ईश्वर पोखरेलको अवधारणा-पत्रमा के छ ? १७ बुँदामा बुझौँ

काठमाडौं । केपी ओलीसँग प्रतिस्पर्धाका लागि तयारी गरेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनका लागि छलफलका लागि पार्टीमा ‘अवधारणा–पत्र’ पेश गरेका छन् । उनले पछिल्ला हिंसात्मक घटनाक्रम, संसद विघटन, र अन्तरिम सरकार गठनको पृष्ठभूमिमा पार्टीको आगामी कार्यदिशालाई दस्ताबेजमा समेटेका छन् ।

भदौ २३ को जेन-जी आन्दोलन त्यसपछिको विध्वंसबारे उनले आफ्नो समूहको धारणा अघि सारेका छन् । साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने प्रस्ताव, पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बाध्यात्मक व्यवस्था जस्ता सांगठनिक सुधारका एजेन्डा पनि उनको प्रस्तावमा छ ।

सिंहदरबार, संसद भवन, अदालत र एमाले पार्टी कार्यालयहरूमा भएका आक्रमणलाई दस्तावेजले ‘राज्य असफल बनाउने षड्यन्त्र’ र ‘प्रतिगमन’ को संज्ञा दिइएको छ । यद्यपि, युवा पुस्ताको आक्रोशलाई सम्बोधन गर्न नसक्नुमा पार्टी र राज्य संयन्त्रको कमजोरी रहेको समेत स्वीकार गरिएको छ ।

ईश्वर पोखरेलको अवधारणा-पत्र : भिन्न मतमाथिको असहिष्णु व्यवहार र प्रतिशोध त्यागौँ (पूर्णपाठ)

विद्यादेवी भण्डारीको अनुभव र ऊर्जालाई पुनः पार्टी काममा प्रयोग गरिनुपर्ने, पार्टी नेतृत्वमा पुस्तान्तरणका लागि ७० वर्षको उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमालाई कडाइका साथ लागू गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा एमाले सहभागी हुने दस्तावेजमा उल्लेख छ । तर, अध्यक्ष केपी शर्मा ओलीमाथिको स्थान हद हटाउनुपर्ने मागसहित एमालेमाथिको घेराबन्दीले निष्पक्ष निर्वाचनमा उनले आशंका गरेका छन् ।

यस्ता छन् अवधारणा–पत्रका २० महत्वपूर्ण बुँदा

४० पृष्ठ लामो दस्तावेजलाई यहाँ २० वटा बुँदामा प्रस्तुत गरिएको छ-

१. ‘जेन-जी’ आन्दोलनको स्वीकारोक्ति: भदौ २३ गते ‘जेन–जी’ (नयाँ युवा पुस्ता) ले सुशासन, भ्रष्टाचार नियन्त्रण र डिजिटल अधिकारका लागि गरेको आन्दोलनका मागहरू जायज रहेको र ती एमालेकै एजेन्डासँग मेल खाने उल्लेख गरिएको छ।

२. भदौ २४ को विध्वंस: आन्दोलनको आवरणमा भदौ २४ गते एमाले पार्टी कार्यालय, नेताका घर, सिंहदरबार र न्यायालयमा भएको आगजनी र तोडफोडलाई सुनियोजित ‘कु’ र प्रतिगमनकारी कदमको रूपमा व्याख्या गरिएको छ ।

३. विद्या भण्डारीको पुनरागमन: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अनुभव र ऊर्जालाई पार्टी निर्माणमा लगाउन उनलाई पुनः पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने प्रस्ताव गरिएको छ ।

४. नेतृत्वमा दुई कार्यकालको सीमा: पार्टीको कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने र ७० वर्षे उमेर हदको व्यवस्थालाई विधानमै पुन:स्थापित गरी कडाइका साथ लागू गर्ने प्रस्ताव गरिएको छ ।

