एमाले महाधिवेशनमा आरआरका तीनथरि नेता- पदाधिकारीदेखि ४० मुनिका केन्द्रीय सदस्यसम्मको रुचि

काठमाडौं । एमालेको ११ औँ महाधिवेशनमा आरआर क्याम्पसका तीन पूर्वस्ववियु सभापति फरक फरक रुचिका साथ प्रस्तुत हुँदैछन् ।

नेपालमा पत्रकार उत्पादनको ‘भट्टी’ मानिने रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा विभिन्न समयमा स्ववियुको नेतृत्व गर्नेमध्ये यज्ञराज सुनुवार, नवराज पौडेल र टपेन्द्र शाही यस पटकको महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्ममा ‘डेब्यु’ गर्ने तरखरमा छन् ।

सुनुवार नवौँ महाधिवेशनदेखि केन्द्रीय सदस्य हुँदै हाल पोलिटब्युरो सदस्यको जिम्मेवारीमा छन् । यस पटक उनी पदाधिकारीका रूपमा डेब्यु गर्ने तयारीमा छन् । धेरैले आकांक्षा राखेको सचिव पदमा उनको पनि दावेदारी छ । यद्यपि, टीम निर्माणमा हुने सहमति र सहकार्यको अभ्यासलाई आत्मसात् गर्ने उनी बताउँछन् । उनी ओखलढुंगाबाट २०७० सालमा दोस्रो संविधानसभा सदस्य र २०७४ मा सांसद निर्वाचित भएका थिए ।

आरआरका अर्का पूर्वस्ववियु सभापतिमध्ये नवराज पौडेल केन्द्रीय सदस्यका दाबेदार हुन् । २०७८ को पार्टी विभाजनमा एकीकृत समाजवादीमा गएका उनी उक्त पार्टीको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भएका थिए ।

एमालेको ‘घर फर्क अभियान’ अन्तर्गत रामकुमारी झाँक्री, किसान श्रेष्ठहरूसँगै पौडेल गत कात्तिक २४ मा एमालेमा फर्किएका हुन् । उनीहरूलाई महाधिवेशनमा भाग लिनका लागि पार्टीले आयोजक सरहको प्रतिनिधि हुने व्यवस्था गरेको छ । ‘घर फर्क अभियान’ अन्तर्गत उनीजस्ता २५ भन्दा बढी नेता छन् । त्यसमध्ये पौडेल केन्द्रीय सदस्यका बलिया दाबेदार हुन् ।

आरआरकै अर्का पूर्वस्ववियु सभापति टपेन्द्र शाही ४० वर्षमुनिको क्लष्टरबाट केन्द्रीय सदस्यको उम्मेदवार हुँदैछन् । उनले कालिकोट जिल्लाबाट सोही क्लष्टरमा प्रतिनिधिको चुनाव जितेका हुन् ।

यी तीनै नेताको समानता हो, काठमाडौंमा विद्यार्थी जीवन र स्ववियुको जिम्मेवारी पूरा गरेपछि जिल्लामा गएर पार्टी काममा लाग्नु । केन्द्रीय सदस्यको दाबी गरेका शाही भन्छन्, ‘एमाले पार्टी नै युवामैत्री हो र यसले मात्र नेपाली युवाको प्रतिनिधित्व गर्छ भन्ने कुरा स्थापित गर्न केन्द्रीय सदस्यको दाबी गरेको हुँ ।’

आरआरका पूर्वस्ववियु सभापतिमध्ये दामोदर अर्याल, जगन्नाथ खतिवडा र राजेन्द्र राई विभाजनमा सरिक हुँदै अहिले पनि एमालेबाहिरै छन् । अर्याल घनश्याम भुसालसहित नेकपा (संयुक्त) मा, खतिवडा र राई नेपाली कम्युनिष्ट पार्टीमा छन् । एमालेमै रहेका पूर्वस्ववियु सभापतिमध्ये विनोद मञ्जन प्राध्यापक भएका कारण प्रतिनिधि चुनिएनन् । महेन्द्र राई राष्ट्रिय खेलकुद परिषदको निर्देशकको जिम्मेवारीमा थिए । यद्यपि, उनी हाल सो जिम्मेवारीमा छैनन् । तर, प्रतिनिधि भएनन् । राजकुमार राई पूर्वराष्ट्रपति विद्या भण्डारीको स्वकीय सचिवको जिम्मेवारीमा छन् । उनले प्रतिनिधि हुने चाहना राखेका थिए । तर, अरु आकांक्षीलाई सहज गराइदिन आफ्नो दाबी छोडेका थिए । उनले भने, ‘हामी व्यक्ति हैन, मिसन स्थापित हुनुपर्छ भन्ने पक्षमा छौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *