
काठमाडौं । भारतीय महिला क्रिकेट टिमकी स्टार स्मृती मन्धनाको तय भइसकेको विवाह रद्द गरिएको छ । उनी स्वयम्ले औपचारिकरुपमा आफ्नो ईंगेजमेन्ट तोडिएको घोषणा गरेकी छन् ।
केही दिनदेखि मन्धनाको विवाहलाई लिएर विभिन्न टिकाटिप्पणी र अड्कलवाजी भइरहेका थिए । अन्ततः उनले इन्स्टाग्राममार्फत सङ्गीतकार पलाश मुच्छलसँग हुन लागेको बहुप्रतीक्षित विवाह रद्द भएको पुष्टि गरेकी हुन् । एक वक्तव्य जारी गर्दै उनले अब क्रिकेटमै केन्द्रीत हुनेसमेत बताएकी छन् ।
उनले लेखेकी छन्, ‘विगत केही हप्तादेखि मेरो जीवनलाई लिएर धेरै अड्कलबाजी भइरहेको छ र मलाई यो बेला बोल्नु जरुरी ठानेकी छु । म अत्यन्तै आत्मकेन्द्रित व्यक्ति हुँ र त्यसलाई कायम राख्न चाहन्छु, तर म स्पष्ट गर्न चाहन्छु कि विवाह रद्द भएको छ ।’
पाँच वर्ष लामो प्रेम सम्बन्धपछि स्मृती र पलाशको विवाहको तयारी मात्र नभएर प्रिवेडिङ कार्यक्रमहरु पनि सुरु भइसकेका थिए । मूल विवाह २०२५ नोभेम्बर २३ मा तोकिएको थियो । यही बीचमा स्मृतीका पिता श्रीनिवास मन्धनालाई हार्ट अट्याक भएको थियो । र त्यसपछि दुलहा बन्न लागेका पलाश मुच्छाललाई पनि तनावका कारण अस्पताल भर्ना गर्नु परेपछि वैवाहिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
दुवै पक्षका परिवारले सुरुमा विवाह केवल केही समयका लागि सारिएको र चाँडै हुने आश्वासन दिएका थिए । तर पछि स्मृतिले आफ्नो सामाजिक सञ्जालबाट विवाहसँग सम्बन्धित सबै पोस्ट हटाइन् । उनी पछिल्लोपटक सार्वजनिक रूपमा औंठीबिना देखा परेकी थिइन्, जसले गहिरो दरारको हल्लालाई थप बल दियो । अब स्मृतिको स्पष्ट वक्तव्यले यो लामो काण्डलाई बिट मारिदिएको छ ।
वक्तव्यको अन्त्यमा उनले कठिन समयमा दुवै परिवारको निजतालाई सम्मान गर्न सबैसँग अपील गरेकी छन् । ‘म यो विषय यहीँ बन्द गर्छु र तपाईंहरू सबैलाई पनि त्यही गर्न अनुरोध गर्छु । कृपया यो समयमा दुवै परिवारको निजतालाई सम्मान गर्नुहोस् र हामीलाई आफ्नै गतिमा अगाडि बढ्ने ठाउँ दिनुहोस्,’ उनले भनेकी छन् ।
मन्धानाले विवाह रद्द हुनुको कारण खोलेकी छैनन् ।

Leave a Reply