५. आत्मआलोचना: लामो समय सत्तामा रहँदा पनि जनजीविकाका सवाल हल गर्न नसकेको, युवा पुस्ताको मनोविज्ञान बुझ्न नसकेको र पार्टीभित्रको अवसरवाद मौलाएको भन्दै आत्मालोचना गरिएको छ ।

६. निर्वाचनमा जाने प्रतिबद्धता: आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा पार्टी सहभागी हुने र नयाँ जनादेश लिने निर्णय । आन्दोलनका क्रममा जेलबाट भागेका बन्दीहरूलाई फिर्ता ल्याउन र लुटिएका हतियारहरू बरामद गरी शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरिएको छ ।

७. वैकल्पिक मार्गचित्र: यदि विशिष्ट परिस्थितिले निर्वाचन हुन नसकेमा, पुनर्स्थापित संसदबाट ‘जेन–जी’ समेतको सहभागितामा सर्वदलीय सरकार गठन गरी संविधान संशोधनमार्फत निकास खोज्ने विकल्प अघि सारिएको छ ।

८. भू-राजनीतिक जोखिम: नेपाल भारत, चीन र अमेरिकाको त्रिकोणात्मक द्वन्द्वमा फस्दै गएको, र नेपालको सार्वभौमसत्ता इतिहासकै गम्भीर मोडमा पुगेको विश्लेषण गरेका छन् ।

ईश्वर पक्षको ठहर- ओलीमाथिको स्थानहद अनुचित, एमालेका गतिविधि सडकबाट नियन्त्रणको दुष्प्रयास अश्वीकार्य

९. युवा सहभागिताको ग्यारेन्टी: ४० वर्षमुनिका युवालाई पार्टीका सबै कमिटीमा अनिवार्य प्रतिनिधित्व र ३० वर्षमुनिका लागि विशेष प्रोत्साहन नीति ल्याउने घोषणा ।

१०. जबजको परिष्कृत व्याख्या: मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई समयअनुकूल व्याख्या गर्दै यसलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता ।

११. नेपाली विशेषताको समाजवाद: आगामी एक वर्षभित्र ‘नेपाली विशेषताको समाजवाद’ को स्पष्ट खाका तयार पारी राष्ट्रिय प्रतिनिधि परिषदबाट पारित गर्ने योजना ।

१२. पार्टीभित्रको अराजकता अन्त्य: गुटबन्दी, अन्तर्घात र अराजकतालाई निस्तेज पार्दै ‘एक व्यक्ति एक पद’ र विधानको सर्वोच्चता कायम गर्ने दृढता ।

१३. आर्थिक एजेन्डा: राष्ट्रिय पुँजीको विकास गर्ने, कृषि र उद्योगमा युवालाई जोड्ने र एनआरएनए (NRNA) को लगानी भित्र्याउन सहज कानुनी व्यवस्था गर्ने ।

१४. जलवायु परिवर्तनको मुद्दा: नेपालले कार्बन उत्सर्जन नगरे पनि जलवायु परिवर्तनको मारमा परेको भन्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्ने र ‘सगरमाथा संवाद’ जस्ता मञ्च ब्युँताउने ।

१५. कार्यकर्ता संरक्षण कोष: प्राकृतिक विपत्ति र रोगबाट पीडित कार्यकर्ताहरूको सहयोगका लागि न्यायोचित र पारदर्शी ‘कार्यकर्ता संरक्षण कोष’ स्थापना गर्ने ।

१६. बामपन्थी एकताको आह्वान: विगतको नेकपा एकता हतारमा गरिएको स्वीकार गर्दै, अब विचार र विधिका आधारमा सम्पूर्ण बामपन्थी र लोकतान्त्रिक शक्तिहरूलाई एमालेको नेतृत्वमा गोलबद्ध हुन आह्वान ।

१७. मिडिया र जनसम्बन्ध: पार्टी र जनताबीचको सम्बन्ध पानी र माछाजस्तो हुनुपर्नेमा जोड दिँदै, पार्टीको आधिकारिक डिजिटल प्लेटफर्ममार्फत नीति निर्माणमा जनताको सुझाव लिने संयन्त्र (Think Tank) बनाउने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *