
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार दिएको सन्देशमा मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका हुन् ।
‘भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन, यसले सामाजिक मूल्यमान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासको गति सबैमा गम्भीर असर पार्छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ भन्ने स्पष्ट बुझेर सरकारले कानूनी, नीतिगत र संस्थागत संरचना सुदृढ गर्न विविध पहल गरिरहेको छ ।’ भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारी रहेकामा जोड दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आफ्नो भूमिकामा पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री आचार्यले नेपाल सन् २०११ देखि भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र बनेको उल्लेख गर्दै त्यसयता सरकार राष्ट्रिय रणनीति र कार्ययोजना बनाएर अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार अघि बढिरहेको जानकारी दिए । उनका अनुसार भ्रष्टाचार आर्थिक दुराचार मात्र नभई सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासमा गम्भीर असर पार्ने समस्या हो ।
यो चुनौतीलाई सम्बोधन गर्न प्रदेश सरकारले कानूनी, नीतिगत र संस्थागत संरचना सुदृढीकरणमा विभिन्न पहल अघि बढाएको मुख्यमन्त्री आचार्यले बताए । सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनिकरणलाई प्राथमिकतामा राख्दै पाँच वर्षे रणनीतिक योजना कार्यान्वयन भइरहेको उनले जानकारी दिए ।
पूर्व विशिष्ट पदाधिकारीका सेवासुविधा कटौती, मुख्यमन्त्री तथा मन्त्रीहरूको आचारसंहिताको कार्यान्वयन, चालू खर्च घटाउने पहल तथा विकास योजना प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यान्वयन गर्ने व्यवस्था पारदर्शिता र जवाफदेहिता बढाउन प्रभावकारी रहेको उनले बताए ।

Leave a Reply