पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान

खलङ्गा । चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित जोखिम उच्च बन्दै थियो ।

पसलको सामुन्नेकै चोकमा ‘फायर हाइड्रेन्ट’ को ‘ड्राइराइजर’ भर्खरै जडान गरिएको थियो । तत्काल स्थानीयवासी, चन्दननाथ नगरपालिकाका अग्निनियन्त्रक, सुरक्षाकर्मी, स्वयंसेवकका सहयोगमा तत्काल चोकमा राखिएकोे ‘फायर हाइड्रेन्ट’मार्फत् आगलागी नियन्त्रणमा लिइयो । सम्भावित ठूलो क्षति हुनबाट बजार क्षेत्रलाई जोगाइयो । चन्दननाथ–५ का स्थानीयवासी अकवरनाथ क्षेत्रीले त्यसदिनको घटनाका बारेमा भने, ‘चोकमा ‘फायर हाइड्रेन्ट’ नभएको भए बजार क्षेत्र जलेर ध्वस्त नै हुने सम्भावित जोखिम थियो । फायर हाइड्रेन्टको उपयोग गरेर आगो नियन्त्रणमा आयो र बजार क्षेत्र जोगियो ।’

दमकल जान नसक्ने साँघुरा स्थान, चोक÷गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनलाई नै ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट’ पाइप लाइनका ठाउँठाउँका राखिएका ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडेर यसको उपयोग गरिन्छ ।

स्वीस रेड्क्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘शहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजनाले चन्दननाथ नगरपालिकामा ‘फायर हाइड्रेन्ट’ पाइपलाइन जडान गर्न सहयोग पु¥याएको छ । विशेष गरेर आगलागीको उच्च जोखिममा रहेका नगरका वडा नं २, ३ र ५मा ‘फायर हाइड्रेन्ट’ पाइपलाइन राखिएका छन् । यस्ता ‘फायर हाइड्रेन्ट’लाई कसरी उपयोग गर्ने भन्ने कुरा स्वयंसेवकमार्फत समुदायलाई जानकारीसमेत गराइएको छ । नेपाल रेडक्रसका स्वयंसेवक लालबहादुर भण्डारीले आपत्कालीन विपद् प्रतिकार्यकाबारेमा समुदायलाई जानकारी दिएको जानकारी दिए ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले भनिन्, ‘हालै चन्दनाथ–५ स्थित जुम्ला बजारको एक मोबाइल पसलमा लागेको आगलागीलाई निभाउन ‘फायर हाइड्रेन्ट’ले सहयोग ग¥यो । यो नभएको भए अकल्पनीय क्षति बेहोर्नु पर्दथ्यो ।’ उनका अनुसार चन्दननाथ नगरपालिका क्षेत्रसहित खलाङ्गा बजार क्षेत्र विपद्जोखिम अन्तर्गत आगलागीको उच्च जोखिममा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *