
दाङ । नेकपा एमाले दाङमा मापदण्डविपरीत महाधिवेशन प्रतिनिधि छनोट गरेको दाबीसहित प्रदेश र जिल्ला कमिटीका नेताले पुन: प्रतिनिधि छनोटको माग गरेका छन् । केन्द्रीय सल्लाहकार परिषद् सदस्य शारदा स्वर्णकार, प्रदेश सचिवालय सदस्य रामजी चौधरी, सीमा न्यौपाने, सुरामणी बेल्बासेसहित १९ जना नेताले संगठन विभागमा उजुरी हालेका छन् ।
उनीहरूले ८ जना प्रतिनिधि संगठन विभागले तोकेको मापदण्डविपरीत भएको दाबी गरेका छन् । त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरू गरी पुन: प्रतिनिधि छनोटको प्रक्रिया थाल्नुपर्ने उजुरीमा माग गरिएको छ ।
प्रतिनिधि बनेका निर्मला विक, तुलसा पोखरेल, सीता शर्मा चौधरी, देवबहादुर बस्नेत, लक्ष्मी शर्मा पुष्पा लामिछाने भट्टराई र आशीष योगीको सदस्यता प्राप्त गरेको समय अवधि प्रतिनिधि हुन अयोग्य भएको उनीहरूको जिकिर छ ।
महाधिवेशन प्रतिनिधि हुन महिला, दलित र युवाको हकमा सदस्यता प्राप्त गरेको ७ वर्ष पुगेको हुनुपर्छ । तर, यी ८ जना कसैले पनि सदस्यता प्राप्त गरेको ७ वर्ष पुगेको छैन । महाधिवेशन प्रतिनिधि हुन अयोग्यको सूचीमा लुम्बिनी प्रदेश सिँचाइमन्त्री सीता शर्मा चौधरी समेत छिन् ।
जिल्ला पदाधिकारी ५ जना र आफ्ना नजिककालाई प्रतिनिधि बनाएको भन्दै त्यो पनि खारेज गर्न उनीहरूले माग गरेका छन् । प्रतिनिधि छनौटमा विधि प्रक्रिया पालना नगरेको भन्दै यसअघि पनि संगठनमा उजुरी परेको थियो ।


Leave a Reply