
कैलाली । कैलालीको धनगढीमा भोलिबाट सुरु हुने सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको महोत्सव सोमबारदेखि धनगढी उपमहानगरपालिका-१ पशुपति टोलमा हुँदै छ ।
कैलाली उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी पुरा भएको जनाएको छ । भोलि एक कार्यक्रमकाबीच सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले महोत्सवको उद्घाटन गर्ने अध्यक्ष पुष्पराज ओझाले जानकारी दिए ।
अध्यक्ष ओझाले यस वर्षको महोत्सव प्रदेशको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानलाई उजागर गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहने विश्वास व्यक्त गरे।
कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना-प्रविधि लगायतका ५०० भन्दा बढी स्टल महोत्सवमा रहनेछन्। बालबालिका तथा खेल प्रेमीलाई लक्षित नयाँ एक्स्प्लोर गेम जोन महोत्सवको आकर्षणमध्ये एक हुने अपेक्षा आयोजकको छ।
महोत्सव स्थलमा सुदूरपश्चिमका परिकार र स्वदेशी खानाका स्टल आकर्षण हुने अपेक्षा गरिएको छ।
सांस्कृतिक रूपमा धनी सुदूरपश्चिमका नृत्य, गीत, परम्परा, पहिरन र परिकारलाई महोत्सवमा विशेष स्थान दिइनेछ। स्थानीय कलाकार, उद्यमी र महिला समूहका उत्पादन स्टललाई प्राथमिकता दिइँदै प्रदेशकै मौलिकता प्रस्तुत गरिने सङ्घका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दले बताए ।
महोत्सवमा तीन करोड लागतको अनुमान गरिएको छ भने करिब १५ करोड बराबरको कारोबार हुने अनुमान छ। यस पटक करिब ७ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ।
महोत्सव केवल व्यापारिक कार्यक्रम नभई सामाजिक उत्तरदायित्व बोकेको आयोजकले जनाएको छ।
विद्यार्थीका लागि टिकट दर ५० रुपैयाँ, सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि प्रवेश निःशुल्क हुने छ। सङ्घका सदस्यका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ।
सुदूरपश्चिमको साझा उत्सवका रूपमा महोत्सवलाई सफल बनाउन २३ उपसमिति गठन गरी तयारीका अधिकांश काम सकिएको अध्यक्ष ओझाले जानकारी दिए।
महोत्सव उद्घाटन गर्न अर्थमन्त्री खनालसहित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल कैलाली पुगिसकेका छन् । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

Leave a Reply