो बमबारी भएको थियो ।

गत मे महिनामा भएको झडपमा एक कम्बोडियन सैनिकको मृत्यु भए पछि तनाव फेरि बढेको थियो । घटना पछि दुवै पक्षले आफ्नो सीमा तैनाथीलाई उल्लेखनीय रूपमा बलियो बनाएको र कूटनीतिक प्रयासहरू असफल भएपछि हाल स्थिति सशस्त्र झडपमा परिणत भएको छ ।

– रासस/ क्युएनए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *