अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तु समेटिएको छ। ट्रेलरले केही समय अगाडी नेपालमा भएको जेनजी आन्दोलनको झल्को दिन्छ ।

विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना पुरा नहुँदा उसले कसरी भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गर्छ भन्ने कथा ट्रेलरमा देखाइएको छ। जेनजी आन्दोलन अगावै आफ्नो सिनेमाको छायांकन सकिएकाले कहीँ कतै मिल्न गए संयोग मात्रै हुने चलचित्रका निर्देशक घिमिरे बताउँछन् ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यसै चलचित्रबाट अभिनेता गणेश उप्रेतीले लामो समयपछि कमव्याक गर्दैछन् । यो चलचित्र छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपाल फर्किएका थिए ।

चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

आगामी पौष ४ गतेबाट देशब्यापी रिलिज हुने यो चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले अभिनय गरेका छन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यो चलचित्रको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखेका छन्। चलचित्रलाई अनिशा सेन्दाङ लिम्बुले निर्माण गरेकी हुन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *