एमाले ओलीको भजनमण्डली मात्रै भयो, नेतृत्व परिवर्तनको विकल्प छैनः कर्ण थापा

काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले अहिलेको अवस्थामा नेकपा एमाले विधिबाट नचलेकाले महाधिवेशनबाट नयाँ नेतृत्वमा जानुपर्ने बाध्यतात्मक अवस्था आएको जनाएका छन् । अध्यक्ष केपी शर्मा ओली र उनका समूहमा रहेका नेताहरुको शैली र नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले यसरी पार्टी चल्नै नसक्ने बताए ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भएको भन्दै अब एमाले जसरी चल्दै आएको छ, त्यसरी चल्न नसक्ने निचोडका साथ नेतृत्व परिवर्तन गर्नुपरेको जनाए ।

‘उहाँको योगदानको सम्मान गर्छौं तर सधै यसरी पार्टी जीवन चल्दैन, सामुहिक निर्णयमा जानुपर्दछ अनि सधैभरी एकै नेतृत्व पाच्य हुँदैन । एमाले टुकडी मात्रै भयो, भजनमण्डली बनाउने र त्यसमै रमाउने भयो, केन्द्रीय कमिटीका बैठक उहाँ उभिने, भाषण गर्ने,भाषण जति मन लाग्छ त्यति गर्ने। जे मन लाग्छ त्यो कुरा भन्ने। उहाँले भनेको कुरा मार्क्सवाद । उहाँले भनेको कुरा जबज। उहाँले भनेको कुरा निर्णय। जो, बहुदलीय जनवादसँग कही पनि मेल खाँदैन। द्वन्द्ववादसँग पनि मेल खाँदैन। मार्क्सवादसँग पनि मेल खाँदैन।’ उनले भने ‘अनि उहाँको राम्रा कुरा गर्नेहरु सक्षम र कमजोरी नगरौं भन्नेहरु असक्षम, यस्तो पनि हुन्छ जबजमा ?’

थापाले पार्टीभित्र यस्ता अभ्यासविरुद्ध धेरै नेता मौन बसेका कारण परिवर्तन आवश्यक रहेको बताउँदै भने ‘हामी बहस गर्न चाहन्छौं। तर्क–वितर्क गर्न चाहन्छौं। देशका जटिल विषयमा खुला छलफल गर्न चाहन्छौं,कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने र सामूहिक नेतृत्व प्रणालीमा जानुपर्ने भएकाले ओलीले विदा लिनुपर्ने प्रष्ट धारणा हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *