कोशीबाट एमाले पदाधिकारीमा दर्जनौं आकांक्षी, ओलीनिकट नेतै पिच्छेका गुट

विराटनगर । एमाले महाधिवेशनबाट कोशीबाट पदाधिकारीका आकांक्षी धेरै हुँदा आ-आफ्ना गुट समेत बनेका छन् । महाधिवेशन प्रतिनिधि चयनमै जिल्ला-जिल्लामा नेताहरूका आफ्ना आफ्ना समूह देखिए ।

केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलको समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस प्रदेशबाट पदाधिकारीका आकांक्षीहरूको गुटका प्रतिनिधि चयनमा समेत विवाद देखियो । कोशीका १४ जिल्लामध्ये ओखलढुङ्गा र धनकुटामा अझै प्रतिनिधि चयन हुन सकेको छैन । केन्द्रले यी दुई जिल्लामा पुन: प्रतिनिधि चयन गर्न निर्देश गरेको छ ।

ओखलढुङ्गामा नेता अम्बिरबावु गुरुङ र यज्ञराज सुनुवार बीचको समूह बनेको छ । अम्बिरबावु समूहले एकलौटी निर्वाचन गरेर प्रतिनिधि चयन गरेको आरोप सुनुवार पक्षको छ । केन्द्रको गुट अनुसार गुरुङलाई पोखरेल समूहमा जोडे पनि कोशीमा भने उनी एमाले कोशीका इन्चार्ज शेरधन राई पक्षधर मानिन्छन् । शेरधन राई मुख्यमन्त्री हुँदा गुरुङ भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री थिए । उनीहरूबीच निकट सम्बन्ध रहेको एमाले नेताहरू बताउँछन् । ओली खेमाका शेरधन सचिवको तयारीमा छन् ।

यस्तै धनकुटा भने राजेन्द्र राई र इन्द्रमणि पराजुलीका बीच समूह बनेको छ । दुवैजना ओली निकटका हुन् । तर, यहाँ पनि राजेन्द्र राई पक्षले एकलौटी निर्वाचन गराएको भन्दै पार्टी केन्द्रले पुन: निर्वाचन गर्न निर्देशन दिएको छ । धनकुटामा इन्द्रमणि पराजुली शेरधन राई निकट मानिन्छन् । एमाले धनकुटाका एक नेताका अनुसार राजेन्द्र र शेरधनका बीच अहिले भने सम्बन्ध चिसिएको छ । जिल्ला अधिवेशनयता यी दुई नेताको दूरी बढेको हो ।

एक नेता भन्छन्, ‘यहाँ केन्द्रीको गुटका कारण विवाद भएको होइन । दुवै जना पार्टी अध्यक्ष हुन् । तर, शेरधन र राजेन्द्रको टसलका कारण प्रतिनिधि छनौटमा समस्या भएको हो ।’

कोशीमा पाँचथर, इलाम , तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ । अन्य जिल्लामा चुनाव भयो । सहमति भएका क्षेत्रमा पनि भागबण्डामा प्रतिनिधि छानिएका छन् । निर्वाचन भएका जिल्ला र क्षेत्रमा समूह बनाएर नै नेताहरू प्रतिस्पर्धामा उत्रिएका थिए ।

एमाले कोशीका सचिव राजकुमार भण्डारीले नेताहरूका प्रभावका कारण समूह बनेको बताए ।

उनले भने, ‘चर्चामा रहे जस्तो अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रभावका कारण गुट बनेको होइन । स्थानीय नेताहरूका कारण समूहहरू बनेका हुन् । निर्वाचनमा गएपछि जित हासिल गर्न समूह बन्नु स्वाभाविक हो ।’

भण्डारीले भने जस्तै सुनसरीमा पनि स्थानीय नेताहरूको प्रभावका आधारमा निर्वाचनका लागि समूह बनेको थियो । एमाले सुनसरीको राजनीतिमा प्रभाव राख्ने नेता हुन् भीम आचार्य । नेकपाकलामा उनी १० बुँदे समूहको नेतृत्वमा थिए ।

त्यसयता आचार्य र अन्य नेताहरूका बीचमा गुट चल्दै आएको छ । सुनसरीमा केन्द्रीय सदस्यहरू लक्ष्मी गौतम, मञ्जु भण्डारी, इन्चार्ज जगदीश कुसियैत आचार्य इतर समूहमा उभिँदै आएका छन् । महाधिवेशन प्रतिनिधि छनौटमा बेला समेत यी दुई समूहका बिचमा प्रतिस्पर्धा चलेको एमाले सुनसरीका नेताहरू बताउँछन् ।

