विमान माध्यम मात्र नभई सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि हो: मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुयाउने माध्यम मात्र नभई यो नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि भएको बताएका छन् ।

नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान)ले अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले उडानहरू अझ सुरक्षित, पर्यावरणमैत्री, समयमै, र यात्रु–अनुकूल हुनका लागि विश्वभरी निरन्तर नयाँ–नयाँ नवप्रवर्तनहरू भइरहेका उल्लेख गरे ।

मन्त्री सिन्हाले भने, “स्मार्ट विमान, हरित इन्धन, कृत्रिम बौद्धिकतामा आधारित सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रक्रियामा नविनतम प्रविधिहरुको विकास भएको छ । तर सबैको केन्द्रमा एउटा कुरा उही छ, मानवको भूमिका, विशेषगरी क्याबिन क्रूको योगदान ।”

उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेका  उनले नवप्रवर्तन कागजमा मात्र होइन, क्याविन भित्र जीवन्त बनाउनुपर्ने र यात्रुसम्म पुन्याउन क्याबिन क्रुको भूमिका रहने उल्लेख गरे ।

“तपाईंहरूको सीप, अनुकूलता, सिक्ने र बढ्ने तयारीकै कारण विमान विकास आजको अवस्थामा आउन सम्भव भएको हो । नवप्रवर्तनले उडानलाई आधुनिक बनाउँछ तर त्यसमा तपाईंहरूको मानवता, मुस्कान, सहानुभूति, धैर्यता भने सधै अपरिहार्य रहन्छ” उनले भने ।

नयाँ चुनौतीसँगै नयाँ समाधान, नयाँ प्रविधि, नयाँ प्रक्रियाहरू पनि आउने बताउँदै मन्त्री सिन्हाले क्याविन क्रुको पेशा यिनै परिवर्तनसँग घुलमिल भएर अघि बढ्ने पेशा भएको धारणा व्यक्त गरे । यात्रु उडानको क्रममा आउने मेडिकल इमरजेन्सी, अनियमित मौसम् र कहिलेकाहीं यात्रुको मनोदशामा क्याबिन क्रुको साहस, करुणा र अनुकूलताले नै संस्थाको पहिचान बनाउने उल्लेख गरे ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले परिचारिकाको हकहितका सवालमा सक्दो सहयोग गर्ने बताउँदै परिचारिकाको व्यवहारले नै विमान सेवाको प्रतिष्ठा प्रदर्शन हुने उल्लेख गरे । उनले मन्त्रालयले उड्डयन क्षेत्रमा सुधारका काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

निगमका महानिर्देशक अमृतमान श्रेष्ठले संस्थाभित्रका समस्यामा आरोप प्रत्यारोपमा लाग्नु भन्दा सबै मिलेर समस्याको समाधानमा लाग्नुपर्नेमा जोड दिए । उहाँले उडान सेवामा परिचारिकाको व्यवहारले नै मुलुकको साख प्रर्दशन निर्भर रहने उल्लेख गर्दै परिचारिकाको अवकास उमेर हदको माग सम्बोधन गर्न निगमले गृहकार्य गरिरहेको बताए ।

मानव अधिकार आयोगका सदस्य डा लिली थापाले महिला परिचारिकाका समस्या र चुनौतीका बारेमा कमै मात्र बहस हुने गरेको बताउँदै यो मुद्दा परिचारिका वा व्यवस्थापनको मात्र नभई आमनगरिकको विषय भएको उल्लेख गरिन् । साथै उनले परिचारिकाको काम दिनरात खटिने चुनौतीपूर्ण काम भएको र मनमा दुःख भएपनि हासेर काम गरिरहनुपर्ने भएकाले प्रभावकारी परिणामका लागि उनीहरुका चुनौती सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

माइती नेपालका संस्थापक एवं अभियन्ता अनुराधा कोइरालाले नेपालका परिचारिकाको व्यवहार तुलनात्मक निकै राम्रो रहेको बताउँदै उनीहरुलाई न्याय दिलाउने काममा सरोकारवालाको ध्यानाकर्षण गराइन् । उनले समाजमा विभिन्न किसिमका लैगिक विभेद रहेको बताउँदै यस्ता विभेदका विरुद्ध सबैले आ आफ्नो ठाउँबाट आवाज उठाउनुपर्नेमा जोड दिइन् ।

एसोसिएसनका अध्यक्ष प्रजिता कार्कीले हवाई सेवा सुधार वा निगमको विकास र सुधारमा जति अन्य पक्षको महत्व छ, त्यति नै क्याविन क्रुको महत्व रहेको उल्लेख गरिन् । राष्टिय ध्वजावाहक वायु सेवा निगमको व्यापक सुधार, विकास र विस्तार हुनु जरुरी रहेको बताउँदै उहाँले ब्राण्ड एम्बेसडरका रुपमा रहेका क्याविन क्रु स्वंले भने विभिन्न असमनता र भेदभाव भोग्नु परिरहेको गुनासो गरिन् ।

अध्यक्ष कार्कीले क्याविन क्रुमाथि वर्षौंदेखि हेरिदै आएको सोच, व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिदै कमजोर आत्मबल बोकेर, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने काम गरिरहेका क्याबिन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न नसक्ने बताउनुभयो । त्यस्तै कार्कीले क्याबिन क्रुहरुका लागि नेपाल एयरलाइन्समा छुट्टै विभाग हुनुपर्ने पनि बताइन् ।

“अब क्याविन क्रुको बेग्लै विभाग हुनुपर्छ । क्याविन क्रुलाई अन्य प्राविधिक विभागमा जोडिरहँदा हाम्रा समस्या बेलैमा सुनुवाई हुन नसकेको हो” उनले भनिन् “आधा जस्तै संख्या जेन्जी पुस्ताको रहेको क्याविन क्रुका मागप्रति निगम र राज्य जति सकरात्मक बन्यो, त्यति हवाई क्षेत्रको सुधार सम्भव भएको म यहाँ अवगत गराउन चाहान्छु ।”

अधिवक्ता अनन्तराज लुईटेलले निगमका परिचारिकाको अवकासको विभेद सम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा रहेको बताउँदै २१औँ शताब्दीमा विश्वमा परिचारिकाका सुविधामा धेरै सुधार आइसकेको अवगत गराए। उनले श्रम ऐन २०७४ आइसकेपछि कुनै पनि संस्थानमा कर्मचारीबीच देखिने विभेद सम्बन्धी मुद्दामा अदालतमा जान पाइने व्यवस्था गरेको बताए।

उद्घाट्न समारोहपछि भएको समूहगत छलफलमा निगमका क्याप्टेन भोगेन्द्र कठायत, निगमका पहिलो परिचारिका लक्कीमनि शाही, निगमका इनफ्लाइट सुपरभाइजर प्रदा कार्की, एयर ट्राफिक कन्ट्रोलर हिना झा र एरोस्पेस इन्जिनियर सुनिरा रेग्मीले उड्डयन क्षेत्रमा भए गरेका काम, समस्या र चुनौती बारेमा आ–आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *