
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीको महाधिवेशनमा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व छान्ने प्रक्रियालाई पार्टीविरोधी भन्नु र निर्वाचनको परिणामपछि पार्टी छाडेर जान्छन् भन्ने विषयमा कुनै सत्यता नभएको बताएका छन् । उनले एमालेमा आफूहरूको नेतृत्व जितेर आएपछि नेकपालाई पनि ल्याउने भन्दै कम्युनिष्ट एकता अघि बढाउने बताए ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘एमाले हामीले जीवन बिताएको पार्टी हो, पार्टीभित्रका कमजोरीबारे बहस गर्छौँ, छलफल गर्छौँ, महाधिवेशनमा नेतृत्व फेर्ने लोकतान्त्रिक विधिलाई प्रयोग गर्छौँ त्यो हाम्रो अधिकारको विषय हो । तर, हामीले भएको भएन भने कतै जाँदैनौं, यसैलाई सुधारेर बस्ने हो, यस्ता संकट पार्टी जीवनमा सधैँ आइरहन्छन् ।’
आफूहरू जित्नका लागि अघि सरेको भन्दै उनले पार्टीमा के छ भन्ने सूचनासहित चुनौतीको समना गर्न तयार रहेको जिकिर गरे ।
‘यो महाधिवेशन लोकतान्त्रिक विधिबाट नेतृत्व छान्ने विधिबाट लैजान खोजेका हौँ, राम्रो कुराको रक्षा गरेर जान्छौँ कमजोरीको आलोचना गर्छौँ, यो पार्टी छाडेर कतै जाँदैनौं, सामूहिक नेतृत्वको आधारमा अघि बढ्छौँ, नयाँ नेतृत्व आए नेपाली कम्युनिष्ट पार्टीलाई हामीसँग ल्याउँछौँ ।’
नेता पाण्डेले अहिले पनि अध्यक्ष केपी ओलीलाई र पार्टीलाई अनावश्यक आरोप लगाउनेहरू विरुद्ध प्रतिवाद गर्ने र ओलीबाट भएका कमजोरीबारे आलोचना गर्ने, सुधार्ने नै गरिरहेको बताए ।
‘नेतृत्व र पार्टीविरुद्ध जथाभावी गर्नेहरूविरुद्ध हाम्रो सामना सधैँ रहन्छ, उहाँले धेरै राम्रो काम पनि गर्नुभएको छ तर कमजोरी नि भएका छन्, सधैँ एकैजनाले पार्टीको नेतृत्व गरेर हुँदैन, नेतृत्व विकासका लागि समय दिएर अघि बढ्नुपर्दछ भन्ने विषयमा हामी प्रतिबद्ध छौँ’, पाण्डेले भने ।
अध्यक्षमा ईश्वर पोखरेलबाहेक अरु पदमा कसलाई अघि सार्नुहुन्छ ? भन्ने पत्रकारको जिज्ञासामा पाण्डेले भने, ‘अहिले पदाधिकारीको टुंगो लागेको छैन, सबैलाई उपयुक्त टुंगो लगाउँछौँ, कुनै पदमा विवाद हुने छैन ।’
आन्तरिक कमजोरी अरुको आलोचना गरेर समाधान नहुने भन्दै उनले अध्यक्ष केपी ओलीलाई अनर्गल आरोप लगाउनेविरुद्ध आफूहरू लड्न तयार रहेको बताए ।
उनले थपे, ‘तर, नेतृत्व समाएर बस्नुहुँदैन, नेतृत्वका लागि अर्को पुस्तालाई अगाडि सार्नु नेतृत्वको दायित्व हो, सधैँ एकैजनाको नेतृत्व रहिरहँदैन ।’

Leave a Reply