आचार्य उपाध्यक्षको तयारीमा छन् । पार्टीको सचिव भएका बेला नै उनले प्रदेशमा छुट्टै समूह चलाएको आरोप लाग्दै आएको थियो । सो बेला उनी माधव -झालनाथसँग नजिक थिए । उपाध्यक्षका लागि लाइन लिन आचार्यले कसरत गरिरहेको उनी निकट नेताहरू बताउँछन् ।

‘उहाँ अहिलेसम्म कतै खुल्नु भएको छैन । भरसक अध्यक्षसँगै लाइन मिलाउने तयारीमा देखिनु भएको छ’, ती नेताले भने ।

ओलीको जिल्ला झापामा पनि नेता अनुसारका समूह बनेका छन् । आसन्न महाधिवेशनमा जिल्ला भित्रैका नेताहरूसँग प्रतिस्पर्धा हुने भएकाले आफू अनुकूलको समूह बनेको एमाले झापाका नेताहरू बताउँछन् । स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की यस पटक सचिवको तयारीमा छन् ।

आफू सचिवमा उठ्ने तयारीमा रहेपछि गृह जिल्ला झापामा उनले प्रभाव जमाउन खोजेका छन् । सचिवका अर्धा दाबेदार अग्नि खरेलले पनि भोट बढाउन आफू निकटकालाई प्रतिनिधि बनाउन लागि परे ।

एमाले झापाका सचिव तुलसी कार्की यहाँ दुई लाइन संघर्षभन्दा पनि आफू कसरी नेतृत्व हत्याउने भन्ने महत्वकांक्षाले प्रतिस्पर्धा तीव्र भएको बताउँछन् ।

मोरङमा भने प्रदेश अधिवेशनपछि सुरू भएको २ लाइन संघर्ष प्रतिनिधि छनौटसम्म आइपुग्दा तीव्र भएको छ । प्रदेशको अधिवेशनमा अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाका बीचमा प्रतिस्पर्धा भएको थियो । खतिवडाले बाजी मारे ।

ओलीका कुनैबेलाका खास नेता ढकालले मोरङ जिल्ला कमिटीको चुनावमा संस्थापनलाई पराजित गरेसँगै प्रदेशभर प्रभाव कायमै राखेका छन् । उनी पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा जमेर लागेका छन् ।

को-को छन् सचिवका दाबेदार

आसन्न महाधिवेशनमा कोशीबाट सचिव पदमा एक दर्जन आकांक्षी देखिएका छन् । स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, लालबाबु पण्डित, अग्नि खरेल, पोलिटब्युरो सदस्य तीलकुमार मेन्याङ्बो, विशाल भट्टराई, केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, पूर्व राष्ट्रियसभा सदस्य परशुमेघी गुरुङले दाबी गरेका छन् । सचिव पदमा दाबी गर्नेहरू अधिकांश संस्थापन पक्षका छन् । ढकाल भने इतर समूहका हुन् ।

मुख्यमन्त्री समेत रहेका हिक्मतकुमार कार्कीले स्थायी कमिटी सदस्य भइसकेकाले अब पदाधिकारीमा जान चाहेको बताएका छन् ।

मोरङ इन्चार्ज जीवन घिमिरेले सचिव पदमा उम्मेदवारी दिने बताए । आफ्नो दीर्घ राजनीतिक अनुभव, सङ्गठनात्मक जिम्मेवारी तथा समकालीन नेतृत्वसँगको सहयात्रालाई आधार बनाएर पार्टीको आगामी सचिव पदका लागि दाबी गरेको उनको भनाइ छ ।

शंकर पोखरेल, घनश्याम भुसाल, भीम आचार्यहरूसँगै राजनीतिक यात्रा सुरू गरेको भन्दै उनले आगामी महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने बताए ।

आसन्न महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने नेता विनोद ढकालले बताएका छन् । केन्द्रीय सल्लाहकार परिषद्का सदस्य समेत रहेका ढकालले औपचारिक रूपमा केही दिनमै उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।

नेता लालबाबु पण्डितले आफ्नो उम्मेदवारी पदाधिकारीमा रहेको बताए । उपाध्यक्ष, उपमहासचिव, सचिव जुनमा भए पनि पदाधिकारीमा आफ्नो दाबी रहेको उनले बताए ।

पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोले सचिव पदमा आफ्नो दाबी रहेको बताए । उनले आफ्नो दाबी कायम राख्नका लागि काठमाडौं जाँदै गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *