फणिन्द्र नेपालको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र नागरिक समाज घोषणा

काठमाडौं । राष्ट्रवादी अभियन्ता फणिन्द्र नेपालको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल गठन गरिएको छ । नागरिक हित र राष्ट्रिय सुरक्षा संरक्षणलाई मुख्य एजेन्डा बनाएर यसको गठन गरिएको एक पत्रकार सम्मेलनमा बताइयो ।

देशभरका सचेत, राष्ट्रभक्त तथा जिम्मेवार नागरिकहरूको साझा संस्थागत संरचनाका रूपमा समाजलाई अघि बढाउने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि जनेजी समूहहरूसँग सहकार्य गर्ने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चुनौतीपूर्ण घटनाक्रमहरूले नागरिक स्वतन्त्रता, मानव अधिकार, जन्मसिद्ध प्राकृतिक न्याय तथा राष्ट्रिय सार्वभौमिकता जस्ता मौलिक र शाश्वत मान्यताहरूमाथि प्रत्यक्ष आघात पुर्‍याइरहेकाले हामी सचेत नागरिकहरूको एकता अपरिहार्य बनेको निष्कर्षमा पुगेका छौँ ।’

यस नागरिक समाजको संस्थागत संरचना केन्द्र, जिल्ला, पालिका र वडास्तरसम्म संगठित रूपमा बिस्तार गरिने जनाइएको छ । परम्परागत धर्म, संस्कार, संस्कृति, भाषा र सभ्यतामाथि हुने कुनै पनि आक्रमणको डटेर सामना गर्ने विज्ञप्तिमा उल्लेख छ । नागरिक समाजको घोषणा-पत्र सर्वपक्षीय छलफल र अन्तर्क्रिया पश्चात् अविलम्ब सार्वजनिक गर्ने भनिएको छ ।

समाजको कार्यसमितिमा अध्यक्षसहित ५ जना पदाधिकारी रहेका छन् । उपाध्यक्षमा रणबहादुर चन्द, महासचिव परिवीर नेपाल, कोषाध्यक्ष सञ्जय झा र सचिवमा उजीर किराती रहेका छन् । यस्तै सचिवालय सदस्यमा थप ८ जनालाई मनोनयन